लाहा उत्पादन झापामै

0
1460

झापा।

झापा गौरादह–२का डम्वरबहादुर विकले लाहा उत्पादन शुरु गरेका छन् ।

लामो समयसम्म भारतको लाहा उत्पादन कम्पनीमा काम गरेर फर्किएका बिकले शुरुमा धनकुटा र तेह्रथुम लगायतका जिल्लाबाट कच्चापदार्थ झिकाएर लाहा उत्पादन गर्न थालेका हुन् । तर, गत वर्षदेखि उनले कच्चा पदार्थ समेत आफैं उत्पादन गर्दै आएका छन् ।

लाहा आगोमा छिट्टै पग्लने र विभिन्न काममा उपयोगी हुने एक प्रकारको वस्तु हो । जुन वस्तु उत्पादनका लागि किराको आवश्यकता पर्दछ । विशेष गरेर पहाडको फेदीमा बयर, खयर, सिरिस, सिसौ, रहर लगायतका बनस्पतिमा बस्न रुचाउने किराको लाईबाट लाहाको कच्चा पदार्थ उत्पादन हुने गरेको विकले बताए ।

भारतको कलकत्तास्थित चप्रा फ्याक्ट्रीमा झण्डै सात वर्ष काम गरेका उनले झापामा लाहा उद्योग आवश्यक रहेको भन्दै यस वर्षवाट गौरादहमा लाहा उत्पादन शुरु गरेका हुन् । घरेलु तथा साना उद्योग कार्यालयमा निर्मल चप्रा उद्योग स्थापना गर्दै उनले अहिले दैनिक ३५ केजीसम्म लाहा उत्पादन गर्दै आएका छन् ।

लाहालाई नेपालमा चप्रा, गाल, साज आदि नामबाट चिनिने विकले बताए । लाहा उत्पादनका लागि आफूहरुले १५ लाख रुपैयाँ लगानी गरेको र ५ जनालाई रोजगारी समेत दिएको विकको भनाइ छ । २०४० सालदेखि रोगजारीका लागि भारतका विभिन्न ठाउँमा काम गरेका उनले पछिल्लो समय लाहा उत्पादन फ्याक्ट्रीमा काम गरे अनि सोही फ्याक्ट्रीमा उत्पादित लाहाको मार्केटिङ गरेका थिए । लामो समयसम्म लाहाको मार्केटिङ गरेका उनले नेपालमा करोडौं रुपैयाँको लाहा भित्रिने गरेको थाहा पाएसँगै आफूले मार्केटिङ छाडेर लाहा उद्योग सञ्चालन गरेको बताएका छन् ।

शिलबन्दीका लागि प्रयोग हुने लाहा फर्निचर, हार्डवेयर र सुनचाँदी व्यवसायीले अत्यधिक प्रयोग गर्ने गरेको विकको भनाइ छ । झापाका फर्निचर व्यवसायी, हार्डवेयर व्यवसायी र सुनचाँदी व्यवसायीले भारतबाट लाहा आयात गर्ने गरेका छन्– विकले भने– ‘लाहाको उत्पादन झापामै गर्न सके भरतबाट लाहा आयात कम हुने र विदेशिने रकम रोकिने थियो ।’

विकका अनुसार एक केजी लाहा आयात गर्दा व्यवसायीले चार हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । भारतमा उत्पादित लाहा जापान निर्यात हुने गरेको बताउँदै विकले भने– ‘राम्रो लाहा विदेशमा नेलपोलिस र लिपिष्टिक बनाउन प्रयोग गरिन्छ, केही कमसल लाहा केमिकलको सट्टा स्टार होटलमा लेपनका लागि प्रयोग गर्ने गरिन्छ ।’

लाहा अधिक मात्रामा फर्निचरमा प्राकृतिक रंग निकाल्न प्रयोग हुने गरेको छ– विकले भने– ‘लाहाको प्रयोगले असर गर्दैन, रंगको प्रयोगले असर गर्छ तसर्थ अधिकांश ठूला होटलमा लाहाको प्रयोग हुँदै आएको छ ।’

झापामा आफूले लाहा उद्योग स्थापना गरेपछि कच्चा पदार्थका लागि किरा खरिद गरेर ल्याएको र सिसौ, वयर, खयर, रहरमा किरा छाडेको बताउँदै विकले भने–‘झापामा लाहा उत्पादन शुरु गरेको यो पहिलोपटक हो, यसमा स्थानीय सरकारले सहयोग गर्ने हो भने झापालाई पुग्ने लाहा उत्पादन गर्दै लाहा खरिदका लागि विदेशिने रकम रोक्न सकिने थियो ।’

विदेशमा सिकेको सिपको प्रयोग गर्दै आफू पनि रोजगार बन्ने र अरुलाई पनि रोजगारीको अवसर सृजना गर्न सकिने विकले बताए । उनले भने– आफ्नै ठाउँमा कच्च पदार्थ उत्पादन हुन्छ, यही उद्योग स्थापना गरेको छु तर सहयोग कतैबाट पाएको छैन ।’

लाहा उद्योग सञ्चालन गरेका विकले डिभिजनल बन कार्यालय झापालाई सहयोगको माग गरेका छन् । उनले डिभिजनल प्रमुख विष्णुलाल घिमिरेलाई ज्ञापन–पत्र बुझाउँदै झापाको निजी तथा सामुदायिक बनमा लाहा उत्पादन गर्ने किरा लगाउन सकिने र लाहाको कच्चा पदार्थ संकलन गर्दै लाहा उत्पादन गर्न सकिने बताए । जसका लागि उनले आफूसहित यो पेशा व्यवसायमा कृषकलाई आकर्षित गरिदिन ज्ञापनमार्फत माग गरेका छन् ।

शुरुमा धनकुटा र तेह्रथुमबाट प्रतिकेजी ३५० रुपैयाँमा लाहाको कच्चा पदार्थ झिकाएर उत्पादन शुरु गरेको उनको भनाइ छ । विकले उत्पादन गरेको लाहा अहिले प्रतिकेजी एक हजार रुपैयाँसम्ममा विक्री हुने गरेको छ । आर्थिक अभावका कारण लाहा धुने मेसिन खरिद गर्न नसकिएको बताउँदै विकले भने – स्थानीय तह, अर्थात् जिल्ला बनले मेसिन खरिद गर्न आर्थिक सहयोग गर्ने हो भने झापालाई लाहामा आत्मनिर्भर बनाउन सकिन्छ ।’

प्रशस्त लाहाका लागि कच्चा पदार्थ हुने हो भने झापाका हरेक नागरिकले मनग्ये आम्दानी गर्न सक्ने उनको भनाइ छ । लाहाको बजार नेपालमा ठूलो छ यