एमालेलाई माओवादीको जवाफ : प्रधानमन्त्रीलाई सनक छुट्दा संसद विघटन गर्नु जनमत होइन

0
168

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीलाई सनक चलेको दिन संसद विघटन गर्ने जनादेश नभएको बताएका छन् । ५ वर्षसम्म संसद सञ्चालन गरेर देशका समस्याहरु सहमतिका आधारमा हल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको प्रस्ताव गरेको उनले बताए ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पौडेलले विगतको पुनारावृत्ति गरेर सहमति हुन नसक्ने बताए ।

उनीभन्दा अगाडि बोलेका एमाले उपाध्यक्ष विष्णु पौडेलले के परिस्थिति बन्यो र १० पुसमा भएको सहमति उल्लंघन गरेर प्रचण्ड पुरानै गठबन्धनमा फर्किएको भनेर प्रश्न गरेका थिए ।

माओवादी सचिवले पौडेलको नाम नलिई त्यसको जवाफ दिए । ‘दुई पटकसम्म संसद विघटन भयो ? कसका कारण विघटन भयो ? संविधानमा कहाँ लेखिएको छ ?’, उनले भने, ‘सर्वोच्चले गल्ती भयो भनेर सच्याइदियो । अनि माननीयहरु यहाँ आएर बोल्नुहुन्छ, मैले त बहादुरी गरेँ । त्यसका निम्ति लाहछाप लगाउन यो प्रतिनिधिसभा आएको हो र ? यही कारण परिस्थिति फरक पर्‍यो ।’

५ वर्षसम्म संसदलाई जोगाउनुपर्ने भन्दै सचिव पौडेलले भने, ‘जुन दिन प्रधानमन्त्रीलाई सनक छुट्यो, त्यो दिन संसद विघटन गर्नुस् भनेर जनताले जनमत दिएका होइनन् ।’

उनले नेपाली कांग्रेस पहिलो दल हो भन्ने पनि नर्बिसन आग्रह गरे । उनले भने, ‘नेपाली कांग्रेस यो संसदको पहिलो पार्टी हो भन्न तपाईँहरुले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ ।’

जनताले सबै दल मिल भनेर जनमत दिएको र त्यसअनुसार प्रधानमन्त्रीले प्रस्ताव राखेको पौडेलको जिकिर छ । तर एमाले त्यसका लागि तयार नभएको भन्दै उनले भने, ‘दोस्रो दललाई सहमति चाहियो, पहिलो दललाई समेत सहमति गरेर अगाडि बढौं भनेर प्रधानमन्त्रीले राखेको गलत थियो ? इतिहासको कठघरामा उभिएर जवाफ दिन तयार छौं ।’ अनलाइनखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here