नवराज केसी : अध्यक्ष
चम्पादेवी गाउँपालिकाका
चम्पादेवी गाउँपालिका ओखलढुंगा जिल्ला सदरमुकामदेखि दूरीको हिसाबमा नजिक देखिए पनि करिब १६ कोष टाढा उत्तरपश्चिममा अवस्थित पहाडी धरातलको उच्च भू–भागमा अवस्थित गाउँपालिका हो । समुद्री सतहदेखि एक हजार मिटरदेखि दुई हजार आठ सय मिटरको उचाइमा रहेको यस गाउँपालिकाको पूर्वमा ओखलढुंगा जिल्लाकै सुनकोसी मोलुङ गाउँपालिका र पश्चिममा लिखु गाउँपालिका, सिन्धुली र रामेछाप जिल्लाको रामेछाप नगरपालिका पर्छन् भने उत्तरमा लिखु गाउँपालिका, खिजीदेम्बा गाउँपालिका र मोलुङ गाउँपालिका र दक्षिणतर्फ सिन्धुली जिल्ला पर्छन् ।
१२६.९१ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको यस गाउँपालिकामा २०६८ सालको जनगणना अनुसार १८ हजार छ सय ९१ जनसंख्या रहेको छ भने तीन हजार एक सय १८ घरपरिवार रहेका छन् । १० वटा वडा रहेको यो गाउँपालिका साविकका पलापु, कालिका, फेदीगुठ, फूलबारी, बिलन्दु, रानीवन गाविस मिलेर बनेको गाउँपालिका हो । दलित, जनजाति र अन्य विभिन्न जातिको साझा थलो रहेको यो गाउँपालिका सबै जाति, सबै धर्म, सबै भाषा, सबै संस्कृति र संस्कारको साझा थलोको रूपमा रहेको छ । बेँसीका फाँटदेखि उच्च भू–भाग लेकसम्मको यो भू–भाग जैविक विविधतायुक्त छ । ओखलढुंगा जिल्लाकै धार्मीक पर्यटकीयस्थल चम्पादेवी, उच्चस्थल मालिङ्गेडाँडा र घना जंगल भएको गौरी वन यसै गाउँपालिकामा पर्छन् भने लिखु नदी यसै गाउँपालिकामा रामेछाप जिल्लालाई सिमाना बनाएर बगेको छ । यो गाउँपालिका पर्यटकीय दृष्टिकोणले रमणीय छ ।
आदिवासी जनजाति तथा विभिन्न जातिहरूको परम्परागत सांस्कृतिक रीतिरिवाज, धर्म संस्कृति र प्राकृतिक सौन्दर्य बोकेको भए पनि यो गाउँपालिका विकास निर्माणका दृष्टिकोणले केही वर्षयता मात्र अगाडि बढ्दै गरेको देखिन्छ । सडक यातायातको वर्षभरि पहुँच नपुग्नु, व्यवसायिक कृषि प्रणाली हुन नसक्नु, जडिबुटीको पहिचान हुन नसक्नु तथा पर्यटकीय क्षेत्रमा विकास हुन नसक्नु यहाँको प्रमुख चुनौति रहेको छ भने तत्तत् क्षेत्रको विकास गर्नु यस गाउँपालिकाको अवसर रहिआएको छ । गाउँपालिका अध्यक्ष नवराज केसी आफ्नो कार्याकालमा गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने लक्ष्यका साथ लागीपरिरहेका छन् ।
बुवा रणबहादुर केसी र आमा गायत्रादेवी केसीका तेस्रो सन्तानका रूपमा २०२६ साउन १० गते जन्मिएका उनी विद्यार्थी समयदेखि नै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघमा आबद्ध रही राजनीतिमा होमिएका उनी नेपाली कांग्रेसको तर्फबाट २०७४ को स्थानीय तह निर्वाचनमा चम्पादेवी गाउँपालिकामा विजयी भएका थिए । आफ्नै घर छेउमा रहेको विद्यालयबाट प्ररम्भिक शिक्षा लिएका उनले ज्ञानप्रकाश मावि घोराखोरीबाट एसएलसी परीक्षा दिएपछि पशुपति क्याम्पस चाबहिलबाट स्नातक गरेका हुन् । २०४६ साल अघिदेखि निरन्तर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा संलग्न रहेका केसी अहिले नेपाली कांग्रेस ओखलढुंगाका जिल्ला सचिव समेत रहेका चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीसँग गरेको कुराकानी प्रस्तुत छ–
तपाईंले चुनावका समयमा जनतासँग गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो ?
