आयल निगमको चारआली डिपोका पाँच कर्मचारी निष्कासित, प्रमुखले बिनाकारण जागिरबाट निकालेको भन्दै न्यायका लागि हारगुहार

0
208

पार्थ मण्डल
झापा ।

झापाको मेचीनगरस्थित नेपाल आयल निगम चारआली डिपो प्रमुख गीता सापकोटा (धिताल) ले करार र ज्यालादारीका पाँच जना कर्मचारीलाई एकैपटक जागिरबाट निकालेकी छन् ।

डिपो प्रमुख सापकोटाले बिनाकारण जागिरबाट निकालिदिएपछि अहिले पीडित बनेका कर्मचारीहरू न्याय माग्दै सम्बन्धित निकाय धाइरहेका छन् । डिपो प्रमुख सापकोटाले आफूहरूमाथि ज्यादतिपूर्ण अन्याय गरेको भन्दै उनीहरूले नेपाल आयल निगमको केन्द्रीय तथा प्रदेश कार्यालय, जिल्ला प्रशासन कार्यालय झापा र श्रम तथा रोजगार कार्यालय झापामा न्यायका लागि हारगुहार गरिरहेका छन् । उनीहरूले प्रशासन तथा श्रम कार्यालयमा लिखित रुपमा ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म त्यसको सुनवाई भएको छैन ।

डिपो प्रमुख सापकोटाले केन्द्रीय कार्यालयको डाइरेक्टरहरूको आदेश हो भन्दै २०८१ पुस २९ गतदेखि डिपोमा कार्यरत ३ जना करार र ६ जना दैनिक ज्यालादारी गरी ९ जना कर्मचारीलाई एकैपटक जागिरबाट निकालेकी थिइन् । ९ जनामध्ये ज्यालादारीका सवारी चालक कुमारमणि दाहाल र करारका स्वीपर रामकिशोर मल्लिकलाई २४ घण्टा नबित्दै काममा फर्काइएको थियो ।

करारका मुना घिमिरे र चन्द्रकला राईलाई डिपो प्रमुख सापकोटाले तीन सातापछि बोलाएर काममा लगाइन् । पाँच जना ज्यालादारीका कर्मचारीहरू अमोद भट्टराई, चन्द्रकान्तलाल दास, शान्ता पोखरेल, गोविन्द पाठक र अस्मिता विक भने चार महिनादेखि कामविहीन बनेका छन् ।

निकालिएका कर्मचारीहरू ३देखि १५ वर्षसम्म डिपोमा कार्यरत थिए । तर, डिपो प्रमुख सापकोटाले केन्द्रीय कार्यालयको डाइरेक्टरहरूको आदेश हो भन्दै आफूहरूलाई जागिरबाट निकालिदिएको पीडित कर्मचारी अमोद भट्टराईको भनाइ छ ।

कामबाट निकालेको भोलिपल्ट हामी गेटसम्म पुगेर फर्कियौँ । त्यहाँ पुग्दा दुई जनालाई काममा फर्काएको थाह पायौं । त्यसपछि हामी पटक–पटक डिपो प्रमुख सापकोटालाई भेट्न कार्यालय पुग्यौँ । ‘हामी बालबच्चा भएको व्यक्तिलाई कामबाट निकाल्दिनुभयो, अब कसरी परिवार पाल्नु भन्दै भेटेरै उहाँसँग हारगुहार गर्दा समेत हाम्रो कुराको सुनुवाई चार महिना बित्दा पनि भएन’– पीडित कर्मचारी भट्टराईले भने ।

करारमा नियुक्ति गरिएकोमा दुई वर्षअघि नै ज्यालादारीमा झारेर अहिले कामबाट निकालिदिएको उनको गुनासो छ । कामबाट निकालेपछि हामी पीडितहरूले जिएमदेखि डाइरेक्टर सरहरूसँग बुझ्दा उहाँहरूले कामबाट निकाल्न भनेर कुनै आदेश नदिएको भन्दै अर्का पीडित कर्मचारी शान्ता पोखरेलले भनिन्– ‘६ वर्षदेखि काम गरिरहेका थियौँ, डिपो प्रमुखले बिनाकारण कामबाट निकाल्दा हामीहरू अन्यायसँगै मारमा प¥यौं ।’

देशभरि गरी करार र ज्यालादारीमा करिब ४ सय कर्मचारी निगममा कार्यरत छन् । कुनै ठाउँमा यसरी कर्मचारी निकालिएको छैन । ‘डिपो प्रमुखले हामीमाथि अन्याय गर्नुभयो’– उनले थपिन् । श्रीमानसँग छुटिएर छोरीसँग बस्दै आएकी अस्मिता विकको जागिर खोसिएपछि उनी थप पीडामा छिन् । तीन वर्ष भयो निगममा जागिर खाएको उनले भनिन् ।

कार्यालय प्रमुखले अराएको सबै काम गथ्यौं । तर, उहाँले हामीमाथि अन्याय गर्दै बिनाकारण जागिरबाट निकालिदिएपछि अहिले परिवार पाल्नै मुस्किल भइरहेको छ– उनले भनिन् । त्यस्तै अर्का पीडित गोविन्द पाठकले चारआली काम गरेको ६ वर्ष भयो । ‘डिपो प्रमुखले किन र के कारणले जागिरबाट निकालेको थाहा नै पाइनँ’– उनले भने– ‘घर पायक जागिर गुमेपछि चार महिनादेखि परिवार पाल्नै धौधौ भइरहेको छ ।’

‘सबैतिरबाट काममा फर्काइने आश्वासन मात्र पाइरहेका छौँ, तर अहिलेसम्म काममा बोलाएको चाहिँ छैन’– उनले थपे । हामीले न्यायका लागि सम्बन्धित निकाय गुहारिरहेका छौ । न्याय नपाए शान्तिपूर्ण आन्दोलनदेखि तालाबन्दीसम्मका कार्यक्रममा उत्रिन बाध्य हुने उनको भनाइ छ ।

यता घटनाको बारेमा बुझ्न खोज्दा डिपो प्रमुख गीता सापकोटाले बोक्ने अफिसियल नम्बरमा पटक– पटक फोन गर्दा कल रिसिभ भएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here