कोरोनाविरुद्ध कसले लड्ने हो ?

२० बैशाख २०७८, सोमबार मा प्रकाशित

दोस्रो विश्वयुद्ध (१९३९–१९४५)को रफ्तारलाई रोक्ने तर मानवता विरोधी हर्कतको रुपमा सर्वत्र निन्दा गरिएको र इतिहासका पानामा पनि कालो धब्बाका रुपमा चित्रित सन् १९४५ को अगस्ट ६ र ९ मा जापानको हिरोशिमा र नागासाकीमा साढे तीन लाखभन्दा बढी निर्दोष सर्वसाधारणको ज्यान लिने गरी अमेरिकाद्वारा खसाइएका ‘फ्याट म्यान’ र ‘लिटल बोइ’ नाम दिइएका परमाणु बमहरुभन्दा पनि शक्तिशाली र विध्वंशकारी कोभिड–१९ को महामारीलाई रोक्ने को हो ?
यसलाई वशमा लिने काम सरकारको हो कि जनताको हो कि राजनीतिक दलहरुको हो ? सरकारी अस्पतालहरुको क्षमताले कोभिडका बिरामीहरुको उपचार गर्न नसकेको कुरा त नेपाल सरकारले स्वीकार गरिसकेको छ । यो दोस्रो लहरको रुपमा नोभल कोरोना भाइरसको डबल वा ट्रिपल म्युटेड न्यू भेरिएन्टको महामारी फैलिएको मानिएको छ । नोभल कोरोना भाइरस आफ्नो रुप बदल्दै नयाँ प्रजातिको रुपमा परिवर्तित भइरहेको छ । इतिहास हेर्दा यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन ।

हाल विश्वभरि फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनबाट खोक्दा वा हाच्छ्युँ गर्दा उत्पन्न भएको श्वासप्रश्वासजन्य सूक्ष्म थोपाहरूबाट र भाइरसबाट संक्रमित सतह÷वस्तुहरू छुँदा यो भाइरस सर्ने गर्दछ ।

कुनै पनि स्थान तथा सतहमा कैयौं घण्टासम्म कोभिड–१९ भाइरस जिवित रहन सक्छ, तर सामान्य जिवाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस महामारीले गम्भीर रुप लिएको छ र सबैको ध्यान आकर्षण गरेको छ । विकसित राष्ट्रहरुमा लाखौं जनसंख्या संक्रमित भएका छन्, हजारौं मानिसले ज्यान गुमाइसकेका छन् भने विकासोन्मुख देशहरुमा यस भाइरसको संक्रमण तीव्रगतिमा फैलिरहेको छ । ठूला–ठूला शक्ति राष्ट्रहरु पनि कोरोनाको यो शक्तिशाली प्रहारलाई थेग्न र आफ्ना नागरिकको जीवन रक्षा गर्न अक्षम भइरहेको यथार्थलाई मनन गर्न आवश्यक छ ।

