शिवगञ्ज, राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। आगामी दुई वर्षका लागि शिवराज राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
नेकपा एमाले शिवसताक्षी नगरपालिकाका अनुसार अध्यक्ष र उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिएको हो भने अन्य पदहरूमा सर्वसम्मत चयन गरिएको छ। अध्यक्ष पदमा राईले ३४ मत प्राप्त गर्दै निर्वाचित भए भने उनका प्रतिस्पर्धी प्रतीक बस्नेतले ३१ मत प्राप्त गरे। त्यस्तै, उपाध्यक्ष पदका लागि भएको मतदानमा संजोग दाहालले ३७ मत प्राप्त गर्दै निर्वाचित भए भने प्रतिस्पर्धी निशान लामाले २७ मत प्राप्त गरेका थिए।
अन्य पदाधिकारीहरू सचिव हेमराज पाण्डे, उप–सचिव सुशीला राजवंशी र वीर बहादुर कट्वाल, तथा कोषाध्यक्ष सचिन श्रेष्ठ सर्वसम्मत रूपमा चयन गरिएको निर्वाचन समितिले जनाएको छ। अधिवेशनमा नगरका ११ वटै वडाबाट ५५ जना प्रतिनिधिसहित आयोजक समितिका २४ जनासमेत गरी ७९ जना सहभागी थिए। तर मतदानमा ६५ जनामात्र सहभागी भए भने चार जना प्रतिनिधि वैदेशिक रोजगारीमा रहेका कारण अनुपस्थित रहेका थिए।
अधिवेशनको खुल्ला सत्र, बन्दसत्र र मतदान बिहीबार नै सम्पन्न भएको थियो। यसअघि अधिवेशनको उद्घाटन सत्र वडा नं ६ स्थित जेष्ठ नागरिक सामुदायिक भवनमा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सचिव निशा सुब्बा, नेकपा एमाले झापा सचिव तुलसी कार्की, युवा संघका केन्द्रीय सदस्य खगेन्द्रराज आङदम्बे, युवासंघ झापाका अध्यक्ष फुर्वा लामा, नेकपा एमाले शिवसताक्षी नगर अध्यक्ष मेदनी दंगाललगायतले युवा संघको भूमिका र योगदानबारे प्रकाश पारे।
वक्ताहरूले एमालेको संगठन सुदृढीकरणमा युवा संघको योगदान उल्लेख्य रहेको उल्लेख गर्दै संघका आगामी गतिविधि पार्टीको रणनीतिक लक्ष्य ८४ केन्द्रीत हुने धारणा व्यक्त गरे। कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवमा निर्वाचित निशा लिम्बु र झापा अध्यक्ष फुर्वा लामालाई बधाई तथा शुभकामना पत्र पनि प्रदान गरिएको थियो। अधिवेशनका क्रममा संघको दुई वर्षे कार्यकाल समेटिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन आयोजक समितिका संयोजक डेविड श्रेष्ठले सार्वजनिक गरेका थिए। कार्यक्रमको सहजीकरण नव निर्वाचित अध्यक्ष शिवराज राईले गरेका थिए।





























