ब्लक पुलिसिङ अभियान

0
488

purwanchal
पूर्वको औद्योगिक तथा व्यापारिक नगरी इटहरीमा नेपाल प्रहरीले ‘ब्लक पुलिसिङ’ शुरु गरेको छ । लागु पदार्थ दुव्र्यसनी नियन्त्रण तथा आपराधिक गतिविधीमा संलग्नहरुलाई तत्काल सुधारको बाटो तर्फ लैजान उक्त ‘ब्लक पुलिसिङ’ सेवा शुरु गरिएको बताइएको छ । र, यस कार्यलाई नेपालको इतिहासमा पहिलो पटक प्रहरीहरुको साहसिक कार्य भनिएको छ । यो कार्य चिरकालसम्म लागु हुन सक्यो भने अपराध नियन्त्रणका लागि यो साहसिक र महत्वपूर्ण कार्य हुनेछ भन्ने आशा गर्नु अन्यथा नहोला ।
शुक्रबार इटहरीमा पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआइजी नवराज सिलवालले ‘ब्लक पुलिसिङ’ शुरु भएको घोषणा गर्दै–‘नेपाल प्रहरीको अभियानमा इटहरीमा भर्खरै सरुवा भएर आएका डिएसपी विनोद शर्माको तयारीमा शुरु गरिएको यस्तो अभियानलाई सबै पक्षको सक्रिय सहयोग रहनु पर्ने बताए । भव्य समारोह बीच सम्पन्न अभियानको सो अवसरमा– उपस्थित सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि तथा प्रमुख, सञ्चारकर्मी, संघ संस्थाका प्रतिनिधिहरुले प्रहरीले थालेको यस अभियानलाई साथ दिने प्रतिबद्धता जनाएका छन् ।
इटहरी तथा वरपरको क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने र आपराधिक गतिविधि हुन नदिने उद्देश्यले प्रहरीले सय घर बराबर दुई जना प्रहरीलाई ड्युटीमा राख्ने भएको छ । इटहरी अहिले ठूलो क्षेत्रमा फैलिसकेकोले सबै क्षेत्रलाई ब्लक–ब्लकमा छुट्याएर सेवा सुविधा दिन ‘ब्लक पुलिसिङ’ शुरु गरिएको हो । प्रत्येक घरको तथ्याङ्क राखेर टोल–टोलमा प्रहरीले काम गर्न नसक्ने, बृद्धबृद्धालाई सहयोग गर्ने, बुढा–बुढी, अशक्त मात्र भएको घरमा गएर सघाइ दिने, रित्तो घरको पनि रेखदेख गर्ने जस्ता काम यस अभियान अन्तरर्गत पर्दछन् ।
इटहरीमा थालिएको यो अभियान अहिलेलाई प्रयोग कै रुपमा राखौं । यस अभियानले सेवा राम्ररी दिन सकोस् । त्यसो त इटहरीमा प्रहरीले अहिले सबै क्षेत्रमा कडा सेवा दिएर स्थानीय व्यापारी वर्गले पनि आफूहरु सुरक्षित भइरहेको बताइएका छन् । शान्ति सुरक्षाको अवस्था पहिले भन्दा अहिले सुध्रिएको छ भनिन्छ । यो अभियान सफल भयो भने निश्चित छ– प्रशंसानीय मात्र नभएर उदाहरणीय पनि हुनेछ । र, प्रहरीको आदर्श वाक्य ‘सत्य सेवा सुरक्षणम्’– साकार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here