
आवरण पृष्टको सिरानमा निलो अक्षरले ऐँसेलु शीर्षक र मध्यभागमा युवतीको चित्र चित्राङ्कित ‘ऐँसेलु’ उपन्यास साहित्यकार, समीक्षक तथा पत्रकार भुवन तामाङको प्रथम आख्यानात्मक कृति हो । २०५५ सालमा प्रकाशित ऐँसेलुको प्रकाशक गोपाल केसी हुन् ।
मन्तव्य भनिए तापनि उपन्यासको भूमिका र सम्पादन दुबै जिम्मेवारी समालोचक देवीप्रसाद सुवेदीले लिएको उपन्यास ऐँसेलुमा लेखक भुवनद्वारा शून्यपृष्टको अन्तिम पृष्टमा ‘जननी ! खै के दिन सकिँदोरहेछ र खाली लिनु मात्र त रहेछ नि, तापनि आफ्नो तर्फबाट यो सानो भेट तिमीलाई’ भन्ने अत्यन्त सरल र हृदयस्पर्शी शब्दमा जननी र जन्मभूमि दुबैमा समर्पण गरिएको सुन्दर अभिव्यक्ति छ । ऐँसेलुको आख्यानात्मक कथा कुनै जासुसी, तिलस्मी अर्थात् अलौकिक नभई अग्र्यानिक प्रेमाख्यान हो भन्नु पर्छ । ऐँसेलु प्रेमिल कथामा आधारित उपन्यास भए पनि यो पृथक प्रेम परिभाषामा आधारित छ । त्रिकोणात्मक प्रेमकथा जस्तो देखिए पनि ठ्याक्कै त्रिकोणात्मक हो भन्न सकिन्न । बबिनले शुरुमा ऐँसेलुसँग देखाएको एकल प्रेमाशक्ति ऐँसेलुले स्वीकारेपछि आदर्श प्रेममा परिणत हुन्छ, तर पुनः ललिताको बबिनप्रति देखिएको प्रेमाशक्ति एकात्मक, पूर्ण स्वार्थ सहित प्राप्ति प्रेम देखिन्छ । यस अर्थमा बबिन र ललिताको स्वार्थपूर्ण प्रेम र ऐँसेलुको चाहिँ सच्चा र आदर्श प्रेममा परिभाषित भएको छ ।
पहाड, वनजङ्गल, खोलानाला लगायतका प्राकृतिक सौन्दर्यको आनन्दानुभूत गर्दै नवजवान एक सुन्दर जोडी आफ्नो पुख्र्यौली थलोमा आइपुग्छन् । वैदेशिक मोहमा तानिएर मुङ्लानिएका पुर्खाको त्यो गल्तीलाई सच्याउन र पुख्र्यौली थलोलाई सेवा पु¥याउन आइपुगेका कुन्दन र अञ्जलीको त्यो जोडीको प्रसङ्गद्वारा उपन्यास ऐँसेलुको बीजारोपण हुन्छ । उक्त पुख्र्यौली थलो त्यस पहाडी गाउँको सम्मुन्नतिका लागि केही शिक्षा र सामाजिक विकासका आधारहरू तय गरी प्रारम्भिक कार्य आरम्भ गर्दागर्दै कुन्दन र अञ्जलीलाई सन्तानको रूपमा छोरी ऐँसेलु प्राप्त हुन्छिन् । तर, अञ्जली र कुन्दनको दाम्पत्य जीवनयात्रा अल्पायु हुन्छ । षडयन्त्रको शिकार भई कुन्दनको अवसान र अञ्जलीले पनि चिचिली ऐँसेलुलाई च्यापेर पलायन हुन बाध्य हुनुपर्छ । तिनै ऐँसेलु नै उपन्यासकी शीर्ष पात्र हुन् ।
