
ब्राह्मणहरु भनेको अर्काले दिएको दानबाट पालिने समुदाय हो । यो एउटा परम्परागत मान्यता हो । यो मान्यता फेरेर जब ब्राह्मणहरुले हामी हात फैलाउँदैनौं भने संसार विध्वंश भएको इतिहास छ । यसैमा एउटा प्रसङ्ग छ –द्वापरयुगको ।
विद्वान् र शक्तिशाली द्रोणाचार्य आफ्नो सन्तानलाई दूध खुवाउनका लागि गाई लिन राजा द्रुपदकोमा जान्छन् । मित्र पनि भएका राजाले हकले होइन, भीख माग्नु पर्ने प्रस्ताव राख्छन् । भीख मागेर नखाने, स्वाभिमानले बाँच्ने द्रोणचार्यको सोचबाट उनले खप्नु परेको अपमानले द्रुपदको राज्य मात्र टुक्रिएन, महाभारत युद्धको एउटा कारण समेत बन्यो त्यो घटना । अर्थात्, जब कोही स्वावलम्वी बन्छु भन्छ, नयाँ गर्छु भन्छ, तब त्यहाँ केही असजता उत्पन्न हुन्छ नै । जसरी नयाँ जुत्ता लगाउँदा पनि दुई–चार दिन खुट्टा बिझाउँछ । नयाँ दुलही घर भित्रिएपछि दुई–चार दिन त्यस माहौलामा ढालिन उनलाई समय लाग्छ ।
प्रसड्ड अर्जुनधारा जलेश्वर धामको ।
अर्जुनधारा धामको इतिहास धेरैलाई थाहै छ । नभए, गुगलमा नै खोजियो भने पनि त्यस विषयमा धेरै सन्दर्भ सामग्री छन्, त्यसैले त्यसतर्फ म प्रवेश गर्दिनँ । पोखरी, शिवालय हुँदै अर्जुनधारा जलेश्वर धामको यात्राले आधा शताब्दी नाघिसकेको छ । यो बीचमा अर्जुनधारा क्षेत्रभित्रका कयौं जमिनदारहरु भुइँमान्छे बनेका छन् भने कयौं भुइँमान्छे नवधनाढ्य भएका छन् । यो क्रममा अर्जुनधारा धाम चाहिँ के भयो ? अहिले धाम के छ त ? महाभारतकालीन मिथक बोकेर स्थापित भएको धामसँग यतिखेर दुई–चार विगाह जग्गाको आफ्नै धनीपूर्जा छ । दुई–तीन वटा पक्का घर छन् । सानो–सानो एउटा हल छ । विश्रामालय, यज्ञकुण्ड, पञ्चधारा, साना–ठूला गरेर आठ–दश मन्दिर छन् । मन्दिर परिसरभित्र माटो टेक्नु पर्दैन, टायल्स र ढुङ्गा छापिएको छ । भौतिक रुपमा यति नै हो अर्जुनधारा ।
अध्यात्मिक रुपमा यसको प्रचार अलिक बढी नै भइरहेको छ । कोशी प्रदेशमा नै प्रतिष्ठित शिवालयहरु मध्ये अर्जुनधारा पनि पर्छ । जब कि यो भन्दा पहिला निर्माण भएका शिवालयहरु अहिले पनि गुमनाम छन् । यस धामको महिमाको बारेमा खडेबाबाले ब्याख्या गर्नु र स्थानीयले स्वीकार गर्नु, धार्मिक र ऐतिहासिक महत्वको ब्याख्या हुनु, यसका पुजारीका रुपमा नियुक्त आचार्य पुष्पलाल निरौलाले यसको महिमाको ब्याख्या कलात्मक ढङ्गले गर्नु, स्थानीय निकाय र तहले यो नामलाई आफ्नो पहिचान बनाउनु पनि यसको ख्याति फैलिनु हो । धामले धेरै अगि नै अर्जुनधारा संस्कृति मावि सञ्चालन ग¥यो । शुरुका दिनहरुमा त्यो विद्यालयलाई धाममा उठेको चन्दाबाट सञ्चालन गरिन्थ्यो । धेरै पछिसम्म धामले त्यस विद्यालयलाई अनुदान दिइरहन्थ्यो । जसलाई बिस्तारै एउटा छुट्टै संस्थाको रुपमा स्वतन्त्र छाड्यो । त्यो अहिले पनि सञ्चालन छ ।

