
एसईई उत्तीर्ण गरेकाहरुलाई +२ मा र +२ उत्तीर्ण गर्नेहरुलाई स्नातकमा कुन विषय लिएर पढ्ने भन्ने विषयले औधी पिरोल्छ । यो कुराको निचोड निकाल्न विद्यार्थीलाई सहज भने छँदैछैन । परिवार, समाज र आफन्तबाट थरिथरिका सल्लाह मिल्छन् । तर, कसैले विद्यार्थीको रुची केमा छ भनी सोध्ने झिनो चासो देखाउँदैनन् ।
समाजमा नजिर यस्तो स्थापित छ– ‘जेहेन्दारले प्राविधिक विषय पढ्नैपर्छ भने कम प्रतिशत ल्याउनेहरुमा बढि लगानी गर्नु बालुवामा पानी खन्याउनु सरह हुन्छ ।’ नतिजा केन्द्रित शैक्षिक प्रणालीले आज समाज र देशलाई यसरी सताएको छ कि उनीहरु आफ्ना सन्ततिबाट ९० प्रतिशत नतिजाको असान्दर्भिक अपेक्षा राख्छन् । अभिभावकहरुबीच नै आफ्ना छोराछोरीलाई डाक्टर र इञ्जिनियर नै बनाउने होडबाजी चलेको छ । चेपुवामा परेका छन् त केवल विद्यार्थी र तिनीहरुको रुची र चाहना ।
साँच्चै तपाईं अभिभावकहरु आफ्ना नानी–बाबुहरुसँग कतिको नजिक हुनुहुन्छ ? हजुरहरुलाई आफ्ना छोराछोरीको ‘स्टूोङ पोइन्ट’ थाह छ ? ठूलो भएर के बन्छस् बाबु ? भनेर सोध्ने आउने उत्तरहरुलाई कतिको महत्व दिनुहुन्छ ? करियर छनौटको सन्दर्भमा तपाईं आफ्ना अधुरा सपना जबरजस्ती उसमा लाद्नु हुन्छ कि उसको छनौटको सम्मान गर्नुहुन्छ ? यी प्रश्नहरु समस्त अभिभावकहरुमा छोड्दै छु ।
ए प्लस र ९० प्रतिशत नतिजाले सफल अभिभावकत्व दर्शाउँछ भन्ने कुरामा म विश्वास गर्दिनँ । अझ हाम्रो जस्तो देश जहाँ घोकेर र घोकाएर मात्र शैक्षिक गतिविधिहरु चलायमान बनाइन्छन् । जहाँ केवल सैद्धान्तिक ज्ञानले मात्र स्थान पाउँछ र विद्यार्थीहरुमा व्यवहारिक ज्ञानको कमी रहेको छ, त्यस ठाउँबाट उत्पादन हुने भनेको केवल निरस फल मात्र हो । परीक्षालाई आइरन गेटको उपमा दिएपछि विद्यार्थीमा भय सिर्जना हुनु स्वभाविक हो । पढाएको कुरालाई व्यवहारिकता प्रदान गर्न कुनै मापदण्ड बनाइएको हुँदैन भने घोकेर पानी बनाउनु सिवाय कुनै विकल्प बाँकी हँुदैन उनीहरुमा ।
प्रश्न फेरि अभिभावकतर्फै तेर्साउन मन लाग्यो । पढेको कुरालाई जीवनमा उतार्न आफ्नो बालबालिकालाई कतिको हौसला प्रदान गर्नुहुन्छ ? ‘दाइजो प्रथा गलत हो । यो एउटा सामाजिक समस्या हो ।’ भनेर पढेको छोरोले ‘बाबा, म पछि दाइजो लिदिनँ ।’ भन्दा तपाईंको प्रतिक्रियाको आशय कस्तो हुन्छ– ‘तैले दिनु÷नदिनु भनिरहनु पर्छ ? उनीहरुले आफैँ दिइहाल्छन् नि ।’ कि ‘स्याबास् ! मैले चाहेको पनि त्यही हो ।’ भन्नुहुन्छ ।