उपन्यासमा स्थापित समाज आमसमाज जस्तै नायकी र खलनायकी चरित्र मिश्रित द्वन्द्वात्मक परिवेशभित्र बाँचेको छ । असल कर्म गर्न चाहने वा गर्नेलाई सकेसम्म निमोठ्ने, दबाउने वा सिध्याउने खलनायकी चरित्र सकेसम्म हावी हुने प्रचलनकै कारण समाजमा शिक्षा, स्वास्थ्यको जग हाल्ने र न्याय निरुपण गर्न चाहने कुन्दनको हत्या आफ्नो हैकम र शोषणको वर्चस्व बचाउन माहिर गाउँबुढोले गराउँछ र अञ्जलीलाई समेत पाँच महिनाकी दूधमुखे ऐँसेलुको ज्यानको पासो थापी गाउँबाटै लखेटेर आफ्नो बाटोको काँडो पन्छाउँछ । आफ्नी दूधमुखे छोरीलाई अर्कैको घरमा राखेर आफ्नो जीवनको पूर्व अवस्थालाई गुमनाम राखी जीवन संघर्षको मैदानमा उत्रिएकी अञ्जलीको अर्को देखिने जीवन कथा उद्योगपति विनयको कम्पनीमा कामदारबाट प्रवेश गरी उद्योगपतिका रूपमा स्थापित हुन्छ ।
उद्योगपति विनय र अञ्जलीकी छोरी ललिताको जन्म हुन्छ । ललिताको विद्यालयल प्रवेशको महत्वपूर्ण समयले ऐँसेलुलाई त्यही घरमा प्रवेश गराउँछ । ऐँसेलु र ललिता दिदी बहिनीमै स्थापित भए पनि, अञ्जलीले आफ्नै छोरी साथमा पाए पनि, ऐँसेलुले आफैंलाई जन्मदिने अञ्जलीकै साथ पाए पनि आमा पाएको अनुभूति पाइनन् । लेखक यति जब्बर देखिन्छन् कि विनय र ललितालाई ऐँसेलुको बारेमा यथार्थ कुरा त भनाएनन्–भनाएनन् स्वयम् ऐँसेलुलाई समेत तिमी मेरी छोरी हौ भनेर अञ्जलीलाई भनाएनन् । यहाँनेर लेखकले अञ्जली मार्फत नारीभित्रको गुपचुपलाई दर्शाएका छन् । विनयले भने ऐँसेलुले एउटै नराम्रो काम नगर्दा पनि राम्रो गरÞ्यौ भन्न नसक्नु र ललितालाई उछिनेर गरेको प्रगतिमा खुसी हुन नसक्नु पुरुषभित्र जाग्ने अभिमान र आफ्नो सन्तानको तर्फबाट गरिने डाढेपन हो ।
उपन्यास ऐँसेलु नारी चरित्र र संघर्षको कथाको बुनौटोले बुनिएको नारीवादी उपन्यास हो । उपन्यासकी शिर्ष पात्र ऐँसेलु भए पनि जीवन संघर्ष, चरित्र, सिप र साहसको कारणले अञ्जलीको जीवनवृत्तमा उपन्यास घुमेको छ । अञ्जली उपन्यासमा आधार पात्रको रूपमा स्थापित छन् । चाहे उनी पूर्व पति कुन्दनसँग रहँदा होस् या पति विनयसँग रहँदा । अञ्जलीको कार्यकुशलता, क्षमता र जिम्मेवारीमा निर्णायक भूमिका देखिन्छ । हिजो कुन्दनको सामाजिक प्रतिष्ठा गाउँबुढोको भन्दा अग्लिनु र आज विनयको पनि सामाजिक र आर्थिक दुबै क्षेत्रमा प्रतिष्ठा चुलिनुको मुख्य कारण अञ्जली देखिन्छिन् ।
