राजनीतिक ऋतु परिवर्तनको भयावह संभावना !

९ बैशाख २०७८, बिहीबार मा प्रकाशित

यसबेला सिङ्गै देश राजनीतिक पार्टीहरूद्वारा प्रायोजित दुर्निग्रहको विषयहरूबाट पीडित–प्रताडित छ । मानों, राजनीतिक पार्टीहरू यो ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’–को मौजा–मौजाका जमिनदार हुन्, जसलाई मौजाबासी रैती–दुनियाँका पीर–पीडाको उहापोहसँग हार्दिक सरोकार राख्ने आवश्यकता नै पर्दैन— लादिएको तिरो र अन्नादि खुरुक्क तिरुन्, आफ्नो समृद्धि र सुख बढ्दै जाओस् । यस्तै त बताइन्छ नि सामन्तयुगीन जमिनदारहरूको यथार्थ कथा !

सत्तारूढ पार्टी एमाले अघोषित दुई (परस्परविरोधी) कित्तामा ठाढो विभक्त छ । सरकारमा जमेको कित्ता वकवेदाती शैलीमा वकवेदान्त देशवासीमा प्रक्षेपण गरेर एकातिर शाही प्रतिकृति जस्तै सान–सौकतले दैनन्दिन ‘समृद्धि नेपाल’ र ‘सुखी नेपाली’ गर्न तल्लिन छ भने अर्को कित्ता मूर्तिमा फूल चढाएर सो मूर्ति प्रतिष्ठापित मन्दिरको खलोफूलोको लडाईं लड्न पाखुरा ठटाइरहेको छ । उता प्रमुख प्रतिपक्षी पाटी नेपाली कांग्रेस स्वयम् आफूमा दुर्बोध पहेली भई राजनीति (?)–को निबिड वनमा बगाल छुटेर भौतारिएको बाच्छो बनिरहेको प्रतीत हुन्छ । र, यस्तो प्रतीतिले सो पार्टीवृत्त बाहिरकालाई भन्दा भित्रकालाई भत्भत् पोलिरहेको दुर्दशा छ । जनतालाई प्रजातन्त्र–लोकतन्त्र–गणतन्त्रको लाभांश दिलाउने राजनीतिक वंशानुगत नैतिक कत्र्तव्य बिर्सेर उसको निजी उपनिवेशभित्रै प्रजातन्त्रको प्रसवकालदेखिको उसका प्राक्कल्पना र साख कुल्चिरहेको वर्तमान नेपाली कांग्रेसलाई सभ्य र जानिफकार लोकतन्त्रमार्गी आँखाले हेर्ने कसैले पनि नैराश्यको शुष्क सुस्केरा हालेर ‘कठै !’ नभनी नहुने अवस्था छ । मधिसे दलहरू वर्तमान राष्ट्रिय राज्यव्यवस्था (संवैधानिक शासन प्रणाली) जतासुकै अन्भररियोस्, आफ्नै क्षेत्रीय अभीष्टको वर्तमान र भविष्यलाई आफूले चाहे जस्तो मोडलमा स्थापित गर्न खोचे–डेउढीमा अनुरक्त छन् ।

सर्वोच्च अदालतको फैसलाले सत्तारुढ एमालेको सरकारी चोइटासँग विछोड गराएपछिको माओवादी पार्टी महाभारत कथानुसार श्रीकृष्णको पार्थिव लीला समाप्त भएपछि उनका (श्रीकृष्णका) प्रिय सखा गोपिनीहरूलाई भिल्लहरूले लछार–पछार पार्दै हरण गरेर लैजाँदा समेत पाण्डवहरू किम्कत्र्तव्यविमूड भए झैं— धनुर्धर अर्जुनले छेउमै बिसाइराखेको गाण्डीव धनु हल्लाउन पनि नसकेर निन्याउरिनु परे जस्तै माओवादीको जंगल हिंसाको शक्ति सभ्य मानव समाजमा क्षीण भएको हो त ? अन्तर्राष्ट्रिय जगतै गुञ्जित गराउँदै ‘नेपाली माओवादी’–लाई ‘राजनीतिक पार्टी’ नभएर ‘आतंकवादी समूह’ करार गर्ने उही भारत सरकारकै अनुकम्पापूर्ण मध्यस्ततामा तत्काल मूलधारका सात नेपाली राजनीतिक पार्टीसँग लगनगाँठो बाँधिदिएर नेपालको संवैधानिक बाटोमा ल्याइदिएको पृष्ठभूमि र हैसियतको धरातल हो वर्तमान माओवादीको ।

