पत्रकारिता सकारात्मक होस

२० बैशाख २०७८, सोमबार मा प्रकाशित

आज मे महिनाको ३ तारिख । सन् १९९३ मा संयुक्त राष्ट्र संघीय महासभाले आजको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन अनुमोदन गरेको थियो । त्यही दिनदेखि आजको दिन प्रेस जगतको स्वतन्त्रता, आचारसंहिता, मापदण्ड र महत्वका विषयमा छलफल, बहस गर्ने गरिएको छ ।
सञ्चारकर्मको दौरानमा जोखिममा परेका, जीवन गुमाएका र प्रेस जगतको गौरव रक्षाका लागि योगदान दिएकाहरूप्रति सम्मान प्रकट गरिन्छ । प्रेस स्वतन्त्रताले नागरिकको सूचना प्राप्त गर्ने, सुसूचित हुने र कर्तव्य अनि अधिकारप्रति जागरूक हुने अवसर प्रदान गर्दछ । त्यसैले सञ्चार जगतलाई राज्यको चौथा अङ्गका रूपमा स्वीकार गरिएको छ । यद्यपि हामीकहाँ अझै पनि प्रेस जगत पूर्ण स्वतन्त्र छैन र सञ्चार कर्म पनि व्यावसायिक निष्ठा र धर्म अनुरूप भइरहेको छैन । प्रेस जगतको सुन्दर पक्ष वा विशेषतः भनेकै निष्पक्षता, तटस्थमा र सत्य–निष्ठाको समाज सेवा हो । यसकै आधारमा गरिने पत्रकारिता वा सञ्चार कर्मले नागरिकलाई बलियो बनाउँछ । सरकारलाई पनि बिधिको बाटोमा हिँड्न बाध्य बनाउँछ । ‘वाचन डग’ भनिने सञ्चारकर्मी कुनै समूह, झुण्ड, दल वा वादको पछि लाग्यो भने स्वतन्त्र प्रेसको अस्तित्वमाथि आघात पुग्छ ।
आज पनि कतिपय देशहरूमा प्रेस स्वतन्त्र छैनन् । सञ्चारकर्मीहरूले स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गर्न पाएका छैनन् । समाचारमाथि सेन्सरसिप लागेको छ, समाचार लेखेकै कारणले दण्डित हुनु परेको छ, आक्रमण गरिएको छ त कतै हत्यासम्मको जघन्य अपराध भएको छ । प्रेस जगतको स्वतन्त्रतामा नै नागरिक अधिकार सुरक्षित हुन्छन् र नागरिकले संविधान प्रदत्त अधिकार उपयोग गर्ने क्षमता राख्छन् । सूचना प्राप्त गर्ने हरेक नागरिकको अधिकारको प्रत्याभूति गर्दै कानूनी राज्यको गरिमालाई जीवित राख्न पनि निष्ठावान र व्यावसायिक पत्रकारिताको महत्वपूर्ण भूमिका रहन्छ । वर्तमान संविधानले प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । तर, त्यसको पूर्ण उपयोग भने हुन सकेको छैन । जबसम्म पत्रकारिता समाजसेवाका रूपमा, तटस्थमा, निष्पक्षता र उत्तरदायीपूर्ण हुन सक्दैन तबसम्म यसले व्यावसायिक आकार ग्रहण गर्न सक्दैन । सोही, सत्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न ज्यानको बाजी लगाउने पत्रकारिता यसकारण पनि आजको आवश्यकता भएको छ ।
प्रजातन्त्र प्राप्तिको लडाइँमा सञ्चारकर्मको माध्यमबाट कठोर संघर्ष गरेका अग्रजहरूप्रति नमन गर्नु पर्ने आजको दिनमा प्रेस जगतलाई राजनीतिक अखडा बनाउने प्रयत्नलाई निरूत्साहित गर्न जरुरी छ । समाचार र सूचना प्राप्त गर्नु प्रत्येकको अधिकार हो भने स्वतन्त्र प्रेसको अस्तित्व र मान्यजनबाट स्थापित गर्नु पत्रकारिता जगतको कर्तव्य पनि हो आजको यो दिनमा पत्रकारिताको धर्म, मूल्य र मान्यजनको रक्षा गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने दिवंगत तथा जीवित सबै अग्रजहरू प्रति सम्मान गर्दै सकारात्मक पत्रकारिताको अभ्यास गर्न हामी सबैलाई ऊर्जा प्राप्त होस् शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here