कन्काईको बाढीले शिवसताक्षी ५ को सिङ्गो बस्ती डुवानको जोखिममा

0
880

विनोद सापकोटा
झापा ।
कन्काई नदीमा आएको बाढीले झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ५ को एउटा सिङ्गो बस्ती डुवानको उच्च जोखिममा परेको छ । सो क्षेत्रका कम्तिमा ५० घर जोखिममा रहेका छन् ।

हात्तीसार दक्षिण को भेलामुनी र बाल कल्याण आधारभूत विद्यालय पूर्वको मानव बस्ती बाढीको कटानका कारण उच्च जोखिममा परेको वडा अध्यक्ष सत्य नारायण राजवंशीले बताए । बाढीबाट बस्ती जोगाउनका लागि निर्माण गरिएको बाँध हिजो रातिदेखि परेको वर्षाका कारण आएको बाढीले कटान गर्न थालेपछि सो वडाको मानवबस्ती जोखिममा परेको वडा अध्यक्ष राजवंशीले जानकारी दिएका छन् ।
वडा अध्यक्ष राजवंशीले भने, ‘बाँधको अग्रभागमा ढुङ्गा सहितको जाली निर्माण गरेर बनाइने पनि भित्री भाग बालुवा भएका कारण त्यस भित्रबाट पानी पसेर जतिसुकै बेला बाँध भत्किन सक्छ ।’ जनताको तटबन्ध कार्यालय गैंडे माइधारले गत वर्ष मात्र बाँध निर्माण गरेको उनले बताएका छन् ।
कटान र डुवानका कारण शिवसताक्षीको रिङरोड, विद्यालय, मठमन्दिर पनि जोखिममा छ । ‘हामीले रेडक्रस, जिल्ला प्रशासन कार्यालय झापा र शिवसताक्षी नगरपालिका सहित सुरक्षाका सबै अंङ्गलाई यहाँको बस्तु स्थितीका बारेमा जानकारी गराएका छौ,’ वडा अध्यक्ष राजबंशीले भने ।
सम्भावित खतराबाट हुन सक्ने स्थानीयवासीको विस्थापन व्यवस्थापनका लागि वडा कार्यपालिकाले आवश्यक तयारी सुरु गरेको अध्यक्ष राजवंशीले बताए । कनकाईको भंगालोको धार पहिले नै परिवर्तन गर्न सक्ने कुनै पनि उपाय सरकारी पक्षसँग छैन । नदीमा पानीको बहाव उच्च भएकाले नदीभित्र पसेर काम गर्न वा स्काभेटर प्रयोग गरेर कटान नियन्त्रणको कुनै उपाय अपनाउन नसकिने वडाअध्यक्ष राजवंशीले बताएका छन् । बाढीले कटान नियन्त्रणका लागि बनाइएको बाँसको पाइलिङ बगाएको छ ।
उता गौरिगञ्ज गाँउपालिकाको वडा नम्बर १ कुन्जीबारी पूर्वको होकलबाडीमा कनकाईको पानी पस्न थालेको छ । केहि घर डुवानमा परेको वडा अध्यक्ष कार्तिकलाल राजबंशीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here