यतिबेला भारत कोभिड–१९ महामारीको इपिसेन्टरको रुपमा रहेको छ । २२०० किमिभन्दा बढी खुला सीमाना जोडिएको हाम्रो देश भारतको यो दुरावस्थाबाट अछुतो रहन सक्दैन र परिणामतः हामी सबै यस भाइरसको फैलावटबाट प्रभावित भएका छौं भने यतिबेला नेपाल यसको उच्च जोखिममा परेको छ । विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदन अनुसार, कोरोना भाइरसले सबै उमेर समूहका व्यक्तिहरुलाई असर गर्न सक्छ, तर पाका उमेरका र गैर–संक्रमित रोग (जस्तैः क्यान्सर, कडा दम, मधुमेह, मुटुरोग, मृगौलाको रोग, उच्च वा निम्न रक्तचाप आदि)को साथ बाँचिरहेका मानिसमा यसको संक्रमण बढी देखिन्छ । तुलनात्मक हिसाबले अरु कुनै पनि रोग नलागेका व्यक्तिहरुमा कोरोनाको कारण मृत्यु भएको संख्या अति कम छ । न्यू भेरिएन्टबाट चाहिँ १५ वर्षदेखि ४५ वर्षसम्मका उमेर समूहका नेपालीहरुलाई बढी असर गरेको देखिएको छ । कोरोना भाइरस अर्थात् कोभिड–१९ को कारण विश्वजगत् आज यति नराम्ररी प्रभावित भएको छ कि विकसित मुलुकहरु पनि त्राहीमाम भएका छन् । नेपाल पनि यो महामारीबाट अछुतो रहन सकेको छैन । पछिल्लो समय कोरोना पीडितको परीक्षण र उपचार खर्चबाट सरकारी ढुकुटी रित्तिने अवस्था आउन लागेपछि सरकारले सम्पन्न नागरिकसँग शुल्क लिएर र विपन्नलाई निःशुल्क परीक्षण तथा उपचार गर्ने नीति लिएको थियो ।
कोरोना संक्रमणको शुरुवाती चरणमा नियन्त्रण र परीक्षणमा अन्धाधुन्ध खर्च गरेको सरकारले संक्रमण दर बढ्दै जाँदा यस्तो निर्णय गरेपछि जनतामा निराशा छाएको थियो र सरकारी यो निर्णयको सर्वत्र आलोचना भएको थियो । यसबाट कोरोना लाग्यो भने उपचारै नपाई मरिन्छ कि भन्ने सन्त्रास नागरिकमा फैलिएको थियो । यतिबेला कोभिड–१९ को नयाँ भेरिएन्टको लहर देखा परेको छ नेपालमा । कोरोना लागिहाल्यो भने पनि सरकारले नै परीक्षण गरिदिन्छ र उपचार पनि गरिदिन्छ भनेर पछिल्ला दिनमा नागरिकमा सचेत हुने बानी पनि हटेको थियो र अहिले लापरवाहीको मात्रा झन् बढेर गएको छ ।
संविधानमै लेखिएको नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा दिने दायित्वबाट सरकार पन्छिन मिल्दैन । सिद्धान्ततः हुनेसँग लिने र नहुनेलाई निःशुल्क उपचार गर्ने सरकारी निर्णय सही भए पनि व्यवहारमा कस्ता नागरिकले निःशुल्क उपचार पाउँछन् र कसले पाउँदैनन् भन्ने स्पष्ट थिएन । नेपाल जस्तो आर्थिकरूपमा विपन्न मुलुकले यो मामिलामा गरेको खर्च धेरै हो । तर, अपारदर्शी र अस्पष्ट निर्णयका कारण पहुँचवाला र सम्पन्न परिवारले मात्रै राज्यको सुविधा लिइरहने सम्भावना थियो । लक्षित वर्ग को हुन् भन्ने निक्र्योल गर्न सजिलो छैन । कोरोनाको जोखिम तिनैलाई झन् बढ्दो छ जसको शरीरमा न सहन गर्ने क्षमता छ न त उपचार खर्च बहन गर्ने क्षमता नै । कोरोनाको चरम चपेटामा शहर र शहरोन्मुख बस्ती मात्र नभएर समग्र गाउँ नै प्रभावित भइसकेको अवस्था छ । सामान्य अवस्थामा त एउटा गरीबले आफ्नै खर्चमा कोरोनाको उपचार गर्न सक्दैन भने अहिले अधिकांश त्यस्ता श्रमिक गरीबहरूको आय गुमेको अवस्थामा उनीहरूले कुनै पनि हालतमा कोरोनाको उपचार गर्न सक्दैनन् ।

पहिलेको भन्दा कडाखालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् । अहिले देखिएको भाइरसले कडा खालको रहेको र यसको अर्को मानिसमा सार्न सक्ने क्षमता पनि बढी हुने भएकाले स्वास्थ्यका मापदण्ड अपनाई भाइरस सर्नबाट बच्नुपर्दछ भन्ने चिकित्सकको सुझाव छ । यतिबेला अन्तर्राष्ट्रिय समुदाय, राष्ट्रिय र स्थानीय सरकार कोभिड–१९ को विरुद्ध लडिरहेका छन् । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै उचित हो । यसका लागि सरकारको भन्दा हामी जनताको भूमिका बढी हुन्छ । समुदाय र स्वास्थ्य प्रणालीहरुले उच्च जोखिम समूहमा रहेका व्यक्तिहरुको रोगको निदान गरेर जोखिम व्यवस्थापन गर्न आवश्यक छ । विभिन्न जनचेतनामूलक कार्यक्रमहरु मार्फत गैर–संक्रमित रोगको नियन्त्रण र रोकथाम गर्न सकिन्छ र कोभिड– १९ को कारणले उत्पन्न भएका समस्याहरु कम गर्नका लागि सान्दर्भिक नीतिहरु, उपकरण र कार्यक्रमहरु लागू गर्न जरुरी छ ।