हरेक विधा आफैंमा कमजोर हुँदैन । समाज, परिवार र वरपरकाको कमजोर मानसिकताले नै कुनै विधालाई महत्वपूर्ण र कुनैलाई कमजोर तुल्याई दिएको छ । लिखित परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण गर्नेहरु डाक्टर, इञ्जिनियर, नर्स जस्ता प्रयोगात्मक र प्राविधिक विषयहरु नै लिनुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना पनि यही समाजले गरेको छ जसले गर्दा आज विद्यार्थीमा मानसिक तनाव उत्पन्न हुने गरेको छ ।
मानसिक चापलाई रोगको दृष्टिकोणबाट नहेरिदिँदा करियर छनौटमा अभिभावकबाटै असहयोगका कारण किशोर–किशोरीहरुमा मानसिक रोग चुलिँदो छ । एक अध्ययनका अनुसार, आफ्ना अभिभावकबाट सहयोग र माया मिल्ने विद्यार्थीहरुमा करियर खोज गर्ने र क्षमता अनुकूल करियर चयनको निर्णय लिन उनीहरुमा थप आत्मबल जोडिने देखाएको छ ।
करियर छनौट कै सन्दर्भमा आफ्ना अभिभावकबाट विद्यार्थीहरुमा कतिसम्म हस्तक्षेप हुन्छ भन्ने कुरा बेलायतमा गरिएको एक सर्वेक्षणबाट पनि जान्न सकिन्छ । जहाँ तीन हजारमध्ये पचास प्रतिशतभन्दा बाढिले आफ्नो इच्छा विपरीत अभिभावकले करियर छनौट गरिदिएको बताएका थिए भने ६९ प्रतिशतले विश्वविद्यालय छनौट गर्न समेत अभिभावक बाधक बनिदिएको बताएका थिए ।
यसो भनिरहँदा अभिभावकले आफ्ना छोराछोरीको कुभलो चाहन्छन् भन्न खोजिएको होइन । तर, उनीहरुको बलियो पक्ष नबुझि अत्यधिक अभिभावकीय नियन्त्रण कायम गरेर आफ्ना उद्देश्य उनीहरु मार्फत पूर्ति गराउन खोज्नु चाहिँ आफैंले आफ्नो खुट्टामा बञ्चरो बर्षाउनु सरह हो । यसले केवल अध्येताको निर्णय लिन सक्ने क्षमतामा आँचमात्र पु¥याउँदैन मानसिक रुपमा पनि कमजोर बनाउँछ । कला, खेलकुद, साहित्य, नाटक आदिका क्षेत्रलाई कार्यक्षेत्र बनाउन चाहने किशोर–किशोरीहरुलाई अभिभावकबाट अस्वीकृति मिल्ने डर रहँदै आएको छ । यदि आमाबाबुले बालबालिकाको करियरका लागि आफ्नो निश्चित अपेक्षा नरहेको कुरा प्रस्ट्याउन सके, उसमा आफ्नो पेशा छनौट गर्न विविध विषयमा खोज गरी निर्णय लिनसक्ने क्षमताको पनि अभिवृद्धि हुन्छ ।
गलत करियर छनौटका परिणाम
आफ्नो इच्छा विपरीत कसैको दबाव र डरले निक्र्यौल गरिएको बिषय पढ्नाले विद्यार्थीको पढ्ने ऊर्जा स्वतः कमजोर हुँदै जान्छ । अल्छिपना, आलश्यता, मनोरोग र आत्महत्या पनि गलत करियर छनौटबाट आइपर्ने समस्याहरु हुन् । प्लस टु र स्नातक अध्ययनरत् विद्यार्थीहरुमा अराजकता हावी हुनु र उनीहरु अभिभावक र शिक्षकको नियन्त्रणभन्दा बाहिर उम्किन बल गर्नु पनि यसैको कारण मान्न सकिन्छ । नियन्त्रण कायम