अतः त्यो पृष्ठभूमिमाथि उभिएर उसको हैसियत सभ्य संवैधानिक परिवेशमा अवतरित भइरहँदा पनि उसको जन्मागत अचाडू बानी झट्टै छुट्न संभव नहुनु र त्यसलाई अन्य पार्टीपंक्तिले (खासगरी शासनसत्ताधारीले) पचाउन–सहन गर्न संभव नहुनु अस्वाभाविक होइन । अर्थात्, त्यसरी मूल प्रवाहमा बिसर्जित हुन पाएको उन्मादले उन्मादित माओवादीले ‘जनयुद्ध’–को ज्यानमारे संत्रासद्वारा अहोरात्र आहत नेपाली जनतालाई हेपेर–हियाएर विदेशी एजेण्डा नेपालमाथि लाद्ने दुष्कर्मको अगुवाइ गर्ने अर्को मौका लिएको पनि हो । तर, आज माओवादीको सक्कली हकमा नेपालको प्रागैतिहासिक सनातनी सांस्कृतिक पहिचानको धरोहर ढालेर धर्मनिरपेक्षता र गणतन्त्रात्मक संघीयतामा नेपाललाई पुनः टुक्रा पार्ने अपगालयुक्त राजनीतिक आत्मश्लाधा बाहेक उल्लेख्य एवम् विश्व–सन्दर्भमा बुझिन सहज उपलब्धि शून्य छ । ‘धर्मको व्यापार’–का लागि नेपाललाई मात्र सहज–सुगम बजार होइन यहाँबाट भारत–चीन लगायतका देशमा पनि खेलो–फड्को हुनसक्ने हेरेर पश्चिमा देशका षडयन्त्रकारी अभीप्साहरू पूरा गर्न नेपाली स्पन्दनमा आत्मवत् सम्पृक्त सनातन संस्कृतिका सबै अवयवलाई, नेपाली जनमनको अन्तरआतंकको मनोविज्ञान टेकेर, ह्याकुलाले मिचेको स्मरणले नेपालीलाई त विह्वल गराउन थालेकै छ, स्वयम् माओवादी अगुवा–अग्रजहरूमा पनि हीनताबोध भइरहेको हुनसक्छ— अभ्यन्तरलाई दपेटेर तर्साइरहेको हुनसक्छ ।

अहिले, राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकिराखेको मूल एजेण्डा (संवैधानिक राजतन्त्र र धार्मिक स्वतन्त्रतायुक्त हिन्दू राष्ट्र)–लाई नेपाली राजनीतिमाथि वि.सं. २००४ (सन् १९४७) यता धेर–थोर हाबी (छिमेकी र अन्य सदाशयी राष्ट्रहरूमध्ये सबभन्दा बढी) हुने गरेको भारतको संस्थापन नबोले पनि हाल त्यसको पथप्रदर्शक हिन्दू धार्मिक सम्प्रदायले कसरी सकारात्मक अँगालो हालिरहेको छ ? एउटा ताजा प्रमाण हालै हरिद्वारको महाकुम्भ मेलामा नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्राप्त ओजस्वी सम्मान होइन र ? यस घटना–प्रकरणमा भारतीय संस्थापन नबोल्नुले के संकेत गर्छ ? अतः २३९ वर्ष शाहवंशका राजाहरूले शासन गरेको यो मुलुकमा जसरी राजालाई ‘श्री ५’–को सम्मान प्राप्त थियो भने गुरुप्रधान हिन्दू सनातन बमोजिम मूल गुरु (बडागुरुज्यू)–लाई ‘श्री ६’को सम्मान प्राप्त थियो— त्यसरी नै उल्लेखित महाकुम्भ मेलामा सो अनुष्ठानमा प्रमुख सन्त (विश्वमान्य हिन्दू महामना)–भन्दा एक तह मात्र तल्तिर ‘नेपाल नरेश’ र ‘विश्वका एक ही हिन्दू सम्राट’–ले सम्बोधित गर्दै आसन प्रदान गरिएको थियो ।

