दमक ।

दमकका विभिन्न बिद्यालयहरुमा पढाउँदै आएका बाल शिक्षिका र काम गर्ने कर्मचारीहरुले न्यूनतम् पारिश्रमिक पाउने भएका छन् ।
बालविकास केन्द्रमा कार्यरत बाल शिक्षिकाहरुले नौ हजार पाँच सय रुपैयाँ पाउँदै आएकोमा फागुन महिनादेखि लागू हुने गरी १३ हजार पाँच सय रुपैयाँ पाउने दमकका नगर शिक्षा अधिकारी एवम् उपसचिव दिनेश न्यौपानेले बताए ।
नगरपालिकाको आन्तरिक स्रोतबाट खर्च हुने गरी बाल शिक्षिकाहरु र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई सरकारले तोकेको न्यूनतम् पारिश्रमिक बराबरको सुविधा उपलब्ध गराउने निर्णय भएको न्यौपानेको भनाई रहेको छ ।
बाल शिक्षिका र कर्मचारी गरेर चार दर्जनभन्दा बढीले यसबाट लाभ लिने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए । बर्षौंदेखि कम पारिश्रमिकमा काम गर्दै आएका बालशिक्षिका तथा कर्मचारीहरुले आफूहरुको पारिश्रमिक बढाउन बारम्बार माग गर्दै आएका थिए ।
नगरका २१ सामुदायिक बिद्यालयमा कूल ३९ वटा बाल विकास केन्द्र सञ्चालनमा रहेका छन् । हरेक बाल विकास केन्द्रमा एक÷एक जना बाल शिक्षिका कार्यरत रहेका छन् । यसैगरी एक÷एक जना सहयोगी पनि बिद्यालयमा रहेका छन् ।






























