बिर्तामोड ।

सञ्चारिका समूहको आयोजना विहीवारदेखि झापामा पत्रकारहरुका लागि दुई दिने तालिम शुरु भएको छ ।
सञ्चारिका समूह केन्द्रीय समितिको आयोजना र झापा शाखाको संयोजनमा शुरु भएको तालिममा कोशी प्रदेशका विभिन्न जिल्लाका ४० जना पत्रकारहरुको सहभागिता रहेको छ ।
सीमान्तकृत पत्रकार महिलाहरुको क्षमता विकास सम्वन्धी कार्यशालाको एक समारोहकाबीच प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरले गमलामा पानी हालेर उद्घाटन गरेकी थिइन् ।
सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाको सभापतित्व सम्पन्न उद्घाटन सत्रमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईं, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष कृष्ण हुमागाँई, प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, बिज्ञापन वोर्डका सदस्य पवन अधिकारी, एफईएसकी पवित्रा राउत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तालिमको उद्घाटन समारोहमा झापाका पत्रकार महिला सुशीला संग्रौलालाई सञ्चारिका सम्मानबाट सम्मानित गरिएको थियो । उपसभामुख मगरले पत्रकार संग्रौलालाई सम्मान–पत्रले सम्मानित गरेकी थिइन् ।
कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश सञ्चारिका झापा अध्यक्ष लीला अनमोलले कोशी प्रदेशका पत्रकारहरुको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको बताइन् । उनले झापामा सञ्चारिका समूह गठन भए पछि पहिलो कार्यक्रमका रुपमा प्रदेशस्तरिय आवासीय तालिमको आयोजना गरिएको जानकारी दिइन् ।
कार्यक्रमको सञ्चालन सञ्चारिका झापाकी कोषाध्यक्ष सबिना सुब्बाले गरेकी थिइन् । कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला लगायतको आतिथ्य थियो । एफइएससंगको साझेदारीमा भएको तालिमको सहजीकरण पत्रकार लक्ष्मी गौतम, निलिफा सुब्बा लगायतले गरिरहेको बताइएको छ ।






























