युद्धबहादुर बोहोरा,
पाँचथर :

फाल्गुनन्द गाउँपालिका आयुर्वेद शाखा प्रमुख वरिष्ठ कविराज पराजुलीले कोरोना संक्रमितको घरघरमा औषधि पुर्याएका छन् ।
केहि दिनयता पालिका अन्तर्गत वडा नम्बर ५ फाक्तेपका डाँडागाँउ,घुमाउने,कोल्बुङ्ग,मसरे लगायतका टोल र वडा नम्बर ४ चिलिङदेन तथा वडा नम्बर २ इम्बुङमा तीब्र गतिमा कोरोना फैलिएपछि संङ्क्रमित बिरामीका लागि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने औषधि बिरामीको घरमै पुगेर वितरण गरिरहेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए । आयुर्वेद शाखाले चलाएको यस अभियानलाई गाउँपालिका,स्थानीय र बिरामीहरुले समेत प्रशंसा गरेको उनले बताए ।
संक्रमितलाई आवश्यक पर्ने औषधि,भिटामिन स्वास्थ्य परामर्श,योग अभ्यास सहित मनोबल उच्च बढाउन उनीहरुलाई हौसला दिने जस्ता कार्यक्रम लिएर भौगोलिक विकटता र निरन्तर वर्षातका बाबजुद पनि पैदल यात्रा गर्दै पहाडको कठिन बस्तीमा स्थानीय जनप्रतिनिधि सहित घरघरमा पुगेर अधिकृत सातौ तहका वरिष्ठ कविराज पराजुली अहोरात्र खटिराखेका छन् ।

उनी भन्छन् ,’हामी अहिले पालिका बासिन्दालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी सुरक्षित गर्न र संक्रमित विरामीलाई स्वास्थ्य संकटको अवस्थामा ज्यान जोखिमबाट बचाउन प्रयत्नमा लागेका छौं ।’
पालिकाले उपलब्ध गराएको औषधिलाई समस्यामा परेका बिरामीको हातमा पुर्याउन हामी आफ्नो कर्तव्य ठान्दै कोरोना सङ्क्रमणबाट त्रसित बनेका सङ्क्रमितहरुको घरआँगनमा पुग्ने गरेको बताए ।
सङ्क्रमितको घरमै पुगेर भेटघाटका साथै आवश्यक सरसल्लाह एवं सुझाव दिँदा सङ्क्रमितले पनि राहत महसुस गरेको हुँदा काम गर्न उत्साह जागेको उनको भनाइ छ ।
उनीसगैं फाक्तेप आयुर्वेद औषधालयका इन्चार्ज राजकुमार श्रेष्ठ सहितको टोलि पनि घरदैलो कार्यक्रममा सहभागी भएका छन् ।

गत वर्षको पहिलो चरणको कोरोना संङ्क्रमणको प्रभाव बजार क्षेत्रमा बढी थियोे तर यसपटकको दोस्रो लहरको सङ्क्रमण बजार क्षेत्रसँगसँगै ग्रामीण क्षेत्रमा समेत बढी फैलिँदै गएकाले स्थानीय जनप्रतिनिधि सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यक सल्लाह र औषधि दिनका लागि घरगाउँमै पुग्ने गरेको पालिका अध्यक्ष वीर बहादुर कुरुम्वाङले जानकारी दिए । गाउँघरमा कोरोना सङ्क्रमणसँग मिल्ने लक्षण देखिए पनि जनचेतना अभावमा सतर्कता नअपनाएको र छिमेकमा समेत त्रास फैलिने अवस्था आएकाले सङ्क्रमितको घरघरमा पुगेर आवश्क परामर्श दिनु परेको उनको भनाइ छ ।
हालसम्म पालिकामा ६८ महिला र ९३ पुरुष गरि जम्मा एक सय ६१ जनामा कोरोना पोजिटिभ देखिएको छ । जसमध्ये एक जनाको मृत्यु भएको छ भने २५ जना निको भइसकेको पालिकाका सूचना अधिकारी राजेन्द्र भट्टराईले जानकारी गराए ।






























