अढाई वर्षीया सुरभीलाई सौतेनी आमाले शिलगढीमा छोडेपछि…

0
82

पार्थ मण्डल,
झापा ।

झापाको दमक–१ निवासी मनोज साहकी अढाई वर्षीया छोरी सुरभी (निमिसा) भारत पश्चिम बंगाल दार्जीलिङ जिल्लास्थित शिलगढीको एउटा पार्कमा बेवारिसे अवस्थामा फेला परेकी छिन् ।

गतअसार ३२ गते बिहान करिब ९ बजेको समयमा मनोजकी कान्छी श्रीमती अन्दाजी ३० वर्षीया शोभा साह छोरी सुरभीलाई लिएर बेपत्ता भएकी थिइन् । आमाछोरी घरबाट बेपत्ता भएको ६ दिनपछि छोरी सुरभी मंगलबार दिउँसो करिब २ बजे शिलगढीको सूर्यसेन पार्कभित्र एक्लै बसिरहेको अवस्थामा फेला परेकी थिइन् । त्यहाँको भाषा पनि नबुझ्ने राम्ररी बोल्न पनि नसक्ने सुरभीलाई पार्कका कर्मचारीले प्रहरी बोलाएर सकुशल उद्धार गरेका थिए ।

सुरभीसँग फोन नम्बर र एउटा चिठी फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा पार्कको सीसी टिभी फुटेज हेर्दा एउटी महिलाले ती बालिकालाई त्यहाँ छाडेर हिँडेकी थिइन् । त्यसपछि प्रहरीले उद्धार गरेकी बालिकालाई कुचविहारको एउटा अनाथालयलाई जिम्मा लगाए । त्यहाँका स्थानीय सञ्चारमाध्यमले सीसी टिभी फुटेजसहितको घटना सार्वजनिक गरेसँगै मनोजले छोरी सुरभी फेला परेको भनी खबर पाएका थिए ।

मनोजले तत्काल दमक प्रहरीको समन्वयमा काँकरभिट्टास्थित माइती नेपाल र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहयोगमा शिलीगढी प्रहरीसँग सम्पर्क गरे । छोरीलाई लिन मनोज आवश्यक कागजातसहित बुधबार नै शिलगढी पुगेका थिए । मनोज कानूनी प्रक्रिया पूरा गरी छोरी लिन भारतमै रहेको बुझिएको छ । मनोज शिलगढी प्रहरीको सम्पर्कमा पुगेपछि मात्र पार्कमा फेला परेकी सुरभीलाई उनकै कान्छी आमाले छाडेर गएको भनी घटना खुलेको थियो । मनोजकी कान्छी श्रीमती शोभा भने अझै सम्पर्कविहीन छिन् ।

घटना विवरण अनुसार मनोजकी जेठी श्रीमती रुबीको छोरी हुन् सुरभी । सुरभी जन्मेको दुई दिनमै उनको आमाको निधन भएको थियो । छोरीको हेरचाह तथा पालनपोषणका लागि मनोजले करिब ८ महिना अघि दोस्रो विवाह गरी शोभालाई भित्र्याएका थिए । तर, शोभासँग मनोजको सम्बन्ध खासै राम्रो भएन । उनीहरुबीच झैझगडा भइरहन्थ्यो ।

‘परिवारमा झैझगडा हुनु सामान्य कुरा हो’– मनोजले भने– ‘शोभाले छोरीलाई लिएर घरबाट हिँड्नु, र त्यसको केही दिनपछि छोरीलाई भारत पु¥याएर एउटा पार्कभित्र एक्लै छाडेर आफू चाँहि सम्पर्कबिहीन हुनु त्यो राम्रो भएन ।’ शोभा पहिला पनि कसैलाई नभनी एक्लै घरबाट हिँडेकी थिइन् । पटक–पटक त माइत गएर बसिन् । माइती पक्षले नै सम्झाइबुझाई शोभालाई घरमा ल्याएर छाड्ने गरेको घटना पनि मनोजले सञ्चारकर्मीलाई सुनाए ।

यसपटक शोभा छोरीलाई समेत लिएर बेपत्ता भएकी थिइन् । छरछिमेक तथा आफन्तजनमा पनि उनीहरू फेला नपरेपछि इलाका प्रहरी कार्यालय दमकमा हुलियासहित उजुरी दिएको मनोजले बताए । धन्न छोरीलाई केही भएन, सकुशल भेटियो । ‘शोभा अझै भेटिएकी छैन’– उनले भने । शोभाको पनि खोजी गरिदिन भारतीय प्रहरीलाई उनले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here