वैदेशिक रोजगारलाई व्यवस्थित गर

0
124

वैदेशिक रोजगारीमा जाने महिलामध्ये अस्सी प्रतिशत अनियमित बाटो हुँदै जाने गरेको एउटा तथ्यांकले देखाएको छ । आप्रवासी महिला कामदार समूह नेपाल (आमकास)को तथ्यांक अनुसार घरेलु श्रम गर्न गएकामध्ये अधिकांश अनियमित बाटो भएर गएका हुन् । आप्रवासीहरुको हकअधिकारका लागि लड्ने अधिकारकर्मीको संस्था आमकासले यसरी गएका महिलामध्ये केहीमा मानसिक समस्या देखिएको कति बेचबिखनमा परेको त कति ठगी, ज्याला चोरी लगायतका घटनाका पीडित रहेको जनाएको छ । संस्थाले विभिन्न कारणले पीडामा परेका महिलाहरुलाई कानूनी, मनोपरामर्श सेवाका साथै उद्धार तथा आश्रय सेवा प्रदान गरिरहेको छ ।

घरेलु श्रमिकका रुपमा गएका महिलाहरु विभिन्न प्रकारका शोषणमा परेको घटना बाक्लिन थालेपछि सात वर्षअघिदेखि घरेलु श्रम गर्न खाडी मुलुकहरुमा जान नेपाल सरकारले प्रतिबन्ध लगाएको थियो । तत्कालीन संसदको श्रम तथा उपभोक्ता हित समितिले सुरक्षाको प्रत्याभूति नभई घरेलु कामदार नपठाउन सरकारलाई निर्देशन दिएको थियो । त्यसकै आधारमा सरकारले घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जान प्रतिबन्ध लगाएको हो । तर, पनि विदेश जाने महिलाको संख्यामा अपेक्षा अनुरुप कमी आउन सकेको छैन बरु बढेर गएको छ । रोजगारीमा जानु पुरुष सरह महिलाको पनि अधिकार सुनिश्चित भएको अवस्थामा महिलालाई बन्देज लगाइनु हुन्न भनी सरकारको आलोचना पनि भइरहेको छ । तर, दक्षता, सिप र अनुभवमा कमी भएका कारण महिलालाई वैदेशिक श्रम सेवा चुनौतिपूर्ण, जोखिमयुक्त र सकसपूर्ण रहेको छ ।

वैदेशिक रोजगारीमा जानेहरु झापा, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोकका बढी छन् । सरकारसँग श्रम स्वीकृति लिएकाहरुको तथ्यांक र उनीहरुको भोगाइले पनि वैदेशिक श्रम सेवा उनीहरुका लागि सकसपूर्ण देखिन्छ । अनियमित बाटो भएर गएका नेपाली महिलाहरु पहिलोचरणमा मानसिक, शारीरिक पीडा तथा श्रम शोषणमा परेका छन् । विरानो देश, नौलो परिवेश, संस्कार–संस्कृति तथा भाषाका कारण आफ्नो पीडा व्यक्त गर्न नसक्दा कतिले आत्महत्या जस्तो गलत निर्णय लिएका छन् । पछिल्लो समय वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका, गम्भीर बिरामी परेका वा मृत्यु भएकाको परिवारलाई सेवासुविधा प्रदान गर्न थालेको छ । तर, यो नै निदान भने होइन, त्यसैले आवश्यक शिक्षा, सिप प्रशिक्षण तथा कामको बारेमा पूर्ण जानकारी लिनु पर्दछ । अनि मात्र वैदेशिक रोजगारीमा भोग्दै आएको पीडा कम हुनसक्छ । अन्यथा नेपाली महिलाले वैदेशिक रोजगारीमा भोग्दै आएको पीडा र त्यसले परिवार र नेपाली समाजलाई हुने क्षतिलाई कम गर्न सकिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here