सत्तारुढ दल नेकपा एमाले विभाजनको संघारमा पुगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफ्नो समूहको बैठक बोलाउँदै विवादास्पद निर्णयहरु गर्दै जाँदा सत्तारुढ दल विभाजनको संघारमा पुगेको टिप्पणी हुन थालेको हो । सर्वोच्च अदालतले दल सम्बन्धी रिटको सुनुवाई गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता नरहेको भन्दै पूर्ववत् अवस्थामा रहने ठहर गरेसँगै दुई पार्टी माओवादी केन्द्र र एमाले ब्यूँतिएका छन्। त्यस लगत्तै प्रधानमन्त्री ओलीले आफ्नै दलको अन्तरसंघर्षमा बल मिच्याइँ गर्न थालेपछि माधव नेपाल पक्ष पनि समानान्तर संगठन निर्माणमा जुटेको छ । एउटै पार्टीभित्रको यस्तो क्रियाशीलताले अन्तरसंघर्षको सुरक्षित अवतरण हुने सम्भावना देखिन छाडेको छ । सत्तारुढ दलभित्रको यस्तो चलखेलले राजनीतिलाई ‘फोहोरी खेल’ भन्ने भनाइलाई पनि पुष्टि गरिदिएको छ ।

भन्नलाई भनिन्छ– ‘लाठी हुनेकै भैंसी हुन्छ’ लाठी अर्थात् सत्ता र भैंसी अर्थात् पैसा, प्रतिष्ठा र शक्ति । यसको लतमा डुबेपछि नीति–अनीति गौण हुन्छन् इतिहासले प्रमाणित गरेको तथ्य नै हो । छँदाखाँदाको बलियो र एकमना सरकार हाँकेको शक्ति संयमित हुन नसक्दा उत्पन्न परिवेश मुलुककै लागि दुर्भाग्यपूर्ण बनिँदैछ । एमालेलाई पुनजीर्वित राख्ने नाममा फरक विचार राख्नेहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने र एकलौटी ढंगले मनोनयन गर्ने अध्यक्ष ओलीको कार्यलाई अवैधानिक भन्दै सच्चिन र विधिवत बैठक डाक्न नेपाल समूहले सुझाएको छ । तर, पार्टी अध्यक्ष भने निरन्तर फरक विचार राख्ने समूहलाई कारवाही गर्न चेतावनी दिइरहेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले विरोधीहरु लक्षित कटुवचन र व्यङ्ग्य प्रहार गरिरहेका बेला नेपाल–खनाल समूहले यही चैत ४ र ५ गते राष्ट्रिय भेलाको आयोजना गरेको छ ।
देशलाई सही दिशा दिने र आम नागरिकको प्रतिनिधित्व गर्दै समृद्धि र सुशासनको यात्रामा हिँड्नुपर्ने दल र सरकार अपवित्र गठबन्धन गर्न तयार हुनुले सुखद् सन्देश दिइरहेको छैन । जसरी पनि सत्ता विमुख हुन नचाहने मानसिकताले राजनीतिलाई दुर्गन्धित बनाउँछ भन्ने नेतृत्व पंक्तिले बिर्सनु हुँदैन । बरु त्यही राजनीतिलाई समाज रुपान्तरण र राष्ट्रको समृद्धिको आधार बनाउन व्यक्ति वा दलगत स्वार्थ त्याग गर्न प्रेरणा दिनु पर्दछ । तर, हाम्रो राजनीतिक परिदृष्य झन्–झन् प्रदुषित, झनै दुर्गन्धित र व्यक्ति केन्द्रीत हुँदै जाँदैछ । नेतृत्व गर्नेहरुमा धैर्य, संयम्, उदारता, सहिष्णुता र सह–अस्तित्व स्वीकार गर्ने गुण क्षमता हुँनैपर्छ । बलमिच्याइँ, दम्भ, निरंकुशता प्रजातन्त्रका शत्रु हुन् । संगठनमै बल हुन्छ, एकताले नै लक्षित उद्देश्य पाउन सकिन्छ भुल्न हुँदैन । जनता पनि एकताबाटै बलियो हुने शान्ति, सुशासन, समृद्धि र विकासको आशा बोकेर बसेका छन् । त्यसैले यही एकता र सामुहिक सद्भावले व्यक्ति, संस्था र पद्धतिको गौरव रक्षा गर्न सकिन्छ ।




























