पार्थ मण्डल
झापा, तस्करीको सामान मिलेमतोमा छाड्नेलाई विभागीय कारबाही गर्ने सशस्त्र प्रहरी संगठनले सामान समात्ने सशस्त्र प्रहरीलाई कारबाहीको लागि तानेको घटना बाहिर आएको छ ।
घटना हो– सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सुरक्षा गुल्म भद्रपुरको । गुल्ममा खटिएका सशस्त्रका वरिष्ठ हवल्दार बलबहादुर श्रेष्ठ र सशस्त्र जवान आनन्द मण्डललाई तस्करीको सामान समातेकै आरोप लगाएर बुधबार बिहान १० बजे सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ गण हेडक्वार्टर झापा तानिएको हो ।
घटना विवरण अनुसार सशस्त्रका वरिष्ठ हवल्दार श्रेष्ठ र जवान मण्डलले सोमबार बिहान करिब ९ बजेतिर ९९ नम्बर सीमा पिलर नजिकैबाट दुई बोरा मोबाइलका पाट्र्स बरामद गरेका थिए । गुल्मबाट गस्तीमा खटाइएका उनीहरूले भद्रपुर–५स्थित दोभान नाकाबाट मोबाइल पाट्र्स बरामद गरेपछि तत्काल सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सुरक्षा गुल्म भद्रपुरमा रहेका इन्स्पेक्टर चेतन बाह्रकोटीलाई जानकारी गराए ।
सो सामान थियो– वारिपारि काम गर्ने लाइनमेन बौवा भन्ने राजु कामतीको । समातेको सामान छाडी दिन भन्दै बौवाले घटनास्थलमै वरिष्ठ हवल्दार श्रेष्ठ र जवान मण्डललाई आर्थिक प्रलोभन देखाउन खोजे । उनीहरूले नमानेपछि बौवाले त्यसपछि सबैतिर फोन घुमाउन थाले । इन्स्पेक्टर बाह्रकोटी आफंै सामान हेर्न घटनास्थल पुगे । इन्स्पेक्टर बाह्रकोटीले सामान हेरिसकेपछि एकपटकलाई हो भन्दै सामान छाडिदिन भने । इन्स्पेक्टरको आदेश मानेर उनीहरूले सामान त्यहीँ छाडेर खाली हात फर्किएको सशस्त्र स्रोतले बतायो ।
सामान छुटेपछि बौवा वरिष्ठ हवल्दार श्रेष्ठ र जवान मण्डललाई भेट्न देवीबस्तीको सूर्यनारायण मन्दिर अगाडि पुगे । ‘बौवाले उनीहरूलाई खाजा खानु भन्दै पैसा दिन खोजे’– स्रोतले भन्यो– ‘उनीहरूले पैसा लिन मानेनन्, बरु गुल्मभित्र मेसका लागि मासु किनेर ल्याइदिनु सबैले खान्छन् भनेर तर्किन खोजे ।’ बौवाले मासु आफै किन्नु खानु भन्दै जबरजस्ती तीन हजार पाँच सय रुपैयाँ दिएर गएको र उनीहरूले गुल्म अगाडिको मासु पसलेलाई तीन हजार पाँच सय रुपैयाँ बुझाएर मासु पठाइदिनु भनी आफ्नो कामतर्फ लागेको स्रोतको भनाइ छ ।
घटना भएपछि बौवासहितको तस्कर समूहले वरिष्ठ हवल्दार श्रेष्ठ र जवान मण्डललाई भद्रपुरबाट खेदाउनु पर्छ र उनीहरू यहाँ हुँदा दोभानबाट तस्करी हुँदैन भनी योजना बनाए । बौवासहितको समूहले वरिष्ठ हवल्दार श्रेष्ठ र जवान मण्डलले १२ हजार लिएको आरोप लगाएको कुरा माथिसम्म पु¥याए । त्यसपछि दुवै जनालाई गणमा तानियो र तस्कर समूहको योजना सफल भयो ।
दोभानबाट लाइनमेनको काम गर्नेहरू दीपेश, राहुल, बौवा लगायतको समूहले केही दिनअघि तस्करीको माध्यमबाट भित्र्याएको ६ पोका कपडा सोही नाकाबाट सशस्त्रले बरामद गरेको थियो । ती कपडा पनि सशस्त्र जवान मण्डल र हवल्दार दीपक केसीले बरामद गरेका थिए । त्यही भएर जवान मण्डल उनीहरूको निशानामा परेको स्रोतको दाबी छ ।
यता सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सुरक्षा गुल्म भद्रपुरमा रहेका इन्स्पेक्टर चेतन बाह्रकोटीले दोभानमा फेला परेको दुई बोरामा मोबाइलको पुराना पार्टपुर्जा रहेको र त्यो भारत लगिरहेकोले कवाडीको सामान भनी एक पटकलाई छाडिदिएको बताए । ‘वरिष्ठ हवल्दार श्रेष्ठ र जवान मण्डललाई गुल्मबाट गण अन्य कारणले पठाएको हो, सो घटनासँग जोडिएर होइन’– इन्स्पेक्टर बाह्रकोटीले भने । छाडेको मोबाइल पाट्र्सहरु त्यही नाकाबाट भित्र्याइएको र बिग्रेको सामान आएकाले पुनः फिर्ता पठाउन खोजिएको उनले बताए ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ गण हेडक्वार्टर झापाका डीएसपी तथा प्रवक्ता मदनकुमार रसाइलीले वरिष्ठ हवल्दार श्रेष्ठ र जवान मण्डललाई सोधपुछका लागि गुल्मबाट गण बोलाएको बताए । त्यस घटनाको बारेमा पनि उनीहरूसँग सोधपुछ भइरहेको डीएसपी रसाइलीको भनाइ छ ।