तर, आफ्नो जातीय मौलिक सांस्कृतिक एवम् ऐतिहासिक गौरवलाई निषेध गर्नु नै क्रान्तिकारी परिवर्तनको संवाहक हुनु हो भन्ने प्रायोजित वहकाउमा उत्ताउलिएकाहरूले यस घटनालाई सतही राजनीतिको उफ्रीपाफ्रीको विषय बनाएका छन् । यद्यपि राजनीतिक पक्ष–निरपेक्ष यो कलम व्यक्तिगत हैसियतले आधिकारिकता साथ भन्छ— नेपाली स्पन्दनमा वंशानुगत सिञ्चित जातीय धार्मिक आस्था नेपाली जीवनकै एक नैसर्गिक मनोविज्ञान बनेको सत्य दुर्दमनीय छ । शायद यही दुर्दम्य तथ्यलाई बुझेपछि नै ‘धर्म अफीम हो’ ठान्ने कम्युनिस्ट वंश–परम्पराका सम्पूरक भएर पनि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली सपत्नी पशुपति मन्दिरमा जान थाल्नु भई रुद्राक्षको माला धारण गर्न थाल्नु भएको छ । अर्बौंै मूल्य राज्यकोषबाट कोतरेर सुनका गहनाले पशुपतिनाथको मन्दिरलाई ‘धन–समृद्ध’ बनाउन थाल्नु भएको छ । अयोध्या नेपालमै भएको पत्तो लगाउन र त्यसमा राम, सीता, हनुमान आदिलाई प्रसन्न राख्न–सुखी तुल्याउन लाखौं मूल्यका मूर्ति राख्ने आदेश सभक्ति फर्माउन थाल्नुभएको छ ।…..यी सबलाई प्रकारान्तरमा हेर्दा— ‘धर्म अफीम हो’ भन्ने कम्युनिस्ट धर्मगुरुका सूक्तिका प्रतिको अन्धानुशरण र हक जा हानमुनलाई वरेण्य ‘माता’ मानी उनीबाट छिटिएको ‘होली वाइन’ नामक लागू दारुको मात लागेका बेला बिर्को लागेको बुद्धिले नभ्याएर होश नपुगेकाले भएको गल्ती नेपाली मानसिकताले अनुभूत गरी सुधार गरिएको मान्दा भएकै छ । अथवा, २०४७ सालपछि राजतन्त्र उलेखेर फ्याँक्न, धर्मको व्यापार गर्ने निउँमा मौलिक राष्ट्रिय अस्मिता–आबरु सरेआम बिथोल्न दिने र आफ्नो निजी वैभवले देशलाई वैधर्मी उपनिवेश बनाई त्यसको कार्बारी बन्ने पाखण्ड जसले गरे पनि कार्यकारी प्रधानमन्त्रीले ती सबैका तर्फबाट वर्तमान सर्वसत्ताधारी हैसियतले, पापमोचन थाल्नुभएको मानिदिंदा पनि भएकै छ । आफ्नै पार्टीका सर्वज्ञ नेता (?) सुवासचन्द्र नेम्वाङलाई त प्रधानमन्त्रीको उपल्लो विश्वासको रुद्राक्षले शायद साँझ–बिहानै ‘पवित्रम् पाप नाशनम्’को आभासद्वारा अभिषेक भइरहेकै होला ।….पृष्ठपटका यी–इत्यादि विषय संक्षेपमा यहाँ कि उठाइएको हो भने— अहिले देशका औसत जनताको मनोभाव ‘राजनीति’–का निम्ति अक्करिलो बन्ने दिशातर्फ लहरिन थालेको छ । यसले पनि राजनीतिक पार्टीहरूका लागि अप्ठ्यारो भविष्यको संकेत दिइरहेको छ ।

