
नेपाली कांग्रेस जन्मँदा बहुदलीय संसदीय व्यवस्था र संवैधानिक राजतन्त्रको दुई खम्बे नीतिमा अडिएको थियो । २००७ सालको राणा शासन अन्त्य र प्रजातान्त्रिक शासन व्यवस्था स्थापनाका लागि सबैभन्दा बढी बलिदान गरेको र अग्रणी भूमिका खेलेको नेपाली कांग्रेस यतिबेला नेपालमा ठूला दुई पार्टीमध्ये एक रहेको छ । तर, समकालीन राजनीतिमा नेपाली कांग्रेसको भूमिका फितलो र निराशाजनक छ । कम्युनिष्टको वैकल्पिक धारको रुपमा परिचित नेपाली कांग्रेस कम्युनिष्टहरुभित्र झैं–झगडा, अन्तरकलह र अन्तरद्वन्द्वको आगो सल्केको र प्रतिष्पर्धीलाई खरानी बनाएर आफ्नो अहम् र महत्वाकांक्षाको नगरा बजाइरहेको यो बेलामा पनि अलमलाहट, द्विविधा र आपसी खिचातानीमा अल्झिरहेको छ ।
कांग्रेसले बुझ्नुपर्ने कुरा लोकतान्त्रिक व्यवस्थामा सत्तापक्षको मात्र भूमिका हुँदैन, प्रतिक्षित वा छाया सरकारको रुपमा प्रमुख प्रतिपक्षको उत्तिकै महत्व हुन्छ । सत्तापक्षले वा सरकारले संविधान, कानून र ऐनले निर्दिष्ट गरेका मान्यतालाई त्यागेर आफ्नो कर्तव्य छोडेर बाटो बिराएमा खबरदारी गर्ने र सही बाटोमा डो¥याउने काम प्रतिपक्ष कै हो । त्यसैले सत्तापक्षलाई सही गोरेटोमा डो¥याउने जिम्मेवारी र भूमिका प्रतिपक्षको महत्वपूर्ण कार्य हो भनी परिभाषित गरिएको छ । तर, प्रतिपक्ष आफ्नो जिम्मेवारीप्रति उदासीन देखिन्छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आफ्नो भूमिकाबाट विमुख हुँदै गएको छ । प्रतिपक्ष राष्ट्र र जनताका लागि भन्दा पनि गलत मनसाय वा दलगत स्वार्थबाट अभिपे्ररित भएर जिम्मेवारी प्रतिपक्षको भूमिकाभन्दा पनि संवैधानिक आयोगमा सदस्य नियुक्ति, राजदूत नियुक्ति लगायतका अन्य सानो सानो भागबन्डामा रुमलिएको छ ।
सरकारको काममा नेका प्रतिपक्षभन्दा पनि सहकर्मीका रूपमा सक्रिय छ भन्दा अत्युक्ति हुँदैन । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले स्पष्ट शब्दमा अहिलेकै अवस्था कायम रहे र नेपाली कांग्रेस उल्झनमा फँसिरहने हो भने कम्युनिष्टहरु विभाजित भए पनि र कम्युनिष्टहरुको सम्बन्ध अझै शत्रुतापूर्ण रुपमा झागिँदै जाने हो भने पनि नेपाली कांग्रेसले निकट भविष्यमा हुन गइरहेको चुनावमा बहुमत हासिल गर्दैन भनेर भनेका छन् । नेपालका सबै दलहरुमा गुट–उपगुट हुनु र ती समूहबीचमा पद÷प्रतिष्ठा प्राप्तिका लागि स्वस्थ र अस्वस्थ होडबाजी हुनुलाई स्वाभाविक मानिन्छ, तर समग्र राष्ट्रिय राजनीतिमा आफ्ना लागि अनुकूल अवस्था आउँदा पनि सम्हालिएर अघि बढ्नुको सट्टा आन्तरिक किचलोमा अल्झिनु कांग्रेसीजनका लागि उत्साहजनक अवस्था निश्चय नै होइन ।
नेपाली कांग्रेस प्रतिपक्षी भूमिका पनि अब्बल प्रमाणित हुन सकेन । लामो समय सत्तासीन भएर बसेको आदतका कारण यसो भएको हुन सक्छ । दश वर्षे जनयुद्धको समापन र शान्ति–सम्झौताको अवधिदेखि कांग्रेसले बाटो बिराएको र अरुको एजेन्डाको पछि दगुरेको प्रतिफल नै आजको अवस्था हो भन्ने धेरै कांग्रेसीको बुझाइ पनि रहेको छ । प्रतिपक्षले सरकारलाई कानूनसम्मत कामका लागि अभिप्रेरित गर्ने हो, नत्र खबरदारी गर्ने हो । तर प्रतिपक्षको भूमिका लामो समयसम्म ओझेलमा पर्दै जानुले लोकतान्त्रिक मूल्य र मान्यताको नै उपहास हुँदै गएको छ । वास्तवमा सार्थक भूमिकाका लागि कांग्रेससँग प्रष्ट योजना र स्पष्ट खाका नहुनु दुःखद् पक्ष हो । लोकप्रिय मतमा नेकपा एमालेको हाराहारीमा रहेको नेकाले न जनतालाई वास्तविक गतिविधि मार्फत सहयोग नै गर्न सकेको छ, न जनपरिचालन मार्फत आफ्ना नीति तथा कार्यक्रम तल्लो तहसम्म नै पु¥याउन सकेको छ ।
