झापामा सहकारीको ताला फुटाएर २ लाख ७० हजार चोरी गर्ने आरोपी पक्राउ

0
473

झापा,

झापाको कनकाई नगरपालिका- ३ स्थित सुरुङ्गा बजार रहेको सुभेक्षा बचत तथा ऋण सहकारी संस्थाबाट रकम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सहकारीको ताला फुटाएर रकम चोरी गर्ने झापा गाउँपालिका- ६ निवासी ४० वर्षीय भवानीप्रसाद विकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेका हुन् । रकम चोरी गरेको केही घण्टाभित्रै विकलाई घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरीक्षक मानबहादुर जिम्वाले बताए ।

विकले गत बुधवार घरेलु हतियारको प्रयोग गरी सहकारीको ताला फुटाएर नगद २ लाख ७० हजार रुपैयाँ चोरी गरेका थिए । चोरी गरेको रकमबाट विकले २ थान मोबाइल र अन्य घरायसी सामान समेत खरिद गरी बाकी ७४ हजार रुपैयाँ नगद घरमा राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सिसी टिभी फुटेज र उनले चोरी गर्दा छाडेको सामानका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका विकलाई थप आवश्यक कारबाहीका लागि झापा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको प्रहरीले जनाएको छ । विक सुरुङ्गा आसपासमा घर बनाउने ठेकेदार नाइके रहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here