कालचक्रमा निथ्रिएको, अर्थतन्त्र र प्रतिष्ठा पनि अञ्जलीकै अथक प्रयत्न र कार्यकुशलताले गर्दा पूर्ववत् रूपमा पुनः स्थापित भएको देखिन्छ । यद्यपि गुमेको सम्पति पुनः फर्काउन ऐँसेलुको अदृश्य तर उल्लेखनीय भूमिका देखिन्छ । व्यवसायिक त्यसमाथि पनि सरकारी कर्मचारी र राजनीतिक नेताहरूको विश्वास पात्र वकिलबाट काम पटाउन सामान्य नागरिकको पहुँचभन्दा टाढाको कुरा हो । त्यसो हुँदाहुँदै पनि विदेशी संस्थामा कार्य दिलाउने प्रलोभनमा पारी स्वयम् त्यही वकिलकै किर्ते कानूनी सल्लाहले बबिन र उसको बाबुले हडपेको अञ्जली र ललिताको सम्पत्ति फिर्ता गराउन सफल बनेकी ऐँसेलुको साहस र क्षमता उल्लेखनीय छ । बबिनसँगको प्रेममा आफ्नै बहिनी ललिताबाट तुसारापात भई बबिन आफूबाट खोसिएको पीडामा बिना जानकारी विदेश पलायन भएकी ऐँसेलुले ललिताको सम्पति फिर्ता गराउने कार्यद्वारा आफूलाई ढुङ्गाले हान्नेलाई फूलले हानेको प्रमाणित गरेकी छन् । आफ्नो निर्णय राख्न नसक्ने अरूको निर्णयमा बग्ने बबिनलाई कानूनको दायरामा ल्याई सजाय दिलाउने कर्मले एकै तीरले दुईवटा सिकार सफल भएको प्रमाणित भएको छ ।
उपन्यासमा यो प्रसङ्ग निकै उच्च स्तरको छ । स्वदेशमा एउटा बबिनको कारणले विदेशिएकी ऐँसेलु विदेशमा पनि स्वार्थी र कामुक स्वभाव भएका पुरुष चरित्रका कारण उनमा पुरुषहरू प्रति अपरिवर्तनीय अविश्वास पलाएको र उनीबीच दोस्रो प्रेम नपलाएको स्पष्ट छ । अझ उनले आफ्नो निवृत्त जीवन नाम्चे बजारमा अनाथ बालबालिकाका लागि बालग्राम खोलेर असहायहरूकी सहारा बनेर जीवन व्यतीत र बिसर्जन गरेको प्रसङ्गले उनी साँच्चै दृढभावले विरक्तिएकी हुन् भन्ने लागे तापनि जीवनको आखिरी क्षणमा बबिनसँग सन्तान मोह दर्शाएर दुःख व्यक्त गर्नुले केही पछुतो र विचलन देखिन्छ । ऐँसेलुले फर्काइदिएको प्रेम प्रतिक औंठी जीवनको आखिरी क्षणमा बबिनले पुनः लगाइदिँदा हार्दिकतापूर्वक स्वीकार्नु जीवन्त र दृष्टान्त प्रेममा प्रमाणित हुन्छ ।
ललिता भौतिक तथा आकर्षण प्रेममा लट्ठिएका प्रेमिका समूहकी प्रतिनिधि पात्र हुन् । उनको प्रेममा स्वार्थ र प्राप्ति देखिन्छ, त्याग र अन्तर आत्मिक समर्पण पाइन्न । उनको प्रेम चरित्र शिथिल, निकम्बा र मृत प्रायः छ । उपन्यासमा स्थापित अर्की नारी पात्र ललिता र बबिनकी छोरी रञ्जिता हुन् । उनी पारिवारिक प्रेमकी भोकी छन् । बाबुआमा दुबैको संयुक्त स्नेह र ममताले मात्र आफू एकल सन्ततिको जीवन सार्थक हुने कुरामा अभिलाशी छन् । रञ्जिता नयाँ र सर्वहिताय कार्यले समाजमा स्थापित हुँदा सन्तुष्टि प्राप्त हुने र आफ्नो जन्मदेखि नै बिछोडिएका मातापिताको समेत पुनर्मिलन गराउन सकिने शिक्षा आफ्नी ठूली आमा ऐँसेलुबाट प्राप्त गरी बहुमुखी शिक्षालय स्थापना गर्न पुग्छिन् । यो नयाँ पुस्तामा पलाएको सकारात्मक भावको सन्देश हो ।