गैरजिम्मेवार र दायित्वविहीन प्रतिपक्ष नेकाको आशा भनेको कम्युनिष्टहरु गल्ती वा कमजोरी गर्छन् र केही गरौंला भन्ने रहेको देखिन्छ । असल पार्टीले अरुका नराम्रा कुराबाट आफ्नो जनमत निर्माण गर्ने होइन, आफ्ना असल कार्यक्रम र व्यावहारिक कार्यदिशा सुस्पष्टताका साथ जनसमक्ष राखेर जनताको मत र मन दुबै जित्नुपर्छ । जनता प्रतिपक्ष नै नभएको अनुभूति गरिरहेका छन् । उनीहरु सक्रिय र सार्थक प्रतिपक्षको खोजीमा पनि छन् । यतिबेला फेरि सरकारमा जान कांग्रेस गृहकार्यमा लागेको छ र आफूले लिनुपर्ने बाटो, पार्टीभित्रको मतान्तरलाई छलफल र बहसबाट टुंगो लगाएर सुुस्पष्ट कार्यदिशासहितको नेतृत्वको छनोट गर्ने महाधिवेशनलाई महत्व दिनुको सट्टा सत्ता समीकरण र जोड–घटाउमा समय बिताउनु कांग्रेसलाई फाइदा हुने विषय होइन । आफू सम्हालिएर आगामी चुनावमा बहुमतसहित सरकार बनाउने उद्देश्य छोडेर तीन वा सोभन्दा बढी पार्टीलाई एउटै धोक्रोमा हालेर सरकार बनाउने अभ्यासमा लाग्नु काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै हो ।
प्रजातान्त्रिक आन्दोलनमा अत्युच्च भूमिका निभाएका वीपी कोइरालाको विरासतको रुपमा रहेको नेपाली कांग्रेसमा समस्या आएको घामजत्तिकै प्रष्ट छ । विगतमा जहिले पनि सरकारको पर्याय बनेको नेपाली कांग्रेसमामा नीति, सिद्धान्त, विचारमा आइरहेको विचलन र गलत बुझाइले ह्रासोन्मुख हुँदै गएको स्पष्ट छ । नेकपाको दलीय आन्तरिक घर–झगडामा रमाउनेभन्दा पनि कांग्रेसले आफूलाई सच्याउँदा राम्रो हुन्छ ।
यतिबेला नेका न सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँछ, न नागरिक संवादमा प्रतिपक्षले दोहोरो संवाद गर्नुपर्ने गहन र महत्वपूर्ण दायित्व सम्झन्छ । कांग्रेसलाई आफू अंकगणितमा पछि परेको लघुताभाषले सताउँदो हो, तर सूचना–प्रविधिको उच्च विकास भएको आजको युगमा परिमाणात्मक मात्र होइन, गुणात्मक भूमिकाको पनि मूल्यांकन जनताबाट हुन्छ भन्ने सच्चाइलाई कांग्रेसले बुझ्दैन । दूरगामी उद्देश्यसहितका योजनालाई संसद्मा बहसमा लैजाने र मुलुक र मुलुकबासीलाई केन्द्रमा राखेर प्रतिपक्षले आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । अरुको घर जलेको ताप्नेहरुको कुनै कमी छैन, आफ्नै घर जलाउनेहरुको संख्या ठूलो छ, नेपाली कांग्रेसले आफ्नो घर सुरक्षित राख्ने हो, आफूभित्र बहस, छलफल र स्वस्थ वैचारिक संघर्ष चलाएर पार्टीलाई सुदृढ, एकताबद्ध र भविष्यमुखी बनाउने हो, अरुको घर जलेको आगो ताप्दै हिँड्ने होइन ।