– मैले चुनावका बेला मतदातासँग धेरै प्रतिबद्धता गरेको थिएँ, तर जनतालाई अतिआवश्यक तीन प्रतिबद्धता चाहिँ पूरा गर्न लागीपरेको छु । यहाँको सबैभन्दा समस्या भनेको सडक, खानेपानी र विद्युत् हो । सडक हरेक वडाको टोल–टोलमा पुग्न लागिसकेको छ । वडा नं. १० मा केन्द्रीय विद्युत् प्रसारण लाइन पुगिसकेको छ भने वडा नं. १, २ र ३ मा धमाधम विद्युत् लाइन विस्तारको काम भइरहेको छ भने अन्य वडामा स्थानीय स्तरमा निर्माण गरिएका माइक्रो हाइड्रोबाट विद्युत् आपूर्ति गरिएको छ । अबको केही समयमा गाउँपालिकाका वडा नं. ४, ५, ९ का सबै स्थान र ८ को केही स्थानमा सुनकोशी गाउँपालिकाको कोष भञ्ज्याङबाट विद्युत् विस्तारको योजना रहेको छ ।
त्यसैगरी वडा नं. १० मा केन्द्रिय विद्युत् बलिसकेको ६, ७ र वडा नं. ८ का केही स्थानमा वडा नं. १० बाट विद्युतीकरण गरिने योजना रहेको छ । आफ्नो कार्यकालमा उज्यालो गाउँपालिका बनाउने योजना रहेको छ । चम्पादेवीमा धेरै समस्या रहेको खानेपानीको हो । खानेपानीका लागि पहल गरिरहेको छु । गाउँपालिकाको दश हजारभन्दा बढी जनसंख्या रहेको पलापुमा डिप बोरिङ र पम्पिङ प्रणालीबाट सुनकोसीको पानी दैनिक दुई लाख लिटर गाउँमा ल्याउने योजना बनिरहेको र २०७७ सालभित्र पलापुका सबै घर–घरमा खानेपानी ल्याइ पु¥याउने लक्ष्यका साथ लागिएको छ भने कालिकामा पनि सोही प्रणालीबाट पानी ल्याइसकेका छौँ ।
आगामी दिनमा गाउँपालिका मार्फत् के गर्ने योजना बनाइ रहनुभएको छ ?
– गाउँपालिकामा सबै वडाको सबै टोल–टोलमा मोटरबाटो पुगेपछि गाउँपालिकामा रिङरोड, चम्पादेवी बृहत खानेपानी योजना मार्फत् घर–घरमा खानेपानी धारा, उज्यालो चम्पादेवीको सपना बोकेर हिँडेको छु । सम्भवतः यो योजना आफ्नै कार्यकालमा पूरा गर्ने लक्ष्यका साथ लागीपरेको छु ।
निर्वाचनपछि शैक्षिक गुणस्तर बढाउनका लागि के–के गर्नुभयो ?
– आफूले चुनाव जितेर आएपछि हामीले शिक्षामा जिल्लामै राम्रो काम गरेको अनुभूति गरेका छौं । आफ्नै पाठ्यपुस्तक तयार गरी लागू गरिएको छ । विद्यार्थी नभएका स्थानका विद्यालय गाभिएको छ, शिक्षक नभएका ठाउँमा शिक्षक भर्ना गरिएको छ । गाउँपालिकामा आफ्नै पाठ्यपुस्तक लागू गर्ने जिल्लामै पहिलो गाउँपालिका चम्पादेवी भएको दाबी गर्छु । गाउँपालिकाभरि रहेका विद्यालयमा विद्यार्थीमा एकरूपता ल्याउनका लागि एउटै पोशाक अनिवार्य गरिएको छ । शैक्षिक गुणस्तर बढाउनका लागि चम्पादेवी जिल्लामै पहिलो गाउँपालिका रहेको छ ।
जिल्लामा चम्पादेवी गाउँपालिका किन बढी चर्चामा छ ?
