काठमाण्डाै,
घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।
आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले खेलको २२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उपाधिको खडेरीसमेत तोडेका छन् । ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए। जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ।
क्लब फुटबलबाट निकै सफलता हात पारे पनि देशलाई कुनै उपाधि जिताउन नसकेको भन्दै मेस्सीले आलोचना खेप्दै आएका थिए । अर्जेन्टिनाले २८ वर्षपछि ठूलो प्रतियोगितामा उपाधि जित्न सफल भयो ।
अर्जेन्टिनाले यस अघि सन १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो। पछिल्लो पटक २०१५ र २०१६ को कोपा अमेरिकामा फाइनलमा पुगेको अर्जेन्टिना उपविजेता बनेको थियो।
यो जितपछि अर्जेंटिनाले अहिलेसम्म १५ पटक कोपा अमेरिकाको उपाधि जितेकाे छ। उसले धेरै पटक कोपाको उपाधि जित्ने उरुग्वेसँग बराबरी गरेको छ। अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टीमा हराएर फाइनल पुगेको थियो भने ब्राजिलले पेरुलाई हराएको थियो ।