नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै, सहमतिको दस्ताबेज सार्वजनिक गर्ने तयारी

0
730

काठमाडौं ।

नेकपा एमालेको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि बस्दै छ । १० दिनदेखि लगातार छलफलमा रहेको नेकपा एमालेको कार्यदलले विवाद समाधानका लागि सहमति नजिक पुगेको दावी गरेको छ ।

कार्यदलले आजै विवाद समाधानको दस्ताबेजमा हस्ताक्षर गरेर सार्वजनिक गर्ने पनि जनाएको छ । पार्टी विभाजनको सम्भावित संकट टार्न एमालेका दोस्रो तहका नेताहरू सम्मिलित १० सदस्यीय कार्यदलले माओवादी केन्द्रसँग एकता हुनुअघिका संरचना क्रियाशील गराउनेलगायतका विषयमा सहमतिको मस्यौदा तयार गरेको जनाएको छ ।

वरिष्ठ नेता माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रयोग भएको हस्ताक्षर फिर्ता नलिने अडान राखेपछि त्यसबारे कस्तो भाषामा सहमति खोज्ने भन्ने विषय भने टुंगिन बाँकी छ ।

त्यसैगरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको शक्ति बाँडफाँटको विषय टुंगिएपछि मात्र सहमतिले मूर्त रुप पाउने कार्यदलका सदस्यहरुले जनाएका छन् ।

हिजोको बैठकमा पार्टीका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थाबाट सक्रिय बनाउने भन्नेमा सहमति जुटेको छ । यो संरचना क्रियाशील गराउन ओली पक्षले आनाकानी गरिरहेको थियो ।

यस्तै, माओवादीसँगको एकतापूर्वको २ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्न दुवै पक्ष तयार भएका छन् । २ सय ४१ सदस्यीय केन्द्रीय कमिटी ब्युँताउने ओली पक्षको प्रस्तावमा यसअघि झलनाथ खनाल–नेपाल पक्षले असहमति राख्दै आएको थियो ।

प्रतिनिधिसभा विघटन र त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाका विषयमा भने कस्तो धारणा राख्ने भन्ने विषयमा लामो गृहकार्य र छलफलबाट पनि कार्यदल तहमा सहमति जुट्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here