– यहाँ विपक्षी राजनीतिक दलका साथीहरूले राम्रो कामको पनि गलत चर्चा गरेर गाउँपालिकाको नै बदनामी गर्न लागीरहनु भएको छ । शिक्षामा हामीले राम्रो काम गरेका छौं, सम्भव नभएका विकासका कामहरू गरेका छौं, गाउँपालिकाको आफ्नै ऐन बनाएर कर्मचारी भर्ना गरेका छौं । राम्रो कामको जिल्लामा रहेका सबै पत्रकार मित्रहरूले पनि चर्चा गरिरहनुभएकै छ, यसमा आफू गौरवान्वित भएको ठानेको छु । तपाईहरु जस्ता स्वच्छ पत्रकारिता गर्नेहरुका कारण सञ्चारमाध्यमले हाम्रो कामको मूल्यांकन गरेका छन् । जे होस्, राम्रो कामको जहाँ पनि चर्चा हुने नै गर्छ, तर २०४८ देखि सत्ताको स्वाद चाखिरहेका मान्छेहरूलाई यो पटक जनताले सत्ताच्युत गरेका कारण उहाँहरू अत्तालिएर यो हर्कत गर्नुभएको छ । उहाँहरूले विल्कुलै राजनीतिक संस्कार बिर्सिएर यो हौवा फिँजाइरहन ुभएको छ ।
विपक्षी दलले सधैँ बदनाम नै चाहन्छ र ?
– चाहँदैन, तर हाम्रोमा यही भएको छ । हरेक कामको विरोध गरिन्छ, हल्ला गरिन्छ । आफूले गरेको गल्ती केही देखिन्नँ, तर अरूले गरेको कामको सधैँ बदनामी नै गरिरहनुहुन्छ उहाँहरू ।
चम्पादेवी गाउँपालिकाको विवाद र अनियमितताको विषय अदालत र अख्तियारसम्म पुग्यो नि किन ?
– सत्तापक्ष र विपक्षबीच सामान्य टकराव तथा विवाद भएन भने सत्तापक्षले एकलौटी काम गर्छ भन्ने मान्यता हो मेरो । तर, यहाँ नचाहिँदा कुराहरूमा अलिक बढी किचलो गरिरहनुभएको छ । अनियमितताको विषयलाई लिएर अख्तियारमा मुद्दा हाल्नु भयो । यहाँ अनौठो छ चलन ।
गाउँपालिकामा कृषि तथा पर्यटन क्षेत्रमा के गर्ने लक्ष्य राख्नुभएको छ ?
– विशेषगरी गाउँपालिकाका विभिन्न स्थानमा कृषि पकेट क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ लागिएको छ । वडा नं. १ र २ लाई कपासको पकेट क्षेत्र बनाउन लागीपरेका छौं, किनकि यहाँ उत्पादित खाडीको कपडालाई देशभर चिनाउन कपासको पकेट क्षेत्र बनाउनुपर्ने देखिएको छ । यसका लागि यस वर्ष पनि केही बजेट विनियोजन गरिएको छ । त्यस्तै, वडा नं. ७, ८, ९ र १० लाई अलैँची पकेट क्षेत्र घोषणा गरिँदै छ । यस वर्ष पनि यहाँ तीन लाखभन्दा बढी अलैँची रोपिएको छ । वडा नं. ३ को सिल्खु बेँसी जिल्लाकै राम्रो धान उत्पादन हुने स्थान हो । यसलाई धानको पकेट क्षेत्र बनाउँदैछौं भने अन्य स्थानमा माटो सुहाउँदो खेती गरिने लक्ष्यका साथ लागेका छौं । गाउँपालिकामा रहेको जिल्लाकै दोस्रो अग्लो स्थान मालिङ्गे डाँडा र चम्पादेवीलाई पर्यटकीय हब बनाउने लक्ष्यका साथ लागिपरेका छौं । मालिङ्गेबाट सूर्योदय तथा सूर्यास्तको दृश्य राम्रो देखिनुका साथै विभिन्न हिमशृंखलाहरू समेत देखिन्छन् । यहाँ एउटा भ्यू–टावर निर्माण गरी आन्तरिक तथा बाह्य पर्याटक भित्र्याउन विशेष पहल गरिरहेका छौं ।