धाम परिसरभित्रै एउटा गुरुकुल छ । यस गुरुकुलमा प्रारम्भिक शिक्षा अध्ययन गर्नेहरु धुरन्धर विद्वान भएर देशविदेशमा ख्याति कमाइरहेका छन् । अहिले पनि यो त्यो कर्मका लागि सञ्चालन छ । यो पूर्ण निःशुल्क तथा आवासीय रुपमा सञ्चालन छ । यसमा पैंतालिस जना विद्यार्थी छन् । पढाउने चार शिक्षक र दुई सहयोगी छन् । भोजनालयका लागि एक कर्मचारी छन् । धाम समितिले कार्यालय सञ्चालनका लागि एक कर्मचारी, सुरक्षाका लागि दुई सुरक्षागार्ड, मन्दिर पुजनका लागि दुई अर्चक र सफाईका लागि अन्य दुई जना सहयोगी राखेको छ । उनीहरुका लागि हरेक दिन धाममा भण्डारण चल्छ । यसले के देखिन्छ भने धामले मन्दिरमा पूजा मात्र गरिरहेको छैन, त्यहाँबाट सेवामूलक रोजगारीको रुपमा दश–बाह्र परिवारको घर पनि पालिरहेको छ । वैदिक शिक्षा मार्फत विपन्न विद्यार्थीहरु बास र शिक्षा पनि पाइरहेका छन् ।
गतिविधिहरु थुप्रै सञ्चालन गरिरहेको हुन्छ धाम समितिले । ती सबैको खर्चको स्थायी स्रोत चाहिँ के हो त ? त्यसको कुनै स्पष्ट उत्तर कसैसँग छैन । सबैलाई थाहा छ– त्यो स्रोत भनेको कसैले स्वेच्छिक रुपमा दिएको दान–दान्तव्य नै हो । कसैले दिने दान स्थिर हुन्छ ? वा बार्षिकरुमा अनिवार्य रुपमा म यति यो संस्थालाई दिन्छु भन्ने मान्छे छन् ? पक्कै त्यो छैनन् र हुन्न पनि । कुनै स्थायी स्रोत नभएको दान र सहयोगबाट मात्र सञ्चालन हुने सामाजिक संस्थाहरु पतन हुन समय लाग्दैन । अझ भन्ने हो भने सञ्चालन भइरहे पनि ती संस्थाले उपलब्धिमूलक र रचनात्मक काम भने गर्न सक्दैनन् । अर्जुनधारा धाम धार्मिक स्थल भएकोले त्यो अवस्था आइहाल्छ भन्ने अनुमान अलिक कम छ ।
जब बच्चो जन्मिन्छ, उसलाई केही फरक पर्दैन थाङ्नामा सुताउने हो कि, मखमलमा । उसलाई न्यानो भए पुग्छ । तर, जब उ वयस्क हुँदै जान्छ, उसका आवाश्यकता, आशा, अपेक्षाहरु फेरिँदै जान्छ । ऊ प्रति पनि परिवार र समाजको आशा र भरोसा थपिँदै जान्छ । कुनै बेला अर्जुनधारा धाम शिवालय मात्र थियो, त्यस बेलाको अपेक्षा र यतिखेर नेपाल सरकारले नै पर्यटन गन्तव्यका रुपमा सूचिकृत गरेको स्थानले निर्वाह गर्नुपर्ने भूमिका निक्कै फरक पर्छ । अब अर्जुनधारा धाम जिम्मेवार पनि बन्नु पर्ने अवस्थामा आइसकेको छ । धेरैलाई लाग्छ– अर्जुनधारा धामको संरक्षणको जिम्मा सरकारले लिनुपर्छ । संविधानमा नै धर्मनिरपेक्ष राष्ट्र भनेर घोषणा गरिसकेपछि सरकारहरुले मन्दिर, मस्जिद, गिर्जाघर, गुम्बाहरुको जिम्मा लिँदै हिँड्न सक्दैन । सबैको समान विकासका लागि आवश्यकता अनुसार सहयोग गर्ने मात्र हो । संस्थालाई सक्षम र विकसित गर्दै लाने भनेको त्यो संस्थाको समिति कै हो ।
