द्रुतमार्गको निर्माण सुस्त हुँदा स्थानीय असन्तुष्ट

0
40

इलाम ।

पहाडी जिल्ला इलामबाट पूर्वी तराईको झापा जोड्ने दु्रतमार्ग मेची कोरिडोरको निर्माण कार्य सुस्त हुँदा लाभान्वित क्षेत्रका स्थानीय असन्तुष्ट छन् ।

निर्माण कार्यमा देखिएको ढिलाईसँगै पर्याप्त बजेट समेत नआएको बताइन्छ । जसले आयोजना कहिले पूरा हुने भन्नेमा अन्यौल थपिएको छ । इलाम सदरमुकामबाट मेची राजमार्ग भएर झापाको व्यापारिक केन्द्र बिर्तामोड पुग्न ६१ वटा गोलाई छिचोल्दै ८३ किलोमिटर पार गर्नुपर्छ ।

पूर्वी तराई जोड्ने द्रुतमार्ग मानिएको कोरिडोरको इलाम–बिर्तामोड खण्डको दुरी जम्मा ४८ किलोमिटर मात्र छ । कोरिडोर अन्तर्गत इलामको माई नगरपालिका क्षेत्रको करिब १२ किलोमिटर खण्ड कालेपत्रे भइसकेको छ । तर, बाँकी २० किलोमिटर सडकको ठेक्का लागेर काम भइरहे पनि ढिलो भएकाले छोटो समयमा सहज रुपले झापा झर्ने चाहना पूरा हुन समय लाग्ने देखिएको छ ।

वि.सं.२०२१ सालमै झापाको शनिश्चरे हुँदै इलाम मोटर आएको यो सडक मेची राजमार्ग निर्माण हुनुपूर्व झापा झर्ने निर्विकल्प पैदलमार्ग थियो । कोरिडोरको विभिन्न खण्डमा काम भइरहेको छ । कठिन भूगोल रहेको मेची राजमार्गको भञ्ज्याङदेखि बेलासेसम्मको झण्डै १० किलोमिटरखण्डको काम ३५ प्रतिशत मात्र भएको डिभिजन सडक कार्यालय इलामले जनाएको छ । कोभिडका कारण भएको बन्दाबन्दी र पर्याप्त बजेट नआउँदा काममा ढिलाइ भएको कार्यालयको भनाइ छ ।

नेपालकै होचो भू–भाग झापाको केचना विश्वको तेस्रो अग्लो हिमाल ताप्लेजुङको कञ्चनजंघा जोड्ने निर्माणाधीन सडकको दूरी १९० किलोमिटर छ । साविक मेची अञ्चलका इलाम, झापा, पाँचथर र ताप्लेजुङका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने यो सडक निर्माणकार्य छिट्टै पूरा भए साबिक मेची पहाडबासीलाई झापा झर्न सहज हुनका साथै यस क्षेत्रको आर्थिक गतिविधिमा पनि बढोत्तरी हुने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here