आम औषधी सेवन कार्यलाई प्रभावकारी बनाउन अभिमुखिकरण कार्यक्रम

0
973

अर्जुनधारा ।

हात्तीपाइले रोग निवारणका लागि आम औषधी सेवन कार्यलाई प्रभावकारी बनाउने उद्धेश्यले नगर स्वास्थ्य शाखाको आयोजनामा नगरस्तरिय योजना तर्जुमा गोष्ठी तथा अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

सहजकर्ता जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले हात्तीपाइले रोग निवारण कार्यक्रम बारे सहजिकरण गरेको कार्यक्रममा जनप्रतिनिधि, नगरपालिका अन्र्तगत विभिन्न शाखाका प्रमुख एवम् प्रतिनिधि र सञ्चारकर्मीहरुलगायतको सहभागिता रहेको थियो ।

आगामी चैत २० गतेदेखि सुरु हुने औषधी सेवन कार्यक्रमको लागि यसपटक ११ वटा वडाको ५५ वटा टोलसम्म अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने शाखाको तालिका रहेको छ । गत वर्ष ७२ प्रतिशत नगरवासीहरुले औषधी सेवन गरेकोमा यस वर्ष ९० प्रतिशत नगरवासीहरुलाई औषधी सेवन गराउने लक्ष्य शाखाले लिएको कार्यक्रममा बताइएको छ ।

हात्तीपाइले रोग विरुद्धको औषधी दुई वर्ष नपुगेका बालबालिकाहरु, गर्भवती, सात दिन सम्मका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त विरामीहरु बाहेक सबैले सेवन गर्न मिल्ने हुँदा उक्त कार्यक्रम सफल बनाउन स्वास्थ्यकर्मीहरु मात्र नभई सरोकारवालाहरु सबैलाई जुट्न शाखा प्रमुख केशव रिजालले अनुरोध गरेका छन् ।

सन् २०१२ देखि नियमितरुपमा आम औषधी सेवन कार्यक्रम सञ्चालन हुँदै आएको झापामा हाल रोगीको दर १.४७ प्रतिशत रहेको फोकल पर्सन चौलागाईंले जानकारी दिए । घरदैलो अभियानमार्फत् विगतमा औषधी सेवन गराउने भन्दा पनि वितरण मात्र गरेको हुँदा केही कमजोरी भएको स्वीकार गर्दै उनले यस वर्ष वितरण भन्दा पनि परिचालन भएको स्वास्थ्यकर्मीहरुले औषधी सेवनमा जोड दिने बताए ।

गत वर्ष जिल्लामा ६८.५१ प्रतिशतले औषधी सेवन गरेकोमा यस वर्ष आठ लाख २६ सय जनालाई औषधी सेवन गराउने लक्ष्य जिल्ला स्वास्थ्य कार्यालयको रहेको छ । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सहसंयोजक मुकुन्द बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here