नरेन्द्र ढकाल,
झापा ।

भारतसहित विश्वका धेरै देशमा कोरोनाको दोस्रो लहर तीव्र गतिले बढ्न थालेको छ । भारतमा मात्रै दैनिक ४० हजारभन्दा बढी नयाँ संक्रमित देखिन थालेका छन् ।
कोरोनाको नयाँ ‘भेरिएन्ट’ पहिलाको भन्दा धेरै गुना घातक देखिएको चिकित्सकहरुले बताएका छन् । भारतसँग खुल्ला सीमाना रहेको नेपालमा भने पछिल्लो समय न सेनिटाइजर, न त मास्कको प्रयोग गरेको पाइन्छ । सन् २०१९को अन्त्यतिर चीनबाट फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि धेरैले ज्यान गुमाउनु प¥यो । करिब ६ महिनासम्म लकडाउन गरेको नेपालले अहिले सम्पूर्ण कुरा खुल्ला गरेको छ । सम्पूर्ण अर्थतन्त्र ठप्प भएको नेपालले विस्तारै लय लिँदै गर्दा कोरोनाको दोस्रो लहरको चिन्ता शुरु भएको छ ।
झापामा कोरोनाको संक्रमण भए यता हालसम्म ४० हजार १९ जनाले कोरोना परीक्षण गराएका छन् । जसमध्ये चार हजार ६ सय २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाँईले जानकारी दिए । हालसम्म झापामा कोरोनाको संक्रमणका कारण ३८ महिला र ८९ पुरुष गरेर एक २७ जनाले ज्यान गुमाएका छन् । झापामा कोरोनाको संक्रमणबाट महिलाभन्दा पुरुषको धेरै मृत्यु भएको पाइएको छ ।
हाल झापाका ६ जनामा कोरोना संक्रमण देखिएको र उनीहरु केही आइसोलेसन र केही होम आइसोलेसनमा रहेको चम्लागाँईले बताए । पछिल्लो समय कोरोना परीक्षणको संख्यामा कमी आएको र संक्रमण दर समेत घटेको स्वास्थ्य कार्यालयको भनाइ छ । कोरोनाका कारण झापासहित देशभर धेरैले ज्यान गुमाउनु प¥यो तर, सरकारले कोरोना रोकथाममा प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना समेत भइरहेको छ ।
स्वास्थ्यमा हेल्चेक्र्याइँ बढ्यो
कोरोनाको संक्रमण देखिएसँगै झापाका बिर्तामोड, दमक, भद्रपुर, काँकरभिट्टा, बुधबारे, सुरुङ्गा लगायतका क्षेत्रमा व्यवसायीले आफ्नो पसल तथा कार्यालय अगाडि अनिर्वाय साबुनपानी राखेर हातधोएर मात्रै प्रवेश गर्न दिने गरेका थिए । तर, हाल न सेनिटाइजर, न मास्क, न त साबुनपानी नै राखिएको छ ।
स्वास्थ्यप्रति हेल्चेक्र्यार्इँ गर्नेहरु दिनहुँ बढ्दै गएका छन् । अधिकांशले साबुनपानी र सेनिटाइजरको प्रयोग गर्न छाडेका छन् । चिकित्सकहरुले भने स्वास्थ्यमा खेलाँची नगर्न आग्रह गर्दै आएका छन् ।
न भौतिक दूरी न त मास्क
कोरोनाको संक्रमण बढ्सँगै भौतिक दूरी र मास्कको प्रयोग अनिवार्य गरिएको थियो । प्रहरीले भौतिक दूरी कायम गर्न र मास्क अनिवार्य प्रयोग गर्न आग्रह गर्दै अटेर गर्नेलाई कारबाही समेत गरेको थियो । सरकारले भौतिक दूरी र मास्क नलगाउनेलाई पक्राउ गर्न आदेश नै दिएको थियो ।
शुरुको अवस्थामा सबैले भौतिक दूरी र मास्कको प्रयोग गरेका थिए । पछिल्लो समय भौतिक दूरी र मास्क प्रयोग गर्नेहरुको संख्यामा कमी आएको चिकित्सकहरुले बताएका छन् । बजार तथा मेला, महोत्सव, आन्तरिक पर्यटकीय क्षेत्रमा भीडभाड बढ्दै गएको छ । मानिसको चहलपहल बढे पनि स्वास्थ्यप्रति सचेतना अपनाएको पाइँदैन् ।
फ्रन्ट लाइनमा खट्ने प्रहरीले नै प्रयोग गर्न छाडे मास्क
कोरोना नियन्त्रणका लागि अग्रपंक्ति (फ्रन्ट लाइन) मा खटिने प्रहरीले नै पछिल्लो समय मास्कको प्रयोग गर्न छाडेका छन् । भीआईपी तथा भीभीआईपीको आगमन हँुदा मात्रै मास्कको प्रयोग गर्ने गरेको प्रहरीले अरु बेला मास्कको प्रयोग गर्न छाडेको हो ।
नागरिकलाई अनिवार्य मास्क लगाउन आग्रह गर्ने प्रहरीले नै मास्कको प्रयोग गर्न छाडेपछि पछिल्लो समय मास्कको प्रयोग नगर्नेको संख्या उल्लेख्य हुन थालेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीले समेत मास्कको प्रयोग गरेको पाइँदैन भने सञ्चारकर्मीले पनि स्वास्थ्यको विषयमा ख्याल गर्न छाडेका छन् ।
स्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह
स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाँईले कोरोनाको संक्रमण घटे पनि जोखिम भने कायम नै रहेको बताएका छन् । उनले कोराना छैन भनेर हेल्चेक्र्यार्इँ नगर्न समेत आग्रह गरेका छन् ।
उनले भीडभाडमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न र सकेसम्म भौतिक दूरी कायम गर्न अनुरोध गरेका छन् । भारतसहित अन्य देशमा कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै उनले नेपालमा बेलैमा सतर्कता अपनाउनु पर्नेमा जोड दिए । अनावश्यक हिँड्डुल नगर्न भन्दै चम्लागाँईले स्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरे ।
४१ हजारले खोप लगाए
कोरोनाको खोप आएसँगै झापामा खोप लगाउनेको संख्या बढ्दै गएको छ । झापाका १५ वटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयका बालकृष्ण भण्डारीेले जानकारी दिए ।
उनका अनुसार शनिबारसम्ममा ४० हजार ९ सय ३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल खोप कार्यक्रम सञ्चालनमा रहेको र उक्त अभियान मंगलबारसम्म जारी रहने भण्डारीले बताए । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप लगाएको थियो । जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, राजनीतिक दलका नेताका साथै ज्येष्ठ नागरिकसहित नागरिकहरुलाई खोप लगाउने क्रम चलिरहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यसैबीच कोरोनाको खोप लगाएका नागरिकले खुशी व्यक्त गरेका छन् । उनीहरुले कोरोनाका खोप लगाएपछि सुरक्षित भएको महशुस गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।






























