
यतिबेला सोह्र श्राद्धको समय चलिरहेको छ । पितृको उद्देश्यबाट श्रद्धापूर्वक गरिने कार्यलाई श्राद्ध भनिन्छ । श्रद्धापूर्वक गरिने कार्य भएकाले तर्पण गरिदिने वा चढाइदिने न हो भनेर मात्र गरिने श्राद्धको कुनै महत्व हुँदैन, विधिसम्मत ढंगले श्रद्धापूर्वक गरिनुपर्छ । श्राद्ध दुई किसिमको हुन्छ– एकोदिष्ट वा एकापार्वण र पार्वण, मालय वा सोह्र श्राद्ध । पितृ दिवंगत भएको तिथिमा गरिने श्राद्ध एकोदिष्ट श्राद्ध हो भने पर्वमा अर्थात् आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिन गरिने श्राद्धलाई पार्वण, मालय वा सोह्र श्राद्ध भनिन्छ । पितृपक्ष भनिने यसबेला ठूला पर्व देवताको पूजा गर्नु अघि पितृहरुको पूजा गर्ने गरिन्छ । सोह्र श्राद्ध पर्वको समय मानिने भएकाले पार्वण वा मालय श्राद्ध भनिएको हो ।
सन्तानको आमाबाबु वा पितृप्रतिको कर्तव्य दुई प्रकारका हुन्छन् । जीवित अवस्थामा सेवासुश्रुसा गर्नु र मृत्युपछि श्राद्ध गर्नु । आमाबाबुले छोराछोरी गर्भमा बसे–रहेदेखि हुर्काइ–बढाइ गर्दा वहन गर्ने अनेक जिम्मेवारी, भारलाई पितृऋणका रुपमा लिइने र त्यसलाई तिर्न (ऋणमुक्त हुन) जिउँदोमा पितृहरुको सेवा र मृत्युपछि छोराले (छोराबुहारीले नाम र मन्त्र उच्चारण गर्दै सम्झना गरेर तथा छोरा नभए दाजुभाइ वा छोरीको छोराले वा शास्त्रमा व्यवस्था गरिए अनुसार) विधिवत् श्राद्ध कर्म सम्पन्न गरिनुपर्ने विधान रहेको छ ।
यसरी सन्तान–सन्ततिको पितृप्रतिको कर्तव्य जिम्मेवारीबारे विचार गर्दा आमा–बाबुको इच्छा अनुसार आज्ञापालन तथा सेवा र श्राद्ध कर्म गर्नु अनिवार्य छ । आजभोलि लौकिकरुपमा आमाबाबु जीवित छँदा वेवास्ता गर्ने तर मृत्युपछि तामझामले श्राद्ध गर्नु वा जिउँदो छँदै जे गर्नुछ गर्ने मरेपछि अस्तित्व रहँदैन, गरेर के हुन्छ भन्ने गरिएको पनि पाइन्छ । तर, शास्त्र अनुसार यी दुबै विचार सही तथा उचित नहुने बताइएको छ । उपरोक्त दुईमध्ये एकको पालना नगरे छोराछोरी कर्तव्य विमुख भई पितृऋण मुक्त बन्न असमर्थ हुने देखिन्छ । भौतिक धनको ऋणी बन्दा प्राप्त हुने दुःख, तनाव कति हुन्छ भन्ने कुरा अनुभव गर्नेलाई थाहा नै छ ।
जीवित छँदा एउटा फलफूल समेत समर्पण नगर्ने, तर मरेपछि अनेक फलफूल, मिष्ठान्न पितृलाई अर्पण गर्नु अर्थात् जिउँदोमा पिटाइ मरेपछि मिठाई भने जस्तै श्राद्धको अर्थ रहँदैन भने व्यक्ति मरेर गइसकेपछि किन श्राद्ध गर्ने ? जे गर्नुछ जिउँदो छँदै गर्ने, यहाँ पिण्डदान, तर्पण आदि गरेर के हुन्छ, पितृ देवता देखिँदैन भनेर अश्रद्धा वा नास्तिक भाव राख्नु पनि श्राद्धको महत्व र रहस्य बोध नहुनु मात्र हो । यस्तो विचार सामान्यरुपमा सर्वसाधारणमा स्वभाविक जस्तो लागे पनि पितृप्रति निष्ठा, श्रद्धा हुनेका लागि श्राद्ध कर्म सामान्य (गरे पनि हुने नगरे पनि हुने) होइन । आफ्ना सन्तानलाई सबै किसिमबाट योग्य बनाउन सर्वस्व सुम्पने मातापिता र रुखोसुखो पराल खाएर आफ्नो सन्तानलाई समेत पर सारेर अमृततुल्य दूध प्रदान गर्ने गाई वा गौमाताप्रति असाधरण मानवीय कर्तव्य दर्शाइएको छ ।

यहाँ विचारणीय के छ भने यहाँ देखिने (दृश्यमान) वस्तु मात्र छन्, हुन्छन् र नदखिने जति छैनन्, हुँदैनन् भन्नु उचित हुँदैन । देखिनेभन्दा नखिने सूक्ष्म वस्तुमा शक्ति हुन्छ । हावा देखिँदैन, बिजुलीको तार मात्र देखिन्छ, करेन्ट देखिँदैन तर ती शक्तिशाली हुन्छन् । त्यसैले पितृ देखिँदैनन् भन्न र अनास्था राख्न हुँदैन ।
शास्त्र अनुसार मृत्युपछि मानिसको पाञ्चभौतिक शरीर नाश भए पनि आत्मा रहिरहने, उसले गरेका कर्म भावना, विचार, पृथ्वीलोकमा रहिरहने अझ ऊ विशेष निधन भएको तिथि र पितृपक्ष (आश्विन कृष्ण पक्ष) सोह्र श्राद्धको समयमा पितृहरु अदृश्यरुपमा बासनामय कोष वायु प्रकाश आदि रुपले आफ्ना सन्तति कहाँ विचरण गर्ने गर्दछन् र पुत्रादि सन्ततिले प्रदान गर्ने पदार्थ, श्रद्धा, सम्मानबाट तृप्त बन्ने गर्दछन् । ती पिण्ड तर्पण आदिलाई यम, अर्यमा, आदित्य देवताले उनीहरु कहाँ पु¥याइदिन्छन् ।
जुन वैज्ञानिक पनि छ । आदित्य भनेका सूर्य हुन्, सूर्यले सोसेर प्रकाशद्वारा लिएर पितृ समक्ष पु¥याउने गर्दछन् । पितृहरुले सन्ततिहरुको श्रद्धा, निष्ठा, भावना नियाल्ने र उनीहरुले अर्पण गरेका श्रद्धाका रुप तर्पण आदिबाट परितृप्त भई आशिर्वाद प्रदान गर्दछन् भन्ने शास्त्रीय मान्यता रहेको छ । श्राद्ध कर्म नैतिक जिम्मेवारी पनि हो । श्राद्ध नगर्ने व्यक्ति एकातिर एकातिर निन्दित र नास्तिकरुपमा रहने हुन्छ भने अर्कातिर उसको समेत मृत्युपश्चात् सन्ततिले श्राद्ध नगर्ने हुँदा पितृलोकमा श्राद्धबाट प्राप्त हुने फलबाट वञ्चित हुने गर्दछ ।


