ऐँसेलुको प्रेममा तिर्खाएको तर ललिताको प्रेमद्वारा पछारिको र बाबुआमाको बहकाउले लत्रिएको बबिन नाम मात्रको कायर नायक देखिन्छ । उपन्यासमा उसको भूमिका कलेजमा होनहार विद्यार्थीको रूपमा र विवाहपछि ललिताको सम्पत्ति हत्याउनेसम्म मात्र सक्रिय देखिन्छ । त्यसपछि ऊ जेल सजाय पनि भोग्न बाध्य लाचार नायक हो । उपन्यासमा विनयलाई उद्योग, व्यापार व्यबसाय र आर्थिक मेरुदण्डको प्रतिनिधि पात्रको रूपमा स्थापित गरिए पनि मुलुकमा व्याप्त भ्रष्टाचार, कमिशन र चन्दा आतंकका कारण फस्टाउन नसकेको र उद्योगी व्यवसायीहरू उल्टै नेताको गुलामी बन्नु परेका कारण देशका उद्योगधन्दा, व्यापार–व्यवसाय धरासाही बन्दै अर्थतन्त्र मृत प्रायः भएको उदाहरण प्रष्टिन्छ, जसको कारण सच्चा उद्योगी विनयको दुःखद् अवसान ठ्याक्कै देशको आजको परिस्थितिसँग मेल खान्छ । मुलुकको अर्थतन्त्र सीमित र मुट्ठीभर पहुँँचवालाहरूद्वारा लेनदेन हुँदै विदेशीको कब्जामा पुगेको कुरा पाश्र्व शब्दचित्रमा देखाएका छन् उपन्यासकारले । बबिनका बाबु त्यसैको प्रतिनिधि पात्र हुन् । कमिशन, घुसखोरी र भ्रष्टाचारका नायक मानिन्छन् उनी ।
मुलुकमा व्याप्त कर्मचारी हावीतन्त्रका कारण जनप्रतिनिधिहरू पनि जनहित कर्म र मुलुक समुन्नतिको बाटोमा नहिँडेको प्रष्टिन्छ । २०५४ मा लेखिएर २०५५ मा प्रकाशनमा आएको ऐँसेलु उपन्यासको एक प्रसङ्गमा विषय, यावत घटनाक्रम र पात्रको चित्रणमा भर्खरै गुज्रिएको जेन–जी आन्दोलनअघि देशले भोगिरहेको अवस्थाको चित्रण छ । यस अर्थमा उपन्यासकार भुवन विगत र वर्तमानको मात्र ख्याल गर्दैनन् आगतप्रति पनि उत्तिकै सचेत छन् र दूर दृष्टिकोण राख्ने सर्जक हुन् भन्ने प्रमाणित हुन्छ ।
ऐँसेलु उपन्यास सार्थक र सफल छ भन्ने आधार छन् । शीर्षक सार्थक छ । भाषा सरल, बोधगम्य र खारिएको छ । उपन्यास लिग नछोडी हिँडेको ट्रेन जस्तै लाग्छ । कथामा जोडिन आएका पटकथा वा कथानकता विशृङ्खलित छैनन् । उपन्यासले बहुविषयलाई जोडेता पनि उपन्यासको मूलप्राण प्रेम हो । सत्य प्रेमको परिणाम सुखद् हुन्छ भन्ने कुरा जीवनको आखिरी घडीमै सही ऐँसेलु र बबिनको सुखद् मिलनले उपन्यास संयोगात्मक देखिन्छ । आमाबाबु त्यतिखेर सफल हुन्छन्, जतिखेर सन्तानले दर्बिलो आँट र भरोसाले सुखद् भविष्य रोप्छन् । उपन्यासमा रञ्जिताले रोपेको भविष्यको सपना पछिल्लो पुस्तालाई आशावादी बनाउने सन्देश हो । ऐँसेलु उपन्यासका घटनाक्रम र पात्रहरूलाई नियाल्दा समाज औ पात्र परिस्थितिको दास हुन्छ भन्ने कुरा उपन्यासमा लेखकले देखाउन खोजे पनि स्वयम् लेखकका पनि केही दुर्बल पक्षहरू प्रष्ट देखिन्छन् ।
