‘मोसो’ समाधान होइन

0
90

झापा बिर्तामोडका एक व्यवसायी दुर्गा प्रसाईंलाई काठमाण्डौंमा एउटा समूहले सोमबार मोसो दलेको छ । होटल एलो प्यागोडामा पत्रकार सम्मेलन गरेर निस्किने क्रममा केही युवाले उनलाई दुव्र्यवहार गर्दै मोसो दलेका थिए । उनी केही समयदेखि बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहा लगायतका माग राखेर देशव्यापीरुपमा सभा गर्दैछन् । यो सँगै संघीयता खारेजी, हिन्दू राष्ट्र कायम तथा राजतन्त्र पुनर्वहाली समेत उनको अन्य एजेन्डा हुन् । पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापा ल्याएर राष्ट्र, राष्ट्रियता, धर्म र नागरिक बचाउ महाअभियानको घोषणा गरेका प्रसाईमाथि मोसो दल्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

हामीकहाँ विभिन्न आरोप लगाउँदै दुव्र्यवहार गर्ने, मोसो दल्ने तथा भौतिक कारवाही गर्नु परम्परा जस्तै भएको छ । काम नगरेको, घुस खाएको, अनियमितता र मनपरी गरेको जस्ता आरोप लगाएर कर्मचारी, जनप्रतिनिधि, शिक्षक तथा नेतामाथि मोसो दल्नु, आक्रमण गर्नु वा कुटपिट गर्नु सामान्य झैं लाग्न थालेको छ । दिनहुँ सार्वजनिक भइरहने यस्ता घटनाले देशमा विद्यमान बेथिति, विकृति र विसंगतिको अन्त्य हुन्छ त ? गम्भीर प्रश्न खडा हुन्छ । गैरकानूनी ढंगले गरिने कारवाहीले समस्या झन् बढाएको छ, विवाद झनै चुलिएको छ । कसै–कुनै एक व्यक्तिको सनकमा हुने यस्ता क्रियाकलापले न राजनीतिक स्थिरता कायम हुन्छ न त सुशासनको अनुभूति दिलाउँछ । आवेशमा आएर गरिने यस्ता अवाञ्छित, अमर्यादित र अशिष्ट गतिविधिले समस्या अझै गहिरिने निश्चित छ ।

त्यसो त निम्न वर्गीय नेपालीलाई चरम शोषण गरेको भन्दै बैंक तथा वित्तीय संस्थाका जिम्मेवार व्यक्तिलाई मोसो दल्ने उनको अभियान नै थियो । यस्ता समाचार पाठकका लागि रुचीकर पनि होलान्, तर त्यसको सामाजिक असरका बारेमा गम्भीर नहुँदा, जिम्मेवार निकाय उदासीन बन्दा त्यसले नकारात्मकता नै निम्त्याउँछ । कसैको व्यक्तिगत जीवनमाथि असर पर्ने यस्ता गतिविधि सभ्य समाजको पक्षमा पनि छैन र यसले शान्ति, सुशासन, अनुशासन, स्थिरता, समृद्धि र सहिष्णुताको रक्षा पनि गर्न सक्दैन । कुनै व्यक्तिको मर्यादा र अस्तित्वमाथि आघात पु¥याउने यस्ता अमर्यादित कामले भावी पुस्तालाई समेत नकारात्मक सन्देश प्रवाह गर्छ । प्रसाईंले पनि विद्यमान ऐन कानूनको बर्खिलाप जानु हुँदैन अनधिकृत दण्ड दिने कर्मलाई तत्काल रोक्नु पर्दछ । भएका अपराधका दोषीलाई कानूनको दायरामा ल्याउन राज्य पनि गम्भीर हुनुपर्छ । यस्ता समाचारले दिने नकारात्मक सन्देशको मूल्यांकन गर्दै शान्त, समृद्ध र सभ्य समाज निर्माणमा सबैको समन्वयात्मक सहयोग हुनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here