पानी जीवनको पर्याय हो । विश्वका सम्पूर्ण प्राणी हुन् वा वनस्पति पानीको अभावमा जिवित रहन सक्दैनन् । मानव शरीर स्वयम् पानीद्वारा निर्मित छ त्यसैले मानव अर्थात् हामीले पानीसँगको अटुट नातालाई अनुभूत गरी पानीको स्वच्छता, स्थायित्व र सुरक्षामा विशेष ध्यान दिनु पर्दछ । पानीको यही महत्व, आवश्यकता र नातालाई आत्मसात गरी विश्व समुदायले पानीको सुरक्षामा जोड दिन थालेको हो । संयुक्त राष्ट्र संघले सन् १९९२ मा ब्राजिलको रियो र जेनेरियोमा आयोजना गरेको भेलाले पर्यावरणीय महत्वका हिसाबले समेत मार्च २२ तारिखलाई विश्व पानी दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । सोही घोषणाका आधारमा सन् १९९३ देखि अन्तर्राष्ट्रिय पानी दिवस मनाउँदै आइएको छ ।
यो दिवसको उद्देश्य नै सम्पूर्ण जीव तथा वनस्पतिहरुको जीवनसहित पर्यावरणको रक्षा गर्दैै सुरक्षित र स्वच्छ पिउने पानीको उपलब्धताको सुनिश्चित गर्ने उद्देश्यले विश्व पानी दिवसको रुपरेखा बनाइएको थियो । त्यसकै आधारमा प्रत्येक वर्ष फरक–फरक नाराका साथ विभिन्न देशहरुले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी पानी दिवस मनाउँदै आएका छन् । यसै सन्दर्भमा पानीको आवश्यकता, महत्व र उपस्थितिलाई बोध गरी हाम्रा अजस्र जलस्रोतको सुरक्षा, संरक्षण र सदुपयोग गर्न जुट्नुपर्ने भएको छ । किनकि पानी जीवन हो भन्ने जान्दाजान्दै पनि अविच्छिन्न, निर्झर र अविरल बग्ने नदीहरु पछिल्लो समय प्रदुषित हुँदै गएका छन् । पानीको महत्वलाई बुझ्ने भनिएका वर्ग नै नदी, पोखरी, ताल लगायतका जलाधार क्षेत्रलाई अतिक्रमण गर्नदेखि आफूद्वारा उत्सर्जित फोहर फ्याल्ने केन्द्र बनाइन थालेको छ । हाम्रा हिमालबाट उत्पत्ति हुने खोलानालाहरु मानवबस्तीले छुने बित्तिकै ढलमा रुपान्तरित हुन थालेका छन् ।

हामी २१औं शताब्दीमा छौं अहिले । विज्ञानले अनेक वस्तुको खोज गरी मानव जातिलाई सेवा सहज भएको पनि छ । तर, जीनवका लागि नभइ नहुने शुद्धपानीको समान वितरण विश्वकै लागि चुनौतिको विषय भइरहेको छ । विश्वमै जल सम्पदामा दोस्रो भनिएको नेपालमा पनि नेपालीले अझै शुद्ध पानीको उपभोग गर्न पाइरहेका छैनन् । पानीसँग मितेरी लाउँदै, लुटुपुटु गर्दै हुर्किएको नेपाली जीवन आज पानी नपाएर ‘काकाकुल’ बनिएको छ । पानीको स्रोत भनेकै प्रकृति हो जो वातावरणको अवस्थामा निर्भर रहन्छ । वनजंगल, खोलानाला, हिमाल–पहाडहरु नै पानीका स्रोत हुन् । तिनको अवस्थितिमा असर पर्नासाथ पानीको अवस्थामा असन्तुलन आउँछ । हामीकहाँ अनेक सन्धी–सम्झौताका नाममा, त कतै ढल र फोहर विसर्जन गरेका कारणले हाम्रो जलसम्पदा प्रदुषित बन्दै जाँदैछन् । यसलाई जोगाउन हामी सबैको समान जिम्मेवारी र भूमिका रहनु पर्दछ । प्राणीको उद्गम स्थल जलाधार क्षेत्र नै हो भन्ने सत्यलाई आत्मसात गरेर, सभ्यता नदीसँगकै नाताबाट प्रारम्भ र विकास भएको तथ्य अनुभूत गरेर जलस्रोतको संरक्षण र शुद्धतामा केन्द्रीत हुनु पर्दछ । प्राकृतिक सन्तुलन खलबलिने बित्तिकै अनेक प्रकोपहरु समेत निम्तिने तथ्यलाई गम्भीरतापूर्वक लिँदै शुद्ध पिउने पानी प्राप्त गर्ने अधिकारको रक्षाका लागि सचेत रहौं । पानी दिवसले सबै नेपालीलाई प्रकृतिको संरक्षण गर्न अग्रसर गराओस् ।



























