राष्ट्रपतिज्यू निर्वाचन होइन, अक्सिजन चाहियो

0
970

लक्ष्मीप्रसाद उप्रेती

शुक्रबार मध्यरातबाट पुस ५ फेरि फर्काइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले झण्डै २ बजेको समयमा संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । यसअघि गएको पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् । र, २०७८ सालको बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरिन् । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले अन्तिम फैसला सुनाउदै संसद विघटन गर्ने सरकारको निर्णय फागुन ११ गते बदर गर्यो । अनि प्रतिनिधिसभा पुनःस्थापना भयो । तर, २०७८ बैशाख ७ गते मध्यरातमा तिनै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटनको घाषणा गरेर प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसीर ३ गते गरी दुई चरणमा गर्न मिति समेत तोकिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी हुन् । अनि २०७८ सालको जेठ ७ गतेको मध्यरातबाट २०७७ सालको पुस ५ गते फेरि फर्काइएको छ वा अब मुलुक ५ पुसकै अवस्थामा फर्किएको छ ।

 

पुस ५मा दिउँसो संसद् भंग गरिएको थियो । यसपटक भने मध्यरातमा भयो । मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्यो । मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरुलाई साँझ सात बजे नै बोलाइएको भए पनि राष्ट्रपति कार्यालयको वक्तव्य कुर्दा मध्यरात भएको थियो । निर्णय गर्दा रातको १ बजेको समाचार प्रकाशन र प्रशारण भएका छन् । नेपालको संविधान २०७२ को धारा ७६(७) मा भनिएको छ, उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ । राष्ट्रपतिले पनि त्यही गरिन् । अहिले मुलुक कोभिड १९ का कारण थला परेको छ । महामारी नियन्त्रण र रोकथामका लागि भन्दैं सरकारले निषेधाज्ञा जारी गर्दा जनजीवन नै ठप्प मात्रै छैन, धेरैको रोजगारी समेत गुमेको अवस्था छ । यस्तो अवस्थामा न सरकार, सत्ताधारी पार्टी न प्रमुख प्रतिपक्षी दल र अन्य प्रतिपक्ष दलहरु नै नेपाली जनताको जीउ बचाउनतर्फ केन्द्रित छन् । यस्तो वेला कोभिड–१९का कारण अस्पतालमा जीवनमरणसँग पौठेजोरी खेलिरहेका नेपाली जनताको आवाजका लागि र उनीहरुको समस्या सम्बोधन सहजरुपमा कसरी अक्सिजन, भेन्टिलेटर, आइसीयू र अस्पतालमा वेड उपलब्ध गराउनेतर्फ संसद् सञ्चालनमा कसैको ध्यान छैन । बरु विश्वासको मत लिएर पुनःकुर्सीमा पुग्न विशेष अधिवेशन डाकिन्छ ।

 

मुलुक कोभिड १९ को महामारीले आक्रान्त बनिरहेका बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीले २७ वैशाखमा विश्वासको मत लिने प्रयोजनका निम्ति विशेष अधिवेशन बोलाउने सिफारिश गरे । राष्ट्रपतिले पनि बोलाइदिइन् । हे मेरो देशको सरकार कम से कम अहिले सत्ता र कुर्सीका लागि लड्न छाडेर कोभिडको महामारीबाट जनतालाई बचाउँनतर्फ लाग्नु पर्ने होइन ? अहिले देश महामारीले थलिएका बखत यो देशका प्रधानमन्त्री खड्गप्रसाद ओली प्रतिनिधिसभा विघटनदेखि विश्वासको मत लिने भन्दै आफूले गरेका सवै कदम नेपाली जनताको हितमा छन् भनेर लामो फेरिस्ता सुनाउदैं मुसुमुसु हास्दैं रमाउँदै छन् । अझ भन्ने हो भने अहिले यो देशका आफूलाई ठूला भन्ने राजनीतिक दलहरु सत्ताको खेलमा लागिरहेका छन् । प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई प्रधानमन्त्रीको कुर्सी कसरी जोगाउँ भन्ने चिन्ता छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा त्यो कुर्सीमा कसरी पुगौं भन्ने ध्याउन्नमा छन् । वा, वर्तमान र पूर्व दुवैजना प्रधानमन्त्रीको ध्यान कुर्सीमा कस्ले कब्जा जमाउन सकिन्छ भन्नेमा मात्र केन्द्रित छ भन्दा अत्युक्ति हुँदैन् । अन्य दलका नेताहरु आफ्नो भागमा कुन मन्त्रालय पर्ने हो भने चिन्ता र पर्खाइमा छन् ।

