इलाम, असोज ३१ । क्याम्पसलाई सहयोग गर्दै आएका सामुदायिक वनले आर्थिक सहयोग उपलब्ध गराउन छाडेपछि दानाबारी गाविसस्थित गरुवा बहुमुखी क्याम्पस आर्थिक अभावमा सङ्कटमा पर्दै गएको छ ।
सामुदायिक वन समूहको आर्थिक सहयोगमा स्नातकसम्म पढाइ हुने गरी सात वर्षदेखि सञ्चालनमा रहेको क्याम्पसलाई वन समूहले नियमित रूपमा सहयोग उपलब्ध नगराउँदा सङ्कटमा परेको हो ।
क्याम्पस स्थापनाका क्रममा स्थानीय नमुना सामुदायिक वनले रु १२ लाख सहयोग गरेको थियो । अन्य विभिन्न १२ वटा वन समूहले पनि रु १० लाख बराबरको काठ उपलब्ध गराएका थिए । उक्त काठ समेत विक्री गरेर रु २२ लाखको लगानीमा क्याम्पस सञ्चालन गरिएको संस्थापक क्याम्पस प्रमुख मोहनबहादुर खड्काले जानकारी दिए ।
सामुदायिक वन समूहले विगतमा दिएको सहयोग रोकेपछि क्याम्पस सञ्चालनमा समस्या आएको क्याम्पस प्रमुख तारानाथ खनाल बताउछन् । नेपाली, स्वास्थ्य, अङ्ग्रेजी विषय पढाइ हुँदै आएको क्याम्पसमा प्राध्यापन गरिरहेका नौजना उपप्राध्यापकलाई तलब खुवाउन समस्या परेको छ । उपप्राध्यापकको तलबमा मात्र वार्षिक रु नौ लाख खर्च हुने र आम्दानी भने रु दुई लाखभन्दा बढी नहुने क्याम्पस प्रमुख खनालले बताए ।
“वनको सहयोग रोकिएपछि क्याम्पसको आम्दानीको स्रोत विद्यार्थी मात्र हुन् । भर्ना र मासिक शुल्कबापत वार्षिक रु दुई लाख सङ्कलन हुन्छ, त्यहीँबाट अहिले क्याम्पसका सरलाई तलब भत्ता खुवाउनु परिरहेको छ”– खनालले भने –“अहिले वार्षिक रु सात लाख अपुग भइरहेको छ । यसपटक त जेनतेन चल्यो अब आगामी दिनमा कसरी चलाउने भन्ने सङ्कटमा छौँ ।” क्याम्पस सञ्चालनका लागि गाविससँग अनुदान माग गर्नुका साथै अन्य स्रोेतहरू खोजी गरिरहेको क्याम्पसले जनाएको छ ।
शिक्षाशास्त्र सङ्कायको स्नातक तहको दोस्रो र तेस्रो वर्षमा अहिले ३३ जना मात्र विद्यार्थी छन् । पहिलो वर्षको भर्ना खुल्न बाँकी छ । “विद्यार्थीको शुल्क बढाऔँ भने अभिभावकलाई बोझ पर्छ, नबढाऔँ भने तलब खुवाउनै समस्या”– खनालले गुनासो गर्दै भने । स्थापनाकालदेखि नै प्रतिविद्यार्थी भर्ना शुल्क रु ९०० र मासिक रु ५०० लिने गरेको क्याम्पसले जनाएको छ ।
सामुदायिक वनले आर्थिक सहयोग गर्न नसकेपछि क्याम्पस सञ्चालनमा समस्या उत्पन्न हुन थालेको हो । गरुवा बहुमुखी क्याम्पसले स्थानीय कन्काई उच्चमाविकै सबै भौतिक संरचना प्रयोग गर्दै आइरहेको छ । विद्यालय भवन, फर्निचर र पुस्तकालय कन्काई उच्च माविकै प्रयोग गर्दै आइरहेको क्याम्पस प्रमुख खनाल बताउँछन् । क्याम्पसको नाममा एउटा दुईकोठे जस्ताको छाना भएको भवन मात्र छ । कर्मचारी समेत उच्च माविकै छन् । शैक्षिकसत्र २०६४ देखि सञ्चालित गरुवा क्याम्पस अनुदान र सहयोगकै भरमा अहिलेसम्म टिकिरहेको क्याम्पसले जनाएको छ ।
त्यस्तै सानिमा माई हाइड्रोपावर कम्पनीले क्याम्पसलाई रु १५ लाख सहयोग गरेको थियो । उक्त रकममध्ये रु १३ लाख उपलब्ध गराइसकेको क्याम्पसले जनाएको छ । त्रिभुवन विश्वविद्यालयबाट केही अनुदान आए सञ्चालनमा राहत पुग्ने क्याम्पस प्रमुख खनाल बताउछन् ।
विद्यार्थी सङ्ख्या र भौतिक संरचनाको कमीले मापदण्ड अपुग भइरहेको क्याम्पसले जनाएको छ । यस क्याम्पसमा महमाई, चुलाचुली, दानाबारी, चिसापानी, सिद्धिथुम्का, सोयाक लगायतका गाविसका विद्यार्थी अध्ययनरत छन् ।