उपन्यासका औपन्यासिक आधारभूत तत्वहरू, विषयलाई कहानीको रूपमा स्थापित गर्ने कथा, कथालाई बिस्तार गर्ने कथानकता, सजीव तुल्याउने पात्र, जीवन्त राख्ने सम्वाद र देश, काल र परिस्थिति जनाउने स्थानको संयोजनले सशक्त र प्रबल बन्छ । ऐँसेलु उपन्यासमा नाम्चे बजार र बालग्राम बाहेक स्थान, समय र संस्थाको किटानी नभएका कारण प्रवलतामा कमजोर देखिन्छ । पहाडको पुख्र्यौली गाउँ, शहर र प्रमुख स्थलहरू, विदेश र विदेशका आकर्षक शहरहरू, विनयको उद्योग, ऐँसेलुले काम गरेका एजेन्सी र नियोगहरू लगायतका संस्थाहरू सबै–सबै बेनामे छन् । पात्र सम्वादलाई बढी प्रयोग गर्नु पर्नेमा कतिपय ठाउँमा लेखक बढी एकालाप र झिनामसिना कुरामा अल्झिएका छन् । ललिताले बबिनलाई प्रेमपासोमा पार्ने तरिका नारीहठको उदाहरण भए पनि पिकनिकमा मासु सेकाउने दाउराको व्यवस्थापन नभएकाले बबिन र ललिता मात्र गएर त्यत्रो समय अल्मलिँदाको प्रसङ्गलाई हेर्दा लेखक अल्मलिएको स्थिति देखिन्छ । गाउँबुढोलाई खलनायकी भूमिकामा देखाइएको छ ।
गाउँबुढो शब्द खलनायकी चरित्रमा प्रयोग गरिने भन्दा पनि अभिभावकीय चरित्रमा स्थापित शब्द र दर्जा हुनाले गाउँबुढोको ठाउँमा खलनायकी भाव आउने अर्को शब्द प्रयोग गर्दा राम्रो हुने थियो । कुन्दनको ज्यानको बदला ज्यान नै लिएर गाउँबुढोसँग प्रतिशोध साँध्न अञ्जलीले तय गरी पठाइएका असफल व्यक्तिहरू नाटकीय पात्र झैं लाग्छन् । बबिनले ललिताको हत्याका निम्ति साथ लिएको साथी र घटना पनि नाटकीय लाग्छ । नाम्चेबजारमा पानीपुरी र चटपटे बेच्न पुगेका भारतीय सस्ता व्यापारीहरूको उपस्थिति र सम्वाद अस्वभाविक र हास्यास्पद लाग्छन् । त्यति हुँदाहुँदै पनि १३७ पेज र ३० परिच्छेदमा समेटिएको भुवनको प्रथम प्रयास ऐँसेलु उपन्यासको नाम र कथा प्रत्येक पाठकको मनमुटुमा छाप लाग्ने स्मरणीय र मौलिक लाग्छ ।
अन्त्यमा यति सशक्त आख्यानात्मक ऊर्जा र औपन्यासिक चेत भएका लेखक भुवनले दोस्रो कृतिका लागि किन कलम उठाएनन् ? यो एउटा प्रश्न लेखकसँग जवाफ मागेर उभिएको छ ।


