 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १ सय ४९ सांसदहरुको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी गरिरहँदा, प्रधानमन्त्री खड्गप्रसाद ओलीले पनि आफूलाई १ सय ५३ सांसदको समर्थन रहेको दाबी गरे । दुवै जनाबाट प्रधानमन्त्रीको कुर्सीमा बिराजमान हुन र सत्ताको बागडोर आफैले सम्हाल्न पाउने दावी भइरहँदा कोभिड १९ को संक्रमणका कारण कोभिड–१९का बिरामी अस्पतालमा अक्सिजन नपाएर छट्पटाउँदैं बाध्य भएर मृत्युवरण गरिरहेका थिए । त्यतिमात्र होइन मरेर पनि उनीहरुले सुख पाएका छैनन् । दाहसंस्कार गर्न समेत उनीहरुका परिवारलाई आर्थिक समस्या छ । कतिले अस्पतालमा उपचारका क्रममा लागेको खर्च तिर्न नसकेर शव निकाल्न पाएका छैनन् । त्यस्तो परिस्थितिमा यो देशको राष्ट्रप्रमुख, प्रधानमन्त्री, सरकार, ्रमुख प्रतिपक्ष दल, अन्य राजनीतिक दलका नेताहरुलाई प्रश्न गर्न मन लाग्छ के तिमीहरुको हृदय ढुङ्गा भन्दा पनि साह्रो र कठोर छ ? अलिकति पनि मानवीय भाव छैन ? कठैवरा तिमीहरुको मन ! कम से कम राष्ट्रपतिले अहिले सरकार र अन्य दलहरुलाई अहिलेको अवस्था सरकार र सत्ताका लागि होइन जनताको जीवन बचाउनेतर्फ हो र त्यसतर्फ केन्द्रित हुनुपर्छ भनेर भन्न किन नसकेको होला ? बरु राष्ट्रपति दुबैको दाबी नपुगेको निष्कर्षसहित संसद विघटन गरेर चुनावको मिति घोषणा गर्छिन् । उनीप्रति पनि दया जागेर आउँछ । सम्माननीय राष्ट्रपतिज्यू, यहाँलाई थाहा नभएको र यहाँका मान्छेले समेत थाह नदिएको एउटा कुरा प्रेषित गर्दैछु । यति कुरा बुझाइदिए पनि पुग्छ वर्तमान अवस्थामा सत्तापक्ष होस् चाहे प्रतिपक्ष तिनका नेता जनताको जीउधन बचाउन केन्द्रित हुनुपर्छ । अहिले सम्वेदनहीन तरिकाले कुर्सी र सत्ताको लडाइँमा घमासान गरी लड्नु हुँदैन । कृपया यो लेख पढेर कम सेकम त्यता लाग्न सबैलाई आग्रह गरिदिनुहोस् ।

 

जनता बाँचे चुनाव गरौँला । फेरि भोट हाल्छन् चुनाव जिताइदिन्छन् ,नेता बनाइदिन्छन् । यहाँ नै पुनः राष्ट्रपति बन्नुहोला । अहिले अक्सिजन नपाएर कोभिडका बिरामी अस्पतालमा छटपटइरहेका छन् । उपचार नपाएरै छटपटउँदै अकालमै मृत्युबरण गर्नुपर्ने अवस्था छ । अस्पतालमा अक्सिजनको अभाव छ, अस्पतालमा वेड, आइसियू, एचडियू, भेन्टिलेटरका लागि गम्भीर विरामीले नै महिनौं महिनादिनसम्म पर्खनुपर्ने अवस्था छ, संक्रमणदर दैनिक बढिरहेको छ, धेरैको रोजगारी गुमेको छ । तर, यस्तो अत्यास लाग्दो परिस्थिति न यो देशको सरकारले देख्यो, न सत्ताधारी पार्टीले नै, न प्रमुख प्रतिपक्षी दलले देख्यो न अन्य दलले । कम से कम यहाँ त यो मुलुकको अभिभावक हो । देशका आम नागरिकलाई अभिभावकविहीन नबनाइदिनुहोस् । यो देशको सरकार, सत्ताधारी पार्टी, प्रमुख प्रतिपक्षी दल र अन्य दललाई भन्दिनुहोस् अहिले सवै संयन्त्र कोभिड–१९ नियन्त्रण र रोकथाममा परिचालन गर्न लाग्नुहोस् । यो मुलुकका जनताले अस्पतालमा वेड, अक्सिजन, आइसीयू, भेन्टिलेटर र उपचारको अभावमा मृत्युवरण गर्न बाध्य पारिनुहँुदैन् । कहीँ कसैको आँखा खुल्छन् कि ? कानमा कसैको बतास लाग्ला कि ? अहिले प्रधानमन्त्रीको ध्यान मध्यावधि निर्वाचनमा छ । अथवा अहिले भइरहेका राजनीतिक गतिविधि संक्रमण नियन्त्रणको मुख्यः चुनौति बनेका छन् भनेर संक्रामक रोग विशेषज्ञहरुले बताइरहँदा त्यसलाई टाउकाको मोल बनाइएको छ । कोभिड–१९ कै कारण वितेको १० दिनमा औसतमा दैनिक २ सय व्यक्तिले ज्यान गुमाउँदैछन् ।

 

नेपालमा कोभिड १९कै कारण गतवर्ष २ जेठमा पहिलो व्यक्तिको मृत्यु भएको थियो । त्यसपछि २०७७ को चैत मसान्तसम्ममा ३ हजार ५८ जनाको ज्यान गयो । २०७८ को बैशाख शुरु भए यता ३७ दिनमा ३ हजारले मृत्युवरण गरिसकेका छन् । महामारी कति भयावह भन्ने कुरा यही सरकारी तथ्याङ्क पर्याप्त छ । दैनिक ८ देखि १० हजार विरामी थपिरहेका छन् । उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था छ । यसकारण राष्ट्रपतिज्यू नेपाली जनताले अहिले मध्यावधि निर्वाचन होइन्, अक्सिजन, भेन्टिलेटर, आइसीयू र अस्पतालमा वेड खोजिरहेका छन् । अन्त्यमा हजुरको जो मर्जी । यो सामाग्री इपेपरमा पनि पढ्न सक्नु हुनेछ । 

https://purwanchaldaily.com/wp-content/uploads/2021/05/11-jestha-fiunal.pdf

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here