युद्ध समस्याको निकास होइन

0
6

युद्धले विनाश निम्त्याउँछ, हतियार दुरुपयोग गरिए व्यक्तिको मृत्यु हुन्छ । यी दुबैको कारण ‘कुरा’ हो र यसले विवाद, असमझदारी बढाउँछ । जुन विवाद हिंसा हुँदै युद्धमा परिणत हुन्छ । विश्व नै प्रभावित हुने गरी विगतमा दुईवटा युद्ध भइसकेका छन् । अझ दोस्रो विश्वयुद्धमा त आणविक हतियारको प्रयोग गरिएका कारण असंख्य मानिसले ज्यान गुमाउनुप¥यो भने कतिको अकारण मृत्यु भयो । त्यसैले यस्तो विनाशकारी हिंसा वा युद्ध भविष्यमा नहोस् अनि अत्यन्त सूक्ष्म आणविक हातहतियारको उत्पादन, परीक्षण पनि नगरियोस् भन्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा आणविक हतियार परीक्षणबिरुद्धको दिवस मनाउन थालियो ।

सन् २००९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभाले अगष्ट २९ तारिखलाई यो दिवसका रुपमा मनाउन गरेको निर्णय अनुसार प्रत्येक वर्ष विविध कार्यक्रम गरी मनाइन्छ । आणविक विस्फोट वा आणविक हतियार मुक्त विश्वको लक्ष्य अनुरुप त्यसको उत्मुलनको आवश्यकताका बारेमा चेतना जगाउने र प्रवाह गर्ने उद्देश्यले सन् २०१० देखि यो दिवस मनाउन थाले पनि विश्वका कति देशहरु आज पनि युद्धकै भुमरीमा छन् । हतियार कुनै पनि दुरुपयोग नहुँदासम्म मानिसका सहयोगी हुन्छन्, तर आणविक हतियार सहयोगी नहुने मात्र होइन त्यसको परीक्षणले नै विश्वको वातावरण, मानव स्वास्थ्यदेखि जलवायुकै अवस्थामा क्षति पु¥याउँछ । दोस्रो विश्वयुद्धकै विविषिकामा विश्वका करिब दुई लाख मानिसको ज्यान गएको थियो ।

विश्वका कति देशहरुले अहिले पनि भोकमरीको पीडा व्यहोरिरहेका छन् । बालबालिकाले पौष्टिक खाना खान पाएका छैनन् । जनसंख्याको ठूलो हिस्सा गरिबीको रेखामुनि छन् । तर, त्यही विश्वमा कुनै देश शक्ति राष्ट्र बन्ने ध्याउन्नमा ठूलो धनराशि खर्च गरिरहेका छन् । अति सानो परिमाणमा रहने यस्ता हतियारको परीक्षणमा मात्रले विश्वलाई ठूलो क्षति गर्दछ, झन् युद्धमै प्रयोग गरिए त्यसले गर्ने क्षतिको आंकलन नै गर्न सकिँदैन । त्यसैले मानव अस्तित्व नै समाप्त गर्ने यस्ता हतियारको उत्पादन मै रोक लगाउन, आममानिसमा जागरुकता ल्याउन यो दिवसले सचेत गराउनु पर्दछ ।

हामी सनातन धर्ममा विश्वास गर्नेहरुले त विश्वका सम्पूर्ण प्राणीहरुको रक्षा गर्नुपर्छ भन्छौं । अझ मानव जातिका बीचमा कुनै भूगोलको रेखाले विभाजित गर्नुहुँदैन र विश्व बन्धुत्वको भावनाले हेर्नुपर्छ भनेको छ । तर, हामीले समय–समयमा हिंसाको सामना गर्नुप¥यो । माओवादी सशस्त्र द्वन्द्वले हजारौं मानिसको अकाल निधन भयो । यस्तोमा अहिले पनि रुस–युक्रेन युद्ध चलिरहेको छ । सन् २०१४ देखि शुरु भएको यो युद्धलाई तेस्रो विश्वयुद्धको प्रस्थान विन्दु भन्न थालिएको छ । यद्यपि युद्ध रोक्न विश्वको प्रयास जारी छ । तर, युद्ध झन्–झन् भयावह बन्दैछ । भर्खरै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी युद्ध विरामकै प्रयोजनका लागि युक्रेन गए उनी फर्किएलगत्तै रुसले भीषण आक्रमण ग¥यो । उनीहरुको आपसी विवादले विश्वलाई असर गर्नुहुँदैन । युद्धले स्थायी शान्ति ल्याउँदैन । त्यसका लागि वार्तामा आउन र मानव अस्तित्वको रक्षा गर्न यो दिवसले प्रेरणा दिओस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here