अर्थात्, अहिले देशमा राजनीतिले यसरी सेरोफेरो गिजोलिरहेको छ र यो प्रकटित स्थितिलाई ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’–को सन्दर्भमा जनताको अपेक्षा र विश्वासमाथिको उछित्तो काडिने झन विभीषक भविष्यको पूर्वाभास मान्नुपर्ने भएको छ । अस्ति नयाँ वर्षारम्भमा प्रधानमन्त्री ओलीले सिंहदरवारबाट राष्ट्रवासीका नाममा प्रक्षेपण गर्नुभएको सन्देशमा हाल सरकारले ‘जनतालाई आशावादी बनाउन’ धेरै काम गरेको बताउनुभयो । त्यस क्रममा उहाँले जनताका सरोकार र प्राथमिकतापूर्ति गर्ने सरकारी क्रियाशीलताको फेयरिस्तमा चाहिँ काठमाडौंमा धराहरा अझ गत्तिलोगरी पुननिर्माण हुनु, यही सरकारले मेलम्ची खोलाको पानी काठमाडौं महानगरका धारा–धारामा छताछुल्ल झार्नु, देशका ठूला–ठूला शहर–महाशहरमा राष्ट्रिय गौरवका योजनाका रूपमा भव्य–भव्य सभागृहहरू बन्नु, खेलाडीहरूले यसे अवधिमा स्वर्ण पदक जित्नु आदि–इत्यादि बताउनुभयो ।

देशको कुल जनसंख्याको कति प्रतिशतले सुनेर बुझ्ने विषय थिए ती ? जनताको जनवादले आँक्न कतिपय ‘अब हुन्छ–अब हुन्छ’ भनेर कट्टर ब्राह्मणले गायत्री जपे झैं सरकारी शिर–पुच्छरका सबैले वर्तमान सरकार जन्मेदेखिका भाषणरुपी छोराहरूमा नित्य जपिएका जन–सरोकारी योजना–आयोजनाहरू थाल्दै नथाल्नु र थालेर लथालिङ्ग हुनुको दोषको तातो भुत्भुते चाहिँ कोरोना (कोभिड–१९)–को थाप्लोमा खन्याइएको थियो, लण्ठै साफ ! त्यो सन्देश सुनेर अरु, सत्तारुढ एमालेबाट बटारिएकाहरू, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, क्रान्तिकारी माओवादी लगायत आ–आफ्ना ढोल–ढ्याङ्रासहित उफ्रीपाफ्री चलखेल गरिरहेका पार्टी अथवा पक्षहरुका कानमा बतास लागेको कतै आभास भएन । यसलाई मौन–सम्मति मान्नुपर्ने कि के ? कसै न कसैले त राष्ट्रको वेदी थर्किनेगरी चरम अस्तव्यस्त जीवन–दैनिकी भोगिरहेका अत्यधिक बहुसंख्यक नेपालीको विदीर्ण बनेर कहालिने स्थितिमा पुगेको जीवन–जीविकाका बहुमुखी समस्या समाधानका हकमा चाहिँ सरकारले केही गरेको छैन प्रधानमन्त्रीज्यू ? भनेर गर्जेलान् भन्ने आशा जनमनमा थियो होला । तर, त्यो आशालाई नेपाली राजनीतिको समग्रतामा प्रकीर्ण स्वार्थको लडार्इंले अन्यायपूर्ण थिचोमिचो गरी मृत तुल्याइदियो ! यस्ता–यस्ता घटनाक्रमले पनि नेपालमा राजनीतिक ऋणु परिवर्तन हुने ग्रह–दशा निम्त्याउन सहयोग गर्दैन भनेर ढुक्क हुन सकिन्छ र ?

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here