नेपालीको पर्याय जस्तै भएको वैदेशिक रोजगारी असामयिक मृत्युको कारण पनि बनिन थालेको छ । प्राप्त पछिल्लो तथ्यांक अनुसार गएको डेढ दशकको अवधिमा दश हजारभन्दा बढीले वैदेशिक रोजगारीकै क्रममा मृत्युवरण गरेका छन् । मृतकहरु मध्ये झण्डै तेह्र प्रतिशतले आत्महत्या गरेको सरकारी तथ्यांकले देखाएको छ । एकातिर स्वदेशमा रोजगारी नपाउने अवस्था र अर्कोतिर विदेशमा पनि भने जस्तो काम वा दाम नपाउने र पाउँदा पनि सुरक्षाको प्रत्याभूति नहुँदा मृत्यु नै वरण गर्नुपर्ने अवस्थाले हाम्रो निरीहता प्रदर्शन गरेको छ । सरकारी तथ्यांकका अनुसार बितेको चौध वर्षको अवधिमा दश हजार छ सय छैसठ्ठी जनाको विदेशमा मृत्यु भएको थियो । त्यसमध्ये दश हजार चार सय जना पुरुष रहेका छन् । एउटा अर्को अध्ययनले रोजगारीमा गएकाहरुमा चिन्ता, निराशा, दुर्घटना, क्षयरोग, टाउको दुख्नु र आत्महत्याको प्रयास मृत्युको मुख्य कारण रहेको देखाएको छ । त्यसमा पनि आत्महत्या नै गर्नुका पछि रोजगारीमा जानु पूर्व उनीहरुलाई आवश्यक मनोपरामर्श नदिनु नै मुख्य कारण रहेको विज्ञहरु बताउँछन् ।

काम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे सहज अवस्था हुँदाहुँदै विदेशिनु रोजगारमा गएकाहरुले यहाँभन्दा भिन्न परिस्थितिको सामना तथा संघर्ष गर्नुपर्ने कारणले मनोरोगी हुने गरेको बताएका छन् । वैदेशिक रोजगारीमा जानुअघि दिइने तालिम र अभिमुखीकरणमा मानसिक स्वास्थ्य, मनोरोगको लक्षण, कामको प्रकृति, जोखिम लगायतका विषयमा प्रशिक्षण दिनु पर्दछ । जसले उनीहरुलाई संघर्षसँग जुध्न, सुरक्षित हुन र स्वास्थ्य सजगता अपनाउन सहयोग गर्छ । श्रम सम्झौता विपरीत काममा लगाउने, तलब थोरै दिने, अवैध स्थिति, शारीरिक यातना जस्ता कारणले कामदारमा मनोसामाजिक समस्या बढ्ने गरेको अध्यनले देखाएको छ । यस्तो परिस्थितिले चिन्ता बढाउने र त्यही चिन्ता मृत्यु वा आत्महत्या जस्ता दुर्घटनाहरु निम्त्याउने कारण बन्ने गरेको छ ।
सामाजिक समस्याका रुपमा समेत देखिन थालेको वैदेशिक रोजगारीले पारिवारिक बिखण्डन त ल्याउँछ नै सँगै दुःखको कारण पनि बन्दै जाँदैछ । त्यसैले सर्वप्रथम स्वदेशमै रोजगारीको अवस्था सृजना गर्नु सर्वोत्तम समाधान हो भन्ने स्वीकार गरेर तदनुकूल वातावरण तयार गर्नुपर्छ । त्यसबाहेक रोजगारीमा जानैपर्ने अवस्थामा चेतना अभिवृद्धिका कार्यक्रम मार्फत उनीहरुलाई मानसिक रुपमा तयार गर्नुपर्छ । त्यसका लागि पाठ्यपुस्तकमै विषय समावेश गरी सबैलाई वैदेशिक रोजगारी सम्भावना, समस्या, चुनौति र सामनाका बारेमा सुसूचित गराउनु पर्दछ । अहिलेको हकमा हाम्रो देशको अर्थतन्त्र नै विप्रेषणले टिकेको छ । त्यसैले सरकारले राष्ट्रिय आयको मुख्य स्रोत जत्तिकै भएको वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र सुनिश्चित गर्नेतर्फ प्रभावकारी उपाय अपनाउनुपर्छ । जसले अकालमा मृत्युवरण गर्नुपर्ने तथ्यांकलाई कम गर्न र पारिवारिक तथा सामाजिक खुशी फर्काउन मद्दत गर्नेछ ।




