यतिखेर एउटा विवादले अर्जुनधारा धामलाई नराम्ररी गाँज्यो । त्यो भनेको श्रावणी पर्वमा धाम आएका, मूल मन्दिर दर्शन गर्न चाहने, तर समय अभाव भएका कर्मचारी, विशिष्ट व्यक्ति, बाहिरबाट आएका दर्शनार्थीहरुलाई विशेष मार्ग प्रयोग गरी दर्शन गराउने र आम्दानी बाँध्ने उद्देश्यले गरेको एक निर्णयले । त्यस्ता व्यक्तिहरुलाई लाइन मिचेर दर्शन गराउँदा झन् ठूलो विवाद हुने भएकाले एउटा निश्चित रकम तोकेरै दर्शन गराउँदा आर्थिक अभाव टर्ने, विवाद पनि नहुने नीति बनायो । शुरुवात् ग¥यो । कसैले त्यसलाई नै गाली गर्ने मार्ग बनाएर शुरुवात् ग¥यो । एउटा ठूलै समूह त्यसको पछि कुद्न थाल्यो । त्यसका पछि अर्जुनधाराकै एउटा पार्टीका सभापति समेत सामेल भए । उनले एउटा झुण्ड तयार गरेरै आक्रमण गरिरहेका छन् जस्तो देखिन्छ । उनले अझै नबुझेको कुरा के हो भने उनी एउटा संगठनको नेतृत्व गर्छन्, जसको खर्च अथाह छ । त्यो खर्च अभावले संस्था कसरी चल्छ भन्ने उनलाई हेक्का भइरहेको छैन । उनकै नेतृत्वमा दुई–तीन वर्ष अघि भवन निर्माण गर्दा पसिना बगाउने मजदुरहरुले अहिलेसम्म पैसा पाएका छैनन् । गहिरो रुपमा हेर्ने हो भने उनी र उनको संगठनबाटै श्रमशोषण भइरहेको ज्ञान हुनुपर्ने हो उनलाई । त्यो उनी आफंैले बुझेका छैनन् होला सायद । तर, धाम समिति त्यो कलंकबाट बाँच्न चाहेको बुझिन्छ ।
जुन विषय अहिले विवादमा उछालिएको छ, त्यसमा एउटा कुरा कसैले बुझ्न खोजिरहेका छैनन्, त्यो हो– विकल्प । जसका लागि त्यो प्रक्रियाको थालिन गरिएको छ, ती मान्छेहरु धामका शुभचिन्तक होइनन् त ? धामलाई धाम बनाउन उनीहरुको सहयोग छैन त ? समय छैन उनीहरुसँग भने मन्दिर दर्शन गर्न पाउने अर्को विकल्प उनीहरु पाउँदै नपाउनु त ? संसारमा विकल्पविहीन केही हुन्छ ? धामले विकल्प निकालेको मात्र हो जस्तो लाग्छ, जसले समितिको अभाव र दर्शनार्थीको सम्मान दुबै होस् भनेर । अर्जुनधारा धामभित्र पनि दुई वटा सत्ता छ । एउटा आध्यात्मिक सत्ता हो, जसले आर्थिक चिन्ता लिँदैन, लिनु पनि हुँदैन । उसको काम भनेको पूजा–अर्चना गर्नु, ज्ञानगुण छर्नु र शिक्षा–दिक्षा दिनु मात्र हो । अर्को सत्ता भनेको भौतिक सत्ता अर्थात् समिति हो । जसले ती तमाम विषयहरुको सहज व्यवस्थापन गर्नु, आर्थिक अभाव टार्नु तथा धामको भौतिक र अध्यात्मिक विकासलाई समानरुपमा गतिशील बनाउनु हो ।
