रत्नबहादुर बस्नेत,
बिर्तामोड ।
किरात याक्थुङ चुम्लुङ बिर्तामोड-१०ले चासोक तङ्नाम उधौली पर्व विविध कार्यक्रमसहित मनाएको छ।
बिर्तामोड-१०स्थित जर्मनडाडामा उधौली न्वागी पूजासहित विविध कार्यक्रमको आयोजना गरी लिम्बू समुदायको संस्था कियाचु बिर्तामोड-१० वडा शाखाले उधौली पर्व येले तङ्बे ५०८४ हर्षोल्लासपूर्वक मनाएको हो।
वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्य तथा कियाचु बिर्तामोड-१०का अध्यक्ष चामबहादुर जबेगूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सल्लाहकार वेदबहादुर तेयुङले स्वागत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गुरुङ, सल्लाहकार संयोजक रिमानध्वज लोक्ताम, याख्खा छुम्मा जिल्ला अध्यक्ष टेकबहादुर देवानलगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा संस्थालाई आर्थिक सहयोग गर्ने दातालाई प्रशंसापत्रले सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेहरुमा टुकमाया लोक्ताम राई, विवेक लिङ्दम, नरमाया तुम्बापो, लोकेश कन्दङ्वा,इन्द्रमाया योङहाङ,विकास लोक्ताम, डम्बर तुम्रोक, कविराज योङहाङ रहेका थिए।
कार्यक्रममा जातीय भेषभूषासहित सांस्कृतिक नृत्य केलाङ च्याम्ब्रुङ,हाकपारे, धान नाच प्रस्तुत गरिएको थियो। कार्यक्रममा गायक कलाकार रिपना लिम्बू, र दिवस नेम्वाङले गीत तथा पालम प्रस्तुत गरेका थिए भने सहभागीले सामूहिक नृत्य गरेर कार्यक्रमा रौनक बढाएका थिए।
कार्यक्रममा संस्थाद्वारा आयोजित मनोरञ्जनात्मक खेलहरुमा विजयी प्रतियोगी छेलो हान्ने खेलमा कृष्णमान कन्दङ्वा, हण्डी फुटाउनेमा पुरुष तर्फ अभिषेक गुरुङ, महिला तर्फ साइना गुरुङ, म्युजिकल चियरमा आकृति लिम्बू र धनुषकाण खेलमा केशव राईलाई पुरस्कार वितरण गरिएको थियो।
कियाचु झापाका सचिव भीममाया नेम्बाङ कन्दङ्वा, बिर्तामोड नगर शाखा अध्यक्ष हिमालयप्रकाश कन्दङ्, राष्ट्रिय चुम्लुङ निवर्तमान सदस्य जनबहादुर जबेगू, वडा सदस्य धनमाया श्रेष्ठ, किरातेश्वर माङहिमका अध्यक्ष ओतराज बेघा, जग्गा दाता मोती जबेगू, कृष्ण तुम्रोकलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव सन्तोष बेघा र रविन जबेगूले गरेका थिए।