गुणस्तरका लागि प्रविधि नै आवश्यक

0
1599

समय बदलिएको छ । शिक्षण सिकाई अब पुरानै शैलीबाट सम्भव छैन । प्रविधिको बढ्दो प्रयोगसँगै सिकारुको सिकाई क्षमता पनि फरक–फरक ढंगले सम्भव हुने विभिन्न अध्ययनले देखाएका छन् । तर, नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि प्रविधिमूलक सिकाइका लागि धेरै व्यवधान अझै जीवित छन् । खासगरी मुलुकमा जबसम्म राजनीतिक स्थायित्व हुँदैन तबसम्म शैक्षिक गुणस्तर अभिवृद्धिका लागि धेरै चुनौतिको सामना गर्नुपर्छ । यद्यपि हामी यो बाटोमा अघि बढ्नुको विकल्प पनि छैन ।

शिक्षण सिकाइलाई प्रविधिका साधनको प्रयोगले सहज बनाउँछ । विद्यार्थीको सिकाइलाई दिगो बनाउन समायानुकूल उपायको खोजी गर्नुपर्छ, विकल्पहरुको चयन गर्नुपर्छ । यसो भएमात्र शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन सकिन्छ । प्रविधिका साधनको दुरुपयोग भएका घटना पनि हाम्रासामु चुनौति बनेका छन् । तर, यिनलाई पन्छाएर र यसको प्रयोगको फाइदा तथा महत्वको अवधारणाका साथ मै अघि बढ्नुपर्छ । हामीसँग उपलब्ध भएको प्रविधिको पूर्वाधार र जनशक्तिको माध्यमबाटै मानवीय र संस्थागत क्षमता अभिवृद्धि गरेर सिकाइमा जोडिने प्रयत्न गरिनुपर्छ । सञ्चार प्रविधिको साधनको प्रयोगको महत्वकांक्षाहरू पूरा हुन कठिन र चुनौतिपूर्ण अवस्था भए पनि यसको सहजताको लागि उपाय अवलम्वन गरिन आवश्यक छ ।

ग्रामीण र शहरी तथा नीजि र सामुदायिक विद्यालयकाबीचको सिकाइस्तरमा भएको असमानता न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न समेत प्रविधियुक्त शिक्षण आवश्यक छ । समग्र शिक्षाको गुणस्तर वृद्धि गर्न सहायक साधनका रुपमा प्रयोग हुने सूचना तथा सञ्चार प्रविधिका साधनका पूर्वाधारको गुणस्तर पर्याप्त नभएको गुनासाहरु प्रसस्त आएका छन् र यो वास्तविकता पनि हो ।

यसलाई चिर्न पनि अब सरकारीस्तरबाटै कोशेढुंगा सावित हुने किसिमको दीर्घकालीन कार्ययोजना राज्यस्तरबाटै ल्याइनु आवश्यक छ । प्रविधिका साधनको प्रयोगको पहुँचले सिकाइलाई अगाडि बढाउने अवसर दिनुको साथै उसले क्षमता र शक्ति वृद्धि गर्न मद्दत पुर्याउँछ । प्रविधिले मानिसलाई यसरी अगाडि बढाउँदैछ कि सूचना प्रविधिको आधारभूत ज्ञान नभए व्यक्ति निरक्षर हुने सम्भावना छ । त्यसैले यो अवस्थाको डटेर सामना गर्न पनि आजैदेखि घरदेखि कक्षाकोठासम्म डिजिट लाइज्ड शिक्षण पद्धतिमा जोड दिनुपर्छ । विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन सरकारी स्तरबाटै कुनै कसर बाँकी राखिनु हुन्न ।

एक दशकअघि नै राज्यले प्रत्येक सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पु¥याउने कार्यक्रम सञ्चालन गरिने छ भन्ने प्रतिबद्धता जाहेर गरिसकेको थियो । यसबीचका प्रत्येक वर्षका बजेटमा समेत यससँग सम्बन्धित शीर्षक समेटेर बजेट व्यवस्थापन गरिँदै आए पनि कार्यान्वयन पक्ष सकारात्मक देखिँदैन । शैक्षिक विकासमा सूचना तथा सञ्चार प्रविधिको विकासलाई संस्थागत गर्दै लगिने भन्ने राज्यको प्रतिबद्धता समेत हात्तीको देखाउने दाँतमात्र सावित भएको छ । राज्यका प्रतिबद्धता र प्रयासहरूले अपेक्षित नतिजा दिएका छैनन् ।

प्रयास अप्रभावकारी हुनुमा राज्यको राजनीतिक वातावरण, सुदृढ मानवीय पूर्वाधार र दह्रो शासन व्यवस्था नहुनु जिम्मेवार छन् । देशमा यस्ता समस्या र हुन्जेल शिक्षामा सूचना सञ्चार र प्रविधिको सकारात्मक प्रभाव पर्न सक्दैन । सूचना प्रविधिको प्रयोगलाई अभिवृद्धि गर्नका लागि विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोग सम्बन्धी निर्देशिका २०६९ समेत जारी गरिसकेको अवस्थामा एक दशक बितिसक्दा आशातित प्रतिफल प्राप्त हुन नसक्नु दुर्भाग्य नै हो ।