यो पुँजीवादी युग हो । यसभित्र हामी समाजवाद खोजिरहे छौं । समाजवादको मर्म भनेकै समतामूलक समाज सिर्जना गर्नु हो । हुनेले दिने, नहुनेले उपभोग गर्ने । राज्य पनि त त्यही गरिरहेको छ । ठूला र सम्पन्न प्रतिष्ठान र व्यक्तिहरुबाट कर उठाएर विपन्नको घर बनाइरहेको छ, वृद्ध, अपाङ्ग भत्ता दिइरहेको छ । निःशुल्क उपचार, शिक्षाको प्रयास गरिरहेको छ । सरकारमाथि त कसैले प्रश्न उठाएको छैन, किन तिमी सबैसँग बराबर पैसा लिँदैनौ भनेर ।
अर्थशास्त्रको एउटा सामान्य नियम छ, आम्दानी घटे पनि आधारभूत खर्च घट्दैन । यो नियम कयौं पटक अर्जुनधारा धामले भोगेको हामीले देखेका छौं । गुरुकुलका विद्यार्थीहरुले खाध्यान्न संकट भोगेको, शिक्षकहरु तलब अभावले पलायन भएको, अर्चकहरुको खर्च जुटाउन नसकेको, जमिन खरिदको योजना बनाएर खर्च नजुटेपछि जग्गा फिर्ता भएको, समयमा जमिनको रकम भुक्तानी गर्न नसक्दा ब्याज भुक्तानी गरेको, समितिका सदस्यहरुले घरबाट दाल–चामल बोकेर बटुकहरुलाई खुवाएको, कयौं व्यथाहरु छन् । जसलाई न त धाम समितिले कसैलाई देखाउँदै हिँड्यो, न त आज धामको विरोध गर्नेहरुले त्यसलाई आफ्नो जिम्मेवारीका रुपमा ग्रहण गरे ।
केही वर्षअघि सहारा नेपालका संस्थापक तथा निर्देशक महेन्द्र गिरीले धाम समितिलाई एउटा प्रस्ताव गर्नुभएको थियो । सहारा नेपाल मार्फत् अर्जुनधारा धामलाई एक करोडको सहयोग जुटाइ दिने, तर सो पैसा आम्दानीमूलक क्षेत्रमा मात्र खर्च गर्न पाइने, जसको आम्दानीले धामको आन्तरिक खर्च व्यवस्थापन गर्न सकोस् । सशुल्कका कुनै योजना ल्याएमा अहिले उठेका जस्तै विवादहरु छरिने डरले त्यसबेला पनि धामले कुनै निर्णय गर्न सकेन । त्यसबेला गर्न नसकेको आँटले धाम समिति पछि मात्र परेन, सधैँ आर्थिक अभावबाट माथि उठ्न पनि सकेको छैन ।
यस बेला सशुल्क विशेष मार्गको योजना ल्याउनु धामको कुनै क्रूर र अव्यवस्थित योजना होइन । समितिले कयौं पटक यस विषयमा बहस चलाएको छ । छलफल गरिएको छ र निष्कर्षमा पुगेको छ । विगतमा भएका कुनै पनि प्रक्रियाहरुलाई यसले विस्थापित गरेको छैन । बरु हिजो विभिन्न बहानामा लाइन मिचेर दर्शन गर्न खोज्ने र चाहानेहरुलाई सहज र व्यवस्थित मात्र गर्न खोजेको छ । मनोरञ्जनका लागि तयार गरेका पार्कहरु, होमस्टेहरु, रेष्टुरेन्टहरु, डिस्कोहरुमा गएर हजारौं रुपैयाँ खर्च गर्न नहिच्किचाउनेहरु नै एउटा सामाजिक संस्थामाथि आक्रमक देखिएका छन् । उनीहरुले बुझ्नु पर्छ समानताको सिद्धान्त विस्थापित भइसकेको छ यतिखेर । समतामूलक सिद्धान्त स्थापित भएको अवस्थामा जिम्मेवारी, क्षमता, आवश्यकता अनुसार सबै जना फरक भूमिकामा नै हुन्छौं नै । त्यसको आधारमा नै संरचनाहरु निर्माण हुने हो र गर्दै जाने पनि हो । अर्जुनधारा धामले शुरुवात् गरेको यो कार्यप्रति मेरो पूर्ण समर्थन र सहयोग रहनेछ ।

























