नमूना सामुदायिक वनको २६औं साधारण सभा सम्पन्न

0
53
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका–९ र ११स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको २६औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
स्थानीय भूवनेश्वर शिव पाञ्चायन आनन्द मन्दिरको सभाहलमा समूहका अध्यक्ष जागिरमान राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष राईले संस्थाको गत आर्थिक वर्ष २०८१÷०८२को वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक सूर्यप्रकाश भट्टराईले आर्थिक प्रगति प्रतिवेदन र सचिव मोहनप्रसाद चौलागाईंले चालु आर्थिक वर्ष २०८२÷०८३को अनुमानित बजेट, वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संस्थाले गत आर्थिक वर्षमा स्थानीय बिहीबारे बजार क्षेत्रमा अर्जुनधारा नगरपालिकासँगको साझेदारी (६०ः४०) मा ३२ लाख ६३ हजार एक सय ९७ रुपैयाँ बराबरको २२ वटा टहरा निर्माण, राष्ट्रपति चुरेबाट प्राप्त १५ लाख रुपैयाँको लागतमा लक्ष्मीधाप माछा पोखरीमा ढुङ्गाजाली निर्माण, डिभिजन वन कार्यालय झापाको पाँच लाख आठ सय रुपैयाँको लागतमा डिमडिमे पोखरीमा बाँध निर्माण, समूहको ब्लक नं. २मा वनको सिमाना कायम गरि अर्जुनधारा–११को एक लाख रुपैयाँ, अर्जुनधारा नगरपालिकाको ५० हजार रुपैयाँ र समूहको पाँच हजार रुपैयाँसहित जम्मा एक लाख ५५ हजार रुपैयाँको लागतमा बाटोको ट्रयाक निर्माणलगायतका कार्यहरु सम्पन्न गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी गत आर्थिक वर्षमा ७५ लाख ५५ हजार दुई सय ९२ रुपैयाँको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्षको लागि अनुमानित ४२ लाख २० हजार पाँच सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।
जसअनुसार वन विकासतर्फ २१ लाख १० हजार दुई सय ५० रुपैयाँ, गरिबी न्यूनिकरण तथा महिला विकासतर्फ सात लाख ३८ हजार पाँच सय ८७ रुपैयाँ ५० पैसा, प्रशासनिकतर्फ छ लाख १० हजार रुपैयाँ, सामाजिक विकासतर्फ पाँच लाख ५० हजार छ सय ३७ रुपैयाँ पाँच पैसा, मानव तथा वन्यजन्तु सहअस्तित्व न्यूनिकरणतर्फ एक लाख पाँच हजार पाँच सय १२ रुपैयाँ ५० पैसा र अध्ययन अवलोक भ्रमणतर्फ एक लाख पाँच हजार पाँच सय १२ रुपैयाँ ५० पैसा विनियोजन गरिएको छ ।
कार्यक्रममा अर्जुनधारा नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भानुभक्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी अर्जुनधाराका अध्यक्ष विजय कुँवर, नेपाली काँग्रेस अर्जुनधारा–११का सभापति जगत राना मगरलगायतले मन्तव्य राखेका थिए । समूहकी उपाध्यक्ष टिकामाया मैनाली गौतमले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here