कनकाईको वडास्तरीय फुटवलको उद्घाटन खेलमा वडा नं.७ को विजय सुरुवात

0
459

 

कनकाई ,  बडा दशैंको अवसर पारेर झापाको कनकाईमा संचालन भएको वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको उद्घाटन खेलमा कनकाई ७ ले विजय सुरुवात गरेको छ ।

कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा आज भएको उद्घाटन खेलमा वडा नं.९ लाई १—० को अन्तरले पछि पार्दै वडा नं.७ ले विजय सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक रुपमा रहेको खेलको ४३ औं मिनटमा विजयी टिमका सनम मर्डीले गरेको लामो प्रहार गोलमा परिणत भएपछि टिमले अग्रता पाएको थियो । खेलको म्यान अफ द म्याच विजयी टिमका गोल कर्ता सनम मर्डी घोषित भए ।

प्रतियोगिताको दोस्रो दिन (सोमबार) कनकाईको वडा नं.४ र वडा नं.२ विचमा प्रतिस्पर्धा हुने खेल आयोजक समितिका संयोजक गोविन्द उप्रेतीले बताए । प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार नगद साथै प्रमाण पत्र र ट्रफी रहेको बताइएको छ । यसका साथै सेमी फाइनलमा पुगेर पराजीत हुने दुईवटा टिमलाई समेत सान्त्वना स्वरुप ५÷५ हजार नगद प्रदान गरिने जनाइएको छ ।

फुटबलका पारखीहरुलाई भरपुर मनोरञ्जन दिने उद्येश्य राखेर कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना गरेको हो । असोज २५ गते समापन हुने प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगर क्षेत्रका खेलाडीहरु विचमा स्वस्थ प्रतिस्पर्धा गराई कनकाई नगरपालिकाको उत्कृष्ट फुटबल टिम उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् । खेलाडीहरुलाई व्यवसायीक खेल तर्फ हौसला प्रदान गर्दै नियमित प्रशिक्षणको समेत व्यवस्था गर्ने योजना रहेको नगर प्रमुख पोखरेलले बताए ।

कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र लम्सालको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, नगरपालिकाका प्रवक्ता एवम् वडा नं.४ का वडाअध्यक्ष गोविन्द पौडेल, वडा नंं.८ का वडाअध्यक्ष प्रेम कटुवाल, कार्यपालिका सदस्य सुनिता सिग्देल खरेल, वडासदस्यहरु रोशन सुवेदी, प्रकाश शिवाकोटी, देवीमाया दहाल, गिता चौहान, नेकपा एमाले कनकाईका प्रवक्ता कृष्णप्रसाद खतिवडा, राप्रपाका क्षेत्रीय अध्यक्ष नारायण पोखरेल, कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडा लगायतको उपस्थिती रहेको उद्घाटन समारोहमा नेपाली काँग्रेस कनकाई नगरसभापति दुर्गा प्रसाईँले शुभकामना मन्तव्य राखेका थिए ।

खेल संयोजक गोविन्द उप्रेतीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको औपचारीक कार्यक्रमको संचालन आयोजक समितिका सदस्य जविन तिम्सिनाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here