कांग्रेसले संसदमार्फत नै वर्तमान सरकारको विकल्प खोजी गर्छ ःसिंह

0
766

बिर्तामोड ,

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसले संसदमार्फत नै वर्तमान सरकारको विकल्प खोजी गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन झापाको आयोजनामा विर्तामोडमा भएको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले वर्तमान सरकारको निरन्तरता देशका लागि दुर्भाग्य हुने बताउँदै सरकारको विकल्प खोजी गर्नुपर्नेमा जोड दिए ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकता नभएको बताउँदै नेता सिंहले नैतिकता हुन्थ्यो भने प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय सर्वोच्चले बदर गरेलगत्तै राजीनामा दिनु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले यही चैत २३ गतेभित्र विश्वासको मत संसदबाट लिनुपर्ने भए पनि उनले आनाकानी गरिरहेको बताउँदै नेता सिंहले केपी ओलीलाई अब पनि सत्तामा रहिरहन दिनु भनेको देशको वर्वादी मात्रै भएको बताए ।

वर्तमान प्रधानमन्त्रीले निरन्तर लोकतन्त्रविरोधी कार्य गरिरहेको बताउँदै नेता सिंहले लोकतन्त्रको संरक्षणका लागि कांग्रेसले छिट्टै सरकारको विकल्प खोज्ने समेत दोहो¥याए ।

ओलीले अहिले पनि संघीयता स्वीकार नगरेको आरोप लगाउँदै नेता सिंहले केन्द्रीकृत मानसिकताबाट माथि उठ्न नसकेकै कारण प्रधानमन्त्रीले शक्ति पृथकीकरणको सिद्धान्तलाई स्वीकार गर्नुको सट्टा राज्यका निकायहरुलाई आफू मातहत नै राखेर संघीयताविपरित अभ्यास गरिरहेको धारणा राखे ।

संसद विघटन बदर भएपश्चात पनि प्रधानमन्त्री ओली संसदमा उपस्थित हुन नचाहेको, संसद सुचारु गर्न सहयोग नगरेको भन्दै नेता सिंहले देश फेरि संसद विघटनको बाटोमा जाने खतरा बढेको बताए ।

नेता सिंहले काँग्रेसलाई चरित्र अनुसारको पार्टी बनाउन नेतृत्व जुट्नुको विकल्प नभएको बताए। चौधौ महाधिवेशनमार्फत कांग्रेसले शक्तिसम्पन्न जुझारु नेतृत्व ल्याउने वताउँदै नेता सिंहले त्यसका लागि आफू छलफलमै रहेको बताए ।

प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाई, सुधिरकुमार शिवाकोटी, गोपालकुमार बस्नेत, नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्य, नेपाली कांग्रेस झापा भातृ संस्था समन्वय विभाग प्रमुख देउमान थेवे, जिल्ला सदस्य शेरबहादुर थापा, महासमिति सदस्य सिता पौडेल, नेपाल महिला संघ झापा अध्यक्ष सुशिला ढकाल, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य उर्मिला पोखरेल, झापा सभापति यज्ञप्रताप अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रेस युनियन झापाका सल्लाहकार राजेन्द्र गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोर्साईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here