छविराज ढकाल/ पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिकाका नवनिर्वाचित प्रमुख मोहन तुम्वापो, उप प्रमुख देविमाया काफ्ले तथा बडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ।
बुधबार पथरी बहुमुखी क्याम्पसद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँहरू सम्मानित हुनुभएको हो। पथरी बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष समेत रहनुभएका मेयर मोहन तुम्वापोले बधाई तथा सम्मान ग्रहण गर्दै आफ्नो नेतृत्वमा रहेको स्थानीय तह सरकारले विज्ञर प्राज्ञिक क्षेत्रमा व्यक्तित्वको सल्लाह र सुझाव लिएर सक्ने सम्मको सहयोग गर्ने वचनबद्धता प्रकट गर्नु भएको थियो ।
सोहि अवसरमा उपमेयर देविमाया काफ्लेले आफुहरु भर्खरै निर्वाचित भएको हुनाले नगरको एक मात्र क्याम्पसको भावि योजना तथा कार्यक्रम संचालन गर्न नगरपालिकाको तर्फबाट मिल्ने सम्म सहयोग प्रदान गर्ने जनाउनुभयो ।
क्याम्पसका पूर्व संचालक समितिको सदस्य तथा कानेपोखरी गाउँपालिकाको पूर्व अध्यक्ष तारा व काफ्लेले पथरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि प्राविधिक शिक्षामा जोड दिन र आर्थिक पक्षमा समेत केही विकल्पहरू सुझावका रूपमा उल्लेख गर्नुभएको थियो।
क्याम्पस संचालक समितिको अध्यक्ष रामकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव विकास र यसले निर्दिष्ट गरेको सुचांक पुरा गर्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित मेयर र उपमेयरका पदाधिकारीहरुबाट यथेष्ट सहयोग प्रदान गर्न पनि अनुरोध गर्नुभएको थियो।

उहाँले क्याम्पसको आन्तरिक लेखा सम्वन्धि कार्यहरू चुस्त दुरुस्त पाईएको बताउनुभयो । उहाँले “१ नं प्रदेशको प्रविधि मैत्री क्याम्पस बनाउने योजना सहित अहिले क्यूए कार्यक्रम ‘ संचालन गर्न क्याम्पस प्रशासन लागि परेको बताउनुहुदै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जनताको हितमा काम गरी मुटुको धड्कन बन्न सुझाव दिनुभएको थियो।
सोहि क्रममा बधाई ग्रहण लिदै वडा नं ४ का वडाध्यक्ष लोककिरण न्यौपानेले प्राज्ञिक क्षेत्रमा राजनीतिक भन्दा माथि उठेर छलफल गर्न पनि सुझाव दिनुभयो। उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्मानित रहनुभएका बडा नं १ देखि १० का बडाध्यक्षहरूलाई दोसल्ला तथा कदर पत्र प्रदान गरिएको थियो।
वडाध्यहरू क्रमशः भीमकुमार राई, नैना राई, विजय लिम्बू, लोकनाथ न्यौपाने, चेतेन्द्र खडका, कृष्णकुमार बस्नेत, उद्धवराज वस्नेत, नवीन कार्की र जीवन खतिवडालाई कदरपत्रले सम्मानित गरिएको हो ।
संचालक समिति अध्यक्ष रामकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सहायक उप प्रमुख शान्तिराम तिम्सिना शुभकामना मन्तव्य राख्नु भएको थियो भने स्वागत मन्तव्य संचालक समितिको उपाध्यक्ष माधव प्रसाद कोइरालाले गर्नुभएको थियो। क्याम्पस प्रमुख चेतन पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो।