शिक्षण सिकाइ क्रियाकलापमा सूचना तथा प्रविधिको प्रयोगमा जोड दिनु भनेको शिक्षकको भूमिका ज्ञानको हस्तान्तरणकर्ताबाट ज्ञान आर्जनमा सहयोगकर्ताको परिवर्तन हुन्छ । त्यसलाई विद्यार्थीको पूर्वज्ञानसँग जोड्दै त्यसको ब्याख्या गर्न र विद्यार्थीलाई सिकाइको नेतृत्वकर्ता बनाइ सहयोेगीको भूमिका निर्वाह गर्नु निकै चुनौतिपूर्ण छ ।

शिक्षकको भूमिकामा परिवर्तन आउँदा मूल्याङ्कन प्रणाली, अभिलेख प्रणाली, विद्यार्थीको सिकाइको गति र पाठ्यक्रममको कार्यान्वयन तथा मूल्याङ्कन प्रणालीमा पनि परिवर्तन आवश्यक छ, तर यसलाई प्रवद्र्धन र विकास गर्न थुप्रै समस्या देखिएका छन् । सबैका लागि शिक्षा विश्वव्यापी अनुगमन प्रतिवेदन २०१५ ले उल्लेख गरे अनुसार डकार कार्य ढाँचाले सबैका लागि शिक्षा कार्यक्रमका लक्ष्यसम्म पुग्न सूचना तथा सञ्चार प्रविधिको सम्भाव्यतामा जोड दिएको थियो । यस लक्ष्यलाई नेपाल जस्तो गरीब राष्ट्रमा विद्यालयको सिकाइमा भौतिक संरचनाको विकासमा ढिलो प्रगति, प्रविधिको ढिलो आत्मसाथ र शिक्षासँग सम्बन्धित सूचना तथा सञ्चार प्रविधिका विश्वव्यापी समन्वयको अभावले चूनौतिपूर्ण बनाएको छ ।

सूचना तथा सञ्चार प्रविधि र शिक्षा प्रणालीलाई मिलाएर लैजान कठिन भए पनि राज्यले चुनौतिको रुपमा लिएर समृद्ध राष्ट्र निर्माणमा यसलाई सूत्रका रुपमा बुझ्न जरुरी छ । अहिले कतिपय विद्यालयहरूले शिक्षण सिकाइमा कम्प्युटर र इन्टरनेटको प्रयोग गरिरहेका छन् । यो सराहानीय कदमलाई स्थानीय सरकारले होस्टेमा हैंसे गर्न सके हाम्रो शिक्षण सिकाइ अझ मजबुत हुनेमा शंका छैन ।

सामुदायिक विद्यालयहरूमा सूचना प्रविधिको प्रयोगलाई बढाई समग्रमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न थुप्रै प्रयासहरू गरिएका छन् । तथा पिती प्रयासबाट अपेक्षित नतिजा हासिल हुन सकेको छैन । हाम्रा अघि देखिएका समस्याहरुमा, प्रविधिका साधनको प्रयोग गर्न विद्यालयहरुमा इच्छाशक्तिको अभाव छ । २०औं वर्षदेखि एउटा पद्धतिबाट शिक्षण गरिरहेको शिक्षकहरू यसमा परिचित हुन र यसलाई प्रयोग गर्नु चुनौतिपूर्ण छ । साथसाथै आवश्यक पूर्वाधार र जनशक्तिको अभाव छ । यस्तै पूर्वाधार, उपकरणको गुणस्तर र त्यसको संरक्षण तथा मर्मत सम्भारका लागि प्राविधिक सहयोग उपलब्ध गराउने संयन्त्रको विकास गरिन आवश्यक छ ।

यस्तै उपलब्ध गराइएका साधन र उपकरणको प्रयोग सम्बन्धमा अनुगमन गर्ने पद्धति विकास गर्नुपर्छ । प्रविधिका साधनलाई कक्षाकोठाको शिक्षण सिकाइमा प्रयोग गर्ने सन्दर्भमा नमूना सामग्री विकास, सघन प्रकारको अनलाइन पद्धतिबाट शिक्षक तालिम समेत सञ्चालन गरिनुपर्छ । बढ्दो डिजिटल डिभाइड कम गर्नका लागि दुर्गम तथा ग्रामीण क्षेत्र लक्षित सहयोग तथा अनुदान कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

विद्यालय तथा कलेजहरूमा इन्टरनेटको प्रयोगलाई बढावा दिँदै जाँदा यसैबाट बढेको अश्लिलता र हिंसा न्यूनीकरण कसरी गर्ने भन्ने पनि चुनौति भएको छ । किशोरीहरू इन्टरनेटका माध्यमबाट हिंसाको शिकार भइरहेका छन् । साइबर अपराध र साइबर बुलिङका समस्याहरू थपिएका छन् । प्रविधिको सुरक्षित प्रयोग र त्यसबाट उच्चतम् लाभ लिने अभ्यास विकास भई नसकेको अवस्था एकातिर छ भने अर्कातिर हाल कार्यरत् शिक्षकको ठूलो संख्या प्रविधिका साधनसँग परिचित छैन ।

प्रविधिले शिक्षणलाई सहयोग गर्छ भन्नेमा विश्वस्त छैन । विद्यार्थीलाई मोबाइलको प्रयोग गर्न दिनुहुँदैन भन्ने विचारमा अडिग छ । सरकारी प्रयासहरूले शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई जोड दिएका छन् । तर, विद्यालय तहमा प्रविधिका साधन प्रयोगको लागि पूर्वाधार, जनशक्ति र इच्छाशक्तिको पनि अभाव छ । सँगसँगै इन्टरनेट र यससँग जोडिएका प्रविधिको गुणस्तर कमजोर र खर्चिलो पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here