स्वास्थ्य, आर्थिक, शिक्षा, कृषि, शहरी योजना आदि क्षेत्रहरु बीच सहकार्य गरी गैर–संक्रमित रोगको व्यवस्थापनमा राम्रो लगानी गरेर मृत्युदरलाई कम गर्न सकिन्छ । हामी स्वास्थ्य सेवाहरुलाई पुनर्मूल्यांकन र स्वास्थ्य प्रणालीलाई पुनः निर्माण गर्न तयार हुनुपर्छ । कोभिड–१९ का लागि त गैर–संक्रमित रोगको अवस्था भनेको मलिलो धर्ती जस्तै हो । पैसाको अभावमा वा चेतनाको कमीको कारण घरगाउँमै बसेर कोरोना र निमोनियाका कारण गुमनाम मृत्युवरण गर्न बाध्य हुनुपर्ने परिस्थितिको अब अन्त्य हुनैपर्छ । सरकार जनताको सेवाका लागि तत्पर भएर मात्र यो महामारी नियन्त्रण हुने होइन ।

जनताको सावधानी, सतर्कता र स्वास्थ्यका निर्देशनलाई अनुशरण गरेर मात्र यसबाट जोगिन सकिन्छ भन्ने शिक्षा बुझ्न र जीवनव्यवहारमा लागु गर्न जरुरी छ । राजा र रंक, अमिर र गरीब केही नभनी, शक्तिशाली पद वा पदविहीन केही नभनी हरेकलाई खरानी बनाएर आफ्नो अहम् र महत्वकांक्षाको नगरा बजाइरहेको कोरोना भाइरसले सर्वत्र साम्राज्य फैलाइरहेको यो बेलामा पनि नेपालका सत्तासीन र प्रतिपक्षका दलहरु कुर्सीको तानातान, अलमलाहट, द्विविधा र आपसी खिचातानीमा अल्झिरहेका छन् । यदुवंशी द्वेष, द्वन्द्व र वैमनश्य झैं यतिबेला नेपालका कम्युनिष्टभित्र झैं–झगडा, अन्तर कलह र अन्तरद्वन्द्वको आगो सल्केको छ । अरुको घर जलेको ताप्नेहरुको कुनै कमी छैन, आफ्नै घर जलाउनेहरुको संख्या पनि ठूलो छ नेपालमा तर सिंगै नेपाल र नेपालीलाई सुरक्षित राख्ने सम्बन्धमा बहस र छलफल हुन सकेको छैन । नेपाली कांग्रेस र अन्य दलहरुले पनि अरुको घर जलेको आगो ताप्दै हिँड्ने होइन यो बेला । समस्त नेपाली एकताबद्ध बनेर हाम्रा उपलब्ध साधनस्रोतलाई समुचित परिचालन गर्दै हाम्रो स्वास्थ्य सेवालाई थप सुदृढ र परिणाममुखी बनाउने हो, तर दोष अर्काको थाप्लोमा हालेर आफू चोखिने सबैको नियत देखिन्छ । वक्तव्य जारी गरेर र पत्रकार सम्मेलन गरेर अहिलेको विषम परिस्थितिमा राजनीतिक दल, नागरिक समाज र सत्तासीनहरुको दायित्व पुरा हुँदैन । जुन देशमा जनता सजग छन्, ती–ती ठाउँमा कोरोना महामारीको प्रकोप कम छ र कम हुँदै गएको छ । कोरोना भाइरसको राष्ट्रियता छैन, रंग छैन, जात छैन, धर्म छैन र यसको पार्टी पनि छैन ।

धेरै लालबुझक्कडले भने झैं यो राजनीतिक वा आर्थिक स्वार्थका लागि गरिएको प्रोपोगान्डा होइन । हरेक मानवीय संकट, चाडपर्व र अवसरलाई पुँजीकृत गर्दै नाफा कमाउने पुँजीपतिहरुको ध्याउन्न त हुन्छ नै, तर यो पूर्णरुपमा हौवा मात्र होइन भन्ने कुरा सिद्ध गर्न हजार प्रमाणहरु दिन सकिन्छ । तसर्थ, गालीगलौज बन्द गरेर एफएचडी अर्थात् अनुहार रक्षा गर्ने (मुख, नाक र आँखा), हात सफा गर्ने ( साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने) र भौतिक तथा सामाजिक दूरी कायम गर्ने तीन वटा मूलमन्त्रलाई आत्मसात गर्न जरुरी छ । आफ्नो जीवनको रक्षा आफैंले गर्ने हो, सरकार र अन्य पक्ष त सहयोगी मात्र हुन् भन्ने सच्चाइलाई बुझ्न जरुरी छ । कोरोना महामारीविरुद्ध हरेक नागरिकले लड्ने हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here