गाउँपालिकामा रहेको जिल्लाकै दोस्रो अग्लो स्थान मालिङ्गे डाँडा र चम्पादेवीलाई पर्यटकीय हब बनाउने लक्ष्यका साथ लागीपरेका छौं । मालिङ्गेबाट सूर्योदय तथा सूर्यास्तको दृश्य राम्रो देखिनुका साथै विभिन्न हिमशृंखलाहरू समेत देखिन्छन् । यहाँ एउटा भ्यू–टावर निर्माण गरी आन्तरिक तथा बाह्य पर्याटक भित्र्याउन विशेष पहल गरिरहेका छौं र ककनी चम्पादेवी धार्मिकस्थलमा धार्मिक पर्यटक भित्र्याउन र ककनी चम्पादेवी संरक्षणका लागि बृहत ककनी चम्पादेवी योजना बनाई यसको डिपीआर समेत तयार भएको छ । यहाँ धार्मिक पर्यटक भित्र्याउनका लागि विशेषगरी साँघुटार घोराखोरी दलीडाँडा ककनी र नवलपुर पलापु सिद्धपोखरी फेदीगुठ ककनी पदमार्ग निर्माणको योजना बनाइरहेका छौं ।
स्वास्थ्य क्षेत्र र कोरोना महामारीमा सर्वसाधारणको हितमा गाउपालिकाले के ग¥यो ?
– स्वास्थ्य क्षेत्रमा हामीले गर्नैपर्ने काम गरिरहेका छौं । गाउँपालिकाका हरेक वडामा स्वास्थ्य इकाइहरु स्थापना गरिसकेका छौं । जिल्लामा जिल्ला अस्पतालभन्दा अन्य स्थानमा रहेको पहिलो प्राथमिक स्वस्थ्य केन्द्रमा १५ शय्याको अस्पताल निर्माणमा हामीहरु जुटी रहेका छौं । सरकारले कोरोना अस्पताल निर्माणको लागि गरेको अनुदानको रकमले हाल अस्पताल सञ्चालनमा आइरहेको हुँदा हामीहरु स्वास्थ्य क्षेत्रमा पनि अगाडि नै रहेका छौं । कोरोनाका समयमा हामीले गर्नैपर्ने कामहरु गरे जस्तो लाग्छ । कोरोना महामारीका समयमा घरबाट टाढा रहेका आफ्ना गाउँपालिकाका नागरिकका लागि राहत वितरण गरेका थियौं । हामीले नगरिकहरु जहाँ बसेका छन् त्यहीं राहत वितरण ग¥यौं । गाउँ–गाउँमा पनि रोजगारी नपाएका सर्वसाधारणलाई घर–घरमा राहत समेत वितरण गेर जनताको मनमा बस्न सफल भए जस्तो लागेको छ ।
जनताका लागि गर्नैपर्ने केही काम छन् कि ?
– हामीले गर्नैपर्ने अर्काे काम भनेको बिलन्दुमा रहेका आधा दर्जन तामाखानी संरक्षण तथा उत्खनन्का लागि पहल गर्नुपर्नेछ । विभिन्न स्थानमा रहेका धार्मिकस्थलहरूको पहिचान र प्रचार–प्रसार गरी धार्मिक पर्यटक बढाउने प्रयत्नका साथ लागीपर्ने छौं । विशेषगरी दुई वर्षभित्र उज्याले चम्पादेवी, घर–घरमा पानीको धारा बनाउन र वैदेशिक रोजगारीमा जाने युवाहरूलाई केही गरे यहीँ हुन्छ भन्ने नाराका साथ कृषिमा लाग्न लालायित बनाउने योजना बनाएका छौं । आफ्नो कार्यकालमा चम्पादेवीलाई विकासबाट फड्को मारेर आर्थिक उन्नतिमा लैजाने प्रणका साथ लागीपरेको छु ।
प्रस्तुति : मनोज भट्टराई