विष्णुप्रसाद पोखरेल,
दमक ।

झापाको दमकमा रहेको मेची सहकारी संस्थाले पूर्वमा नै पहिलो पटक एकीकृत नमूना सहकारी बस्ती निर्माणको काम शुरु गरेको छ । बाहिर कतै घर नभएका र किस्तामा घर लिन सक्ने सदस्यहरुका लागि लक्षित गरेर न्यूनतम् जग्गासहित ४३ लाखदेखि अधिकतम ५१ लाखसम्मका घरहरु निर्माण हुने बताइएको छ ।
सहकारी संस्थाले पत्रकार सम्मेलन गरेर यस बिषयमा जानकारी दिएको हो । दमक–४ मा एक विगाह १६ कठ्ठा जमिनमा ५२ वटा घर निर्माणको काम शुरु भएको र यसमा प्रत्यक्ष सदस्यहरुको निगरानीमा काम हुने सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए । सहकारीले शुरुवातमा सदस्यबाट लागत मूल्यको १५ प्रतिशत रकम लिने र त्यो बाहेक एकमुष्ट रकम झिक्न नसक्ने सदस्यहरुलाई २० बर्षे किस्ताबन्दीमा घर उपलब्ध गराइने छ ।
एकै प्रकारका घरहरु बन्ने र जग्गाको प्रकृति अनुसार जग्गा बढि भएका घरमा केही रकम घटबढ हुने भएकाले मूल्यमा एकरुपता गर्न नसकिएको पनि अध्यक्ष भट्टराईले बताए । उनका अनुसार ५० प्रतिशतभन्दा बढी घरहरु सदस्यहरुले इच्छाएर बुकिङ गरिसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । डेढ तले घर बन्ने बस्तीमा ढल, खानेपानी, टेलिफोन, बाटो लगायत आवश्यक सबै पूर्वाधारहरु रहने पनि जनाइएको छ ।
सहकारीका सदस्यहरुले सोही जमिनको धितोको आधारमा सहुलियत ऋण पाउने र २० वर्षको भुक्तानी अवधि उपलव्ध गराइने भएकाले घरभाडामा बस्दै आएका सदस्यहरुका लागि यो लाभदायी बन्न सक्ने सहकरीका व्यवस्थापक खोमप्रसाद बगालेले बताए । व्यवसायिक प्रयोजनका लागि यहाँ कसैलाई पनि घर उपलब्ध नगराइने पनि उनको भनाइ रहेको छ ।
‘पाँच बर्ष किनबेच गर्न पाइँदैन र त्यसपछि किनबेच गर्दा पनि सहकारीका सदस्यलाई नै बिक्री गर्नुपर्ने हुन्छ’ –बगालेले भने । सहकारी संस्था तथा त्यहाँ रहेको व्यवस्थापन समिति र घर लिने सहकारीका सदस्यले मूल्य निर्धारण गरेरमात्र बिक्री गर्न पाउने व्यवस्था सहितको कार्यविधि बनाएर अघि बढाएको बगालेले बताए ।
सहकारी बस्ती निर्माण समितिका संयोजक डिल्लीप्रसाद न्यौपानेका अनुसार सहकारी संस्थाले चार बर्षअघि जमिन किनेको र एकैसाथ धेरै घर बनाइने भएकाले सहकारीका सदस्यहरुले कम लागतमा बस्तीमा घर पाउने अवस्था सिर्जना भएको बताए । ‘आधुनिक र सुविधासम्पन्न घर सदस्यहरुले कम मूल्यमा पाउने अवस्था सिर्जना भएको छ’ –उनले भने ।
२०७९ साल भदौ १२ गते सदस्यहरुलाई घरको चाँबी हस्ताण्तरण गर्ने गरी काम हुने पनि बताइएको छ । आठ हजार शेयर सदस्य रहेको यस सहकारी संस्थाको शेयर पुँजी करिब २९ करोड रुपैयाँ रहेको छ । अढाइ अर्बभन्दा बढीको सकारीको वासलात रहेको पनि जनाइएको छ । दमकमा मुख्य कार्यालय रहेको संस्थाले हाल कमल गाउँपालिकाको मंगलबारे, मोरङको उर्लाबारी, पथरी र मधुमल्ला तथा इलामको चुलाचुली सेवाकेन्द्रबाट सेवा दिँदै आएको छ ।






























