अर्जुनधारामा ‘प्ररोका’का योजनाहरु फागुन १ देखि सुरु हुने

0
387

अर्जुनधारा ।

चालु आर्थिक वर्ष ०७८/०७९को प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत अर्जुनधारा नगरपालिकामा सञ्चालन हुने योजनाहरु यही फागुन १ गते देखि सुरु हुने भएको छ ।

उक्त कार्यक्रमका लागि छनौट भएका बेरोजगारहरुलाई लक्षित गरि नगरपालिकाद्वारा शुक्रबार आयोजित अभिमुखिकरण कार्यक्रममा नगरपालिकाकी रोजगार संयोजक प्रतिज्ञा थापा मगरले सो कुरा बताएकी हुन् ।

संयोजक मगरका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत पैनी मर्मत, साना बाँध तथा स्पर तारजाली मर्मत, खानेपानी पाइप विस्तार, नाला निर्माण, प्लम्ब निर्माण, बगैंचा निर्माण, रंगरोगन, सरसफाईलगायतका योजनाहरु सञ्चालन हुने बताइएको छ ।

रोजगार संयोजक मगरले कार्यक्रमको विषयवस्तु बारे सहजिकरण गरेको कार्यक्रममा सहभागीहरुलाई प्रधानमन्त्री रोजगारी कार्यक्रमको परिचय, कार्यक्रमको उद्धेश्य, आयोजनाको प्रकार, क्षेत्र, कानूनमा भएका व्यवस्थाहरु, छनौट प्रक्रिया, पालना गर्नुपर्ने आचरण, रोजगार उपभोक्ता सम्बन्धी व्यवस्था र अनुगमनको विषयमा जानकारी गराइएको थियो ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा जेसीजका अध्यक्ष भीमबहादुर कुँवरलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन रोजगार संयोजक मगरले गरेकी थिइन् ।

चालु आर्थिक वर्षमा कार्यक्रममा सहभागिताका लागि दुई सय ८० जनाको निवेदन परेकोमा एक सय छ जना बेरोजगार छनौट भएका छन् । एक जना बेरोजगार बराबर पाँच सय ७७ रुपैयाँ ज्याला तोकिएको उक्त कार्यक्रमको लागि ६१ लाख ३१ हजार विनियोजन भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here