भद्रपुर, ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (मंगलबार) विभागीय टोली एपिएफ फुटबल क्बल र पूर्वी हिमालको टोली पदमा स्पोर्टस् क्लब प्रतिस्पर्धा गर्दैछन् ।
बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत मेची रंगशाला भद्रपुरमा दिउँसो हुने चौथो दिनको खेलमा बलियो टिम एपिएफसँग पदमाले सामना गर्दैछ । एपिएफले राष्ट्रिय खेलाडी अनिता केसी, रश्मिकुमारी घिसिङ, गीता राना, रेनुका नगरकोटी, अनिता बस्नेतसहित स्टार गोलकिपर अञ्जना रानालाई मैदान उतार्नेछ ।
मोफसलका साना प्रतियोगितामा बाक्लो सहभागिता जनाउँदै आएको पदमा स्पोर्टसे क्लबले स्मिता सुन्दासजस्ता भरपर्दा खेलाडीको साथ पाउनेछ । पदमाले गत वर्ष नुवाकोटमा भएको प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा एपिएफसँग ४-० को हार व्यहोरेको थियो ।
त्यस्तै, २०८२ फागुनमा चितवनमा भएको चौथो रत्न प्रिय कप महिला फुटबलको उपविजेता बनेको पदमा पूर्वको उदाउँदो महिला टिम हो । यो प्रतियोगितामा संकटा फुटबल क्लबले पदमालाई ५-१ गोल अन्तरले हराएको थियो ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ र ट्रफी पाउने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताए । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउने सचिवालय प्रमुख हिमाल खरेलले बताए । प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुनेछ ।






























