लक्ष्मी उप्रेती
मेचीनगर,
संविधानले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाई महिला हुनुपर्ने भनेको छ । तर, ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा झापामा त्यस्तो देखिएन् । ५ प्रतिनिधिसभा र दश प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापामा कुल १८ जना महिला उम्मेदवारमात्र चुनावी प्रतिस्पर्धा देखिएका थिए ।
प्रतिनिधिसभामा ८ र प्रदेशसभा सदस्यमा १० गरी जम्मा १८ महिला उममेदवार मात्र रहे पनि एक महिला बाहेक सवै पुरुष उम्मेदवार विजयी भए । प्रदेशसभा सदस्यमा झापा क्षेत्र नम्वर १ को (ख) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेकी सविना वजगाँई बाहेक अन्य उम्मेदवारले जीत दर्ता सकेनन् ।
एमालेको समर्थनमा चुनावी प्रतिस्पर्धामा मैदान प्रवेश गरेकी बजगाईँले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रको गठबन्धनका साझा उम्मेदवार श्यामविर लिम्बुलाई १ हजार ३ सय ८७ मतले पराजित गदैं पहिलो पटक संसद्यात्रा तय गरिन् । सविनाले १३ हजार ६ सय १२ मत प्राप्त गर्दा श्यामविरले १२ हजार २ सय २५ मतमा चित्त बुझाउनु परेको थियो । बजगाईबाहेक बाकी महिला उम्मेदवारको संसद् छिर्ने धोको रोकिएको छ ।
झापाको निर्वाचन क्षेत्रनम्बर १ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ३ जना महिला उम्मेदवार भएपनि कसैले पनि चारसय मत पुर्याउन सकेनन् । जनता समाजवादी पार्टी नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा महिला उम्मेदवार उठाएको थियो भने एकजनाले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको थियो । यस अघि १ नम्बर प्रदेशमा सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालकोतर्फबाट समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नु भएकी राधा थापाले यो निर्वाचनमा ३ सय ६३ मत प्राप्त गर्नुएको छ । जस्ले उहाँको दोस्रो पटक संसद् छिर्ने यात्रालाई रोकिदिएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी पदममाया लिम्बुले ३ सय ८६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार केन्द्रकुमारी दाहालले १४ मतभन्दा बढी ल्याउँन सक्नु भएन् । १ को (क) मा जनता समाजवादी पार्टी नेपालबाट मीरा कार्की र मौलिक जरोकिलो पार्टीबाट सीता दुलालको उम्मेदवारी परेको थियो । कार्की र दुलालको धरौटी रकम समेत गुम्यो । कार्कीले ९ सय २४ र दुलालले ३ सय १४ भन्दा बढी मत प्राप्त गर्न सकेनन् ।
झापा क्षेत्र नम्वर १ को (ख) बाट १ नम्बर प्रदेशसभा सदस्यमा निर्वाचित बजगाईँसहित लोकतान्त्रिक समाजवादी पार्टीबाट रमा मेचेको उम्मेदवारी परेको थियो । मेचेले १ सय ८९ मतमा चित्त बुझाउनु पर्यो । पराजित भएका महिला उम्मेदवारले सदर मतको १० प्रतिशत कम प्राप्त गरेपछि उनीहरुको धरौटी रकम समेत गुमेको छ ।
महिला उम्मेदवारले पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपरेका कारण पनि यस्तो अवस्था आएको हुन सक्ने महिला अधिकारकर्मी कुसुम थापा क्षेत्रीको धारणा छ । उम्मेदवार बनाउँदै उपेक्षामा परेका महिला नेतृ निर्वाचनमा पराजित हुनु भनेको महिलाप्रति दलहरुको हेर्ने दृष्टिकोण फरक भएको थापाको भनाई छ ।
दलहरूले प्रत्यक्ष र प्रदेशसभामा महिलालाई टिकट दिए पनि महिलालाई कुनै दलहरूले विश्वास नगरेको उहाँको आरोप छ । महिलालाई प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवार नबनाइनु र बनाई पनि पराजित हुनु साह्रै दुःखलाग्दो घटना भएको उहाँको भनाई छ । दलहरुले महिलालाई टिकट दिए पनि पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने र हार्ने ठाउँमा टिकट दिइएको थापाको भनाई छ ।
दलहरूले समानुपातिक, समावेशी सिद्धान्तको खिल्ली उडाउँदै दलहरूले महिलाको प्रतिनिधित्व बर्सेनि घटाउँदै लैजानु दुर्भाग्यपूर्ण भएको दाबी गर्नुभयो । महिलाको राजनीतिक प्रतिनिधि घट्दै जानु गम्भीर कुरा भएको उहाँको बुझाई छ । महिलालाई हत्तपत्त उम्मेदवार नबनाउने ,उम्मेदवार बनाइहाले हार्ने सम्भावना भएका ठाउँमा बनाउने दलहरूको यो मानसिकता परिवर्तन नभएसम्म महिलालाई नेता बन्न अझै धेरै समय लाग्न सक्ने क्षेत्रीको भनाई छ ।