कम्युनिष्ट विभाजनको आत्मरतिमा रमाउँदा–रमाउँदै जनताको नजरमा कांग्रेसको छबि उजेलो हुँदैन । प्रजातन्त्रको चिहानमा निर्दलीयताको बीउ रोपेर पञ्चायती व्यवस्था हुर्काउने तत्कालीन राजा महेन्द्रको सामु नझुकीकन, बहुदलीय लोकतान्त्रिक व्यवस्थाको स्थापनाका लागि राजासँग एक इञ्च पनि नलत्रिकन एक दशकभन्दा बढी जेलमा बिताउने वीपी कोइरालाको आदर्शलाई सम्झने हो भने नेपाली कांग्रेस भ्रमित भएर कुबाटो लागेको भए पनि आत्मसमीक्षा गदै सही मार्गमा आउँदो हो, तर यतिबेला ती सबै आदर्शहरु धुमिल भएका छन्, ती बहादुरी, निष्ठा र समर्पणका इतिहासहरु विस्मृतिको गर्तमा कतै हराइरहेका छन् ।
नेपाली कांग्रेस पार्टीले कच्चा राजनीति गर्नुहुँदैन र सत्ताधारी दलमा आएको फाटोले नेपाली कांग्रेसको भूमिका थप निर्णायक बन्नुपर्छ भन्ने कांग्रेसजनको मनोभावना रहेको देखिन्छ । केवल राजनीतिको च्याँखे थापेर कहिले मौका आउँछ भनेर पर्खिरहनेभन्दा बढ्ता अहिले कांग्रेसको नेतृत्वले दूरदृष्टिसहित आफ्नो हैसियत, सोचाइ र क्षमता फराकिलो बनाउँदै जनभावनाको कदर गर्न सक्नुपर्छ । सीमित व्यक्तिको पदचाप मन नपरेर सम्पूर्ण पार्टीलाई अस्वीकृत गर्ने राजनीतिक संस्कृति आम नेपाली मतदातामा छ भनेर मतदातामाथि दोष थोपर्नुभन्दा आफ्नो विचार, मूल्य र मान्यतालाई आम नागरिक र राष्ट्रिय राजनीतिमा स्वीकार्य बनाउन प्रयत्न गर्नु राम्रो हुन्छ ।
यतिबेला कांग्रेसजनमा अनुकूल अवस्थामा पनि कांग्रेसले अवसरको उपयोग गर्न सक्दैन कि भन्ने विश्वासको संकटको स्थिति सिर्जना भएको छ । यो अवस्था बढो जटिल र गम्भीर छ । संविधानको चुरो भनेको उदार लोकतन्त्र हो । नेपालका कम्युनिष्ट पार्टीहरु यही उदार व्यवस्थालाई मानेर आएका छन् । दलविहीन निरंकुश तानाशाहीदेखि उग्रवामपंथी अधिनायकवादको अभ्यास गर्ने असफल प्रयत्नलाई जनताले पटकपटक अस्वीकृत गरेका छन् । देश लोकतन्त्रवादको वैचारिक मार्गमा फर्किएको छ । पछिल्लो दशकको विश्वव्यापी प्रवृत्ति हेर्दा लोकतान्त्रिक पद्धतिमाथि नयाँ शैलीका संकटहरू देखा परेका छन् ।
लोकतन्त्र माथिको त्यो संकट भनेको शीतयुद्धकाल वा त्यस अघि जस्तै सैनिक ‘कु’ अर्थात तख्तापलट वा कम्युनिष्ट विद्रोहका आधारमा होइन निर्वाचित शासकहरूबाटै उत्पन्न हुने गरेको छ । त्यसैले, उदार लोकतन्त्र थप विस्तार र गहिरो हुँदै जानुपर्छ । तर त्यसका लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्ने सोच र आशा कांग्रेसको गतिविधिले कमजोर बन्दै गएको छ । यस अवस्थाबाट पार्टीलाई वैचारिक, व्यावहारिक तथा रणनीतिक स्तरमा उकास्न नयाँ सोच तथा नेतृत्व आवश्यक छ ।
सत्तालोलुपतामा होइन, नेपाली समाजको बदलिँदो सामाजिक–आर्थिक परिवेशमा संविधानले निर्दिष्ट गरेको राज्य सञ्चालन र संरचनाको वैधता स्थापित गर्न आवश्यकताको जिम्मेवारी नेपाली कांग्रेसले लिन आवश्यक छ । जोडघटाउको समीकरण मिलाउन र सांसदको टाउको गनेर संख्या पु¥याउने जस्ता खेलमा अल्झेमा कांग्रेसको फितलो नेतृत्वको निरन्तरता हुनेछ र यसको समग्र प्रभाव राष्ट्रिय राजनीतिमा पनि पर्नेछ । कठिन परिस्थितिमा पनि प्रजातन्त्रका लागि सतिसाल झैं उभेको नेकाको हैसियत र प्रस्तुति प्रकारान्तरमा संकुचित, निरर्थक र निश्क्रिय प्रायः किन बन्दैछ भनेर कांग्रेसीजनले विहंगम समीक्षा गर्नुपर्ने अवस्था आएको छ ।


