गर्न आफन्त र छरछिमेकको उदाहरण प्रस्तुत गर्दै विद्यार्थीको स्वतन्त्रतामा हस्तक्षेप गर्नाले बीचमै पढाई छोड्ने किशोर–किशोरीहरुको जमात पनि राम्रै भेटिन्छ हामी कहाँ । सिर्जनशीलतामा ह्रास आउने मात्र नभई पारिवारिक बोझको रुपमा समेत विकास हुने सम्भावना रहेकोले विद्यार्थीको रुचीको क्षेत्रमै उसलाई फूल्न र फक्रिन सहयोग गर्नु अति उत्तम हुन्छ ।
अभिभावको भूमिका
कुनै निश्चित विषय अध्ययन गर्न अनावश्यक दबाव दिनुभन्दा आफ्ना सन्तानलाई करियर छनौट गर्न धेरैभन्दा धेरै विकल्प ऊ समक्ष प्रस्तुत गर्नु उचित हुन्छ । उसको रुचीका बिषयहरुसँग सम्बन्धित कुराहरुको जानकारी लिन र त्यस क्षेत्रमा अपरिहार्य मानिने सिप आर्जन गर्न प्रेरित गर्नु पनि अभिभावकीय दायित्व रहन्छ । आफ्नो भूमिका पहिल्याएर करियर छनौटका क्रममा सहजकर्ताको रुपमा प्रस्तुत भइ दिने हो भने हरेक बालबालिकाले स्वाधिनताका साथ विषय चयन गरी युवावस्थामा पाइला अघि बढाउन ऊर्जा मिल्दछ ।
बालबालिकासँग दैनिक संवाद गर्ने र उनीहरुको कुरालाई सुनेर मनन गर्न सक्ने असल श्रोता भई दिनाले उनीहरु भयरहित वातावरणमा आफ्ना कुरा स्पष्ट राख्न सक्छन् । यस्तो बानीको विकास बच्चाको बाल्यवस्थादेखि नै शुरु गर्नु पर्दछ । स–साना कुराहरु जस्तैः ऊ के कुरामा बढी उत्सुक छ ? उसले सोधीरहने प्रश्नहरु कस्तो प्रकृतिका छन् ? उसलाई सहज लाग्ने बिषय कुन हो ? आदिबारे जान्न सकिए उसको बलियो र कमजोर पक्ष पहिल्याउन कठिनाइ हुँदैन ।
तसर्थ, आफ्ना सन्तानको करियर छनौटको काम बाल्यवस्थादेखि नै शुरु गर्नुपर्छ । अध्ययनशीलता र सिर्जनशीलता पहिचान गरी विद्यार्थीको भावना अनुरुपको क्षेत्रमा बेलैमा निपुण बनाउन लागीपरे एकातिर अध्येतामा अनावश्यक भय र चिन्ताले स्थान पाउँदैन भने अर्कातर्फ अभिभावकमा पनि यो बिषय टाउको दुखाईको कारक बन्न पाउँदैन । बाल्यावस्थादेखि नै यसतर्फ ध्यान दिएमा कम समयमा लिइने हतारको निर्णयको भागेदार बन्नु पर्दैन ।
कुनै विधा आफैंमा सही वा गलत हुन्छ भन्ने मनस्थितिबाट बाहिर निस्कनु जरुरी छ । छोराछोरीको करियर छनौटका दौरान सरिक मात्र हुने तर नियन्त्रण नगर्ने, सल्लाह दिने तर निर्णय गर्ने स्वतन्त्रता उनीहरुमै छोडी दिने र अन्त्यमा समर्थन गर्ने तर हावी नहुने प्रवृत्तिको विकास गर्न आवश्यक छ । बस् समस्त आमाबुवाहरुले विद्यार्थीको छनौटको सम्मान गरी सहजकर्ताको भूमिका निर्वाह गरी दिउन्, बाँकी काम त उनीहरु आफैं गर्ने छन् ।


























