
कागजको होइन, स्याहीको होइन, भवनको होइन– सिद्धान्तको आयु हो । सत्य, मानवीयता र विवेक त्रयीमा उभिएर अघि बढेको यो यात्रामा पूर्वाञ्चल दैनिक पूर्वी नेपालको सामुहिक आत्मा, सामुहिक इतिहास र सामुहिक चेतनाको सबैभन्दा विश्वसनीय दर्पण बनेर उभिएको छ । ३१औं वर्षमा पूर्वाञ्चल दैनिकलाई गहिरो सम्मान, हार्दिक बधाई र उज्यालो भविष्यका लागि शुभकामना ।
पूर्वाञ्चल दैनिकका सम्पूर्ण पाठक, शुभचिन्तक, सञ्चारकर्मी तथा सम्पूर्ण विज्ञापनदाता महानुभावहरूमा वार्षिकोत्सवको हार्दिक शुभकामना व्यक्त गर्दछु । दुई दशकअघि २०५९÷०६० सालतिर आन्तरिक चुनौतीका कारण अस्थायी रूपमा बन्द भएको यस पत्रिकालाई प्रकाशक भरतलाल गिरीज्यूको विश्वासका आधारमा भद्रपुरबाट दैनिक धाएर पुनः सञ्चालन गर्ने जिम्मेवारी मलाई सुम्पिनुभएको क्षण आज पनि स्मरणीय छ ।
बन्द अवस्थामा रहेको पत्रिकालाई पुनर्जीवन दिन पाउनु, त्यसलाई निरन्तरतर्फ उन्मुख गराउन पाउनु र आजसम्म पनि यसको स्तरीयता कायम रहनु– यो सम्पूर्ण श्रेय पूर्वाञ्चल परिवार, पढ्ने पाठक र साथ दिने समुदायकै हो । पत्रिकाको निरन्तरताको लागि द्वन्दको प्रचण्डकालमा प्रेसमा छाप्न योग्य पारेर दैनिक रातको ९ ÷१० बजे भद्रपुर फर्केको त्यो क्षण सम्झँदा आज पनि गर्व लाग्दछ ।
आजको परिवेशमा छापा सञ्चार माध्यमहरू चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । डिजिटल सूचना प्रवाहको घनत्व, सामाजिक सञ्जालको छिटोपन र पाठकीय बान्कीको परिवर्तनले मुद्रित पत्रिकाको भविष्यलाई परीक्षा लिन थालेको छ । यद्यपि–विश्वसनीयता, तथ्यपरकता, गहिराइपूर्ण विश्लेषण र समुदायसँगको जीवन्त सम्बन्ध–यी गुणहरू अझै पनि छापा माध्यमकै बलियो पहिचान हुन् ।
यही कारणले पूर्वाञ्चल दैनिक जस्ता जिम्मेवार सञ्चारमाध्यमहरूको भूमिका अझ महत्वपूर्ण बनेको छ । समुदायको स्वरलाई समेट्ने, वास्तविकतालाई निष्पक्षरूपमा प्रस्तुत गर्ने र पाठकलाई सही दृष्टिकोण प्रदान गर्ने यो यात्रामा पत्रिका अझ उचाइमा पुग्ने विश्वास लिएको छु ।
यस पत्रिकाले निरन्तरता, अनुशासन, स्तरीयता र विश्वसनीयताको जुन मानक स्थापित गर्दै आएको छ, त्यसले भविष्यमा पनि पत्रकारिताको नयाँ पहिचान र मार्गनिर्देशन गर्नेछ भन्ने दृढ विश्वास छ ।
यस अवसरमा म पूर्वाञ्चल दैनिकलाई–
‘सबैभन्दा विश्वसनीय स्थानीय पत्रिका’ र
‘समुदायको आवाज, विकासको सहयात्री’
बनाउने यात्रामा सफलताको हार्दिक कामना व्यक्त गर्दछु । पत्रिकाको सम्पूर्ण टिमलाई–अझ ऊर्जा, अझ निष्ठा र अझ पेशागत सफलताका लागि हार्दिक शुभकामना । पाठक तथा सहयोगीहरूलाई निरन्तर आस्थाका लागि धन्यवाद, हार्दिक शुभकामनासहित ।


























