नागरिकको गुनासो सम्बोधन गर्न ‘हेलो सिएम’ को शुभारम्भ

0
4
मोरङ, 
कोशी प्रदेश सरकारले आजदेखि जनताको गुनासो सुन्न र सम्बोधन गर्नका लागि ‘हेलो सिएम’ गुनासो व्यवस्थापन प्रणालीको सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘हेलो सिम’ एवं गुनासो व्यवस्थापन प्रणाली एवं कक्षको डिजिटल माध्यमबाट शुभारम्भ गर्नुभयो ।
हाललाई बिहान १० देखि ५ बजेसम्म सरकारी तथा सार्वजनिक निकायबाट भएक काम कारबाहीका सम्बन्धमा प्रत्यक्ष एवं सरल तरिकाले गुनासो गर्न सकिने र प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गरी सुशासनको प्रत्याभूति गर्नु मुख्य उद्देश्य रहेको छ ।
प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०७६ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारद्वारा निर्देशिका बनाइ पोर्टल सञ्चालन गरिएको हो ।
मुख्यमन्त्री कार्कीले पोर्टलबाट शासकीय सुधारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन पोर्टलको माध्यमबाट महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले सुशासनबाट जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले जनताको जीउधन र विपद्सँग जोडिएका आपत्कालीन काममा तीब्रगतिमा प्रभावकारी तुल्याउन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले यो सेवाले सुशासन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अलग कक्ष निर्माण गरी कर्मचारीको व्यवस्थापन गरेर ‘हेलो सिएम’ सञ्चालनमा ल्याइएको छ ।
कोशी प्रदेश सरकारसँग भएका गुनासो वा अन्य सहयोगका लागि टोल फ्रि नम्बर १६६०२१५२००२ मा फोन गर्न वा https://hellocm.koshi.gov.np मा आफ्नो गुनासा राख्न सकिनेछ । आगामी केही दिनपछि २४ घण्टा यो सेवा सञ्चालन गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here