आउँदो मंसीर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भएको छ । देशका सबै जिल्लाबाट प्रतिनिधिसभाको निर्वाचनमा एक सय पैंसठ्ठी सिटका लागि मुख्यगरी पाँच दलीय गठबन्धनसँगै प्रमुख विपक्षी दल एमाले नेतृत्वको अर्को गठबन्धनका उम्मेदवारका बीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । एक्लै चुनाव लड्ने घोषणा गर्दै आएको एमालेले स्थानीय आवश्यकता भन्दै अन्य दलहरुसँग गठबन्धन गर्दै उम्मेदवारी दर्ता गराएको छ । यस हिसाबले आसन्न निर्वाचनमा मूलतः दुई गठबन्धनबीचनै प्रतिद्वन्द्विता हुने देखिएको हो । प्रतिनिधिसभापछिको सात वटा प्रदेशका तीन सय तीस निर्वाचन क्षेत्रका लागि समेत आइतबारै उम्मेदवारी मनोनयनपत्र दर्ता गरिएको छ ।

उम्मेदवारी दर्तासँगै नेपाली राजनीति निर्वाचनमय भएको छ । हिजोसम्म टिकटको आकांक्षा राखेर अनौपचारिक ढंगले मत माग्न हिँडेका कतिपय नेताले टिकट नपाएपछि पार्टी परित्याग गरेका छन् भने कतिले स्वतन्त्र, त केहीले अर्को दलको चुनाव चिह्नका साथ चुनावी प्रतिष्पर्धा गर्ने भएका छन् । राजनीतिलाई देश र जनताको सेवा ठान्ने मानसिकता अहिले व्यापार–व्यवसाय गर्ने आधार बनिएको छ । त्यही आकर्षणका कारण यसबेला निर्वाचन निष्पक्ष, भयमुक्त, स्वतन्त्र र धाँधलीरहीत पनि हुन छाडेको छ । यसकै कारण चुनाव खर्चिलो बोझिलो र पैसा हुनेको खेलो गर्ने ठाउँ हुन पुगेको छ ।
जे होस आजदेखि मनोनयन दर्ता गरेकाहरु आ–आफ्नो चिह्नसहित घरदैलो अभियानमा जुटेका छन् । यसपटक स्वतन्त्र दलदेखि स्वतन्त्र व्यक्तिसम्मको सहभागितामा पछिल्लो संविधान अनुसार दोस्रो संसदीय निर्वाचनको प्रत्यक्षतर्फको निर्वाचन प्रक्रिया प्रारम्भ भएको हो । चर्का नारा र खोक्रो आश्वासन बाँडेर नेपाली मतदातालाई झुक्याउने दाउमा अघि सरेका उम्मेदवारहरुको क्षमता, लगानी र घोषणा अनुरुपको व्यवहारको मूल्यांकन गर्ने जिम्मा अब मतदाताको हो । विगतदेखि नै उनीहरुले बाँडेको आशा, गरेको बाचा र परिणामका आधारमा मतदान गर्नु मतदाताको कर्तव्य हो । त्यसतर्फ मतदाताको सचेतता देखिनु पर्दछ । मतदाता स्वयम् मालिक हुन्, त्यसैले अरुको उक्साहट र प्रलोभनमा होइन स्वतन्त्र र विवेकपूर्ण निर्णय गर्नुपर्छ । अनि मात्र देशले अपेक्षा गरेको गन्तव्य पक्रिन सकिन्छ । त्यसैले महादान भनिने मतदानलाई होसियारी र गम्भीर ढंगले ग्रहण गर्नु र त्यही अनुसार मतदान गर्नु नागरिकको मूल कर्तव्य हो र हुनुपर्छ ।




























