झापा, सत्तागठबन्धन दलको निर्णय विपरीत झापाको कचनकवलमा नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच अघोषित मोर्चाबन्दी भएको छ । ती दलले राप्रपाविरुद्ध मोर्चाबन्दी गर्दै उम्मेदवारीमा तालमेल गरेका छन् । उता दमकमा प्रतिपक्षी दल एमालेबिरुद्ध राप्रपा, कांग्रेस र माओवादी केन्द्रको मोर्चाबन्दी भएको छ ।

कचनकवलको अध्यक्षमा कांग्रेसबाट कालेन्द्रप्रसाद सिंह राजवंशी उम्मेदवार बनेका छन् । उनलाई सघाउन एमालेबाट उम्मेदवार बनेकी दुर्गादेवी नेपालको उम्मेदवारी फिर्ता भएको छ । उपाध्यक्षमा एमालेबाट नवराज भट्टराई उम्मेदवार छन् । उनलाई सघाउन उक्त पदमा कांग्रेसबाट उम्मेदवार बनेकी सेलेतुन खातुनले उम्मेदवारी फिर्ता लिएकी छिन् । अघिल्लो चुनावमा त्यहाँ अध्यक्ष÷उपाध्यक्ष नै राप्रपाले जितेको थियो । राप्रपाबाट अघिल्लोपटक चुनाव जितेका अञ्जरा आलम अध्यक्षमा र निमसरी राजवंशी उपाध्यक्षमा यसपटक पनि उम्मेदवार बनेका छन् । त्यहाँ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, जनमत पार्टीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन् ।
एक्लै मैदानमा उत्रिएको राप्रपाले आफ्नो जित सुनिश्चित भएको दावी गरेको छ भने मोर्चाबन्दी गर्ने दलले आफ्नो प्रतिस्पर्धी नै नभएका कारण सहजै जित हासिल गर्ने बताउँदै आएका छन् । अघिल्लो चुनावमा कचनकवलमा राप्रपाका आलमले ५८१६ मत प्राप्त गरेका थिए । कांग्रेसका उम्मेदवारले ५३५३ र एमालेका उम्मेदवारले ३९७२ मत प्राप्त गरेका थिए । यसपटक कचनकवलमा ३०२११ मतदाता रहेका छन् । उता एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा सो पार्टीका उम्मेदवारबिरुद्ध मोर्चाबन्दी गरेका दलले प्रमुखमा राप्रपाका राम थापालाई उम्मेदवार बनाएका छन् । उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई उम्मेदवार बनेकी छिन् ।
उनीहरुलाई वडातहको भागभण्डामा सहमति गरेर माओवादी केन्द्रले समेत सघाउने भएको छ । अघिल्लो निर्वाचनमा एमालेबाट प्रमुखमा जितेका रोमनाथ ओलीले १०८०६ मत ल्याएका थिए । त्यहाँ राप्रपाका उम्मेदवार थापाले ७६५५, माओवादी केन्द्र उम्मेदवार गगन पुरीले ६८९८, कांग्रेसका उम्मेदवार ढुण्डीराज भण्डारीले ५५३९ मत प्राप्त गरेका थिए । यही मतलाई आफ्नो पार्टीको मतको रुपमा ती पार्टीले गणना गर्दै आएका छन् । यसपटक दमकमा ५८१७६ मतदाता रहेका छन् । एक्लै मैदानमा उत्रिएको एमालेले अघिल्लोपटक झै सहजै जित्ने बताएको छ भने मोर्चाबन्दी गरेका दलका उम्मेदवारले फराकिलो अन्तरले प्रमुखमा थापा र उपप्रमुखमा भट्टराईले जित हासिल गर्ने दावी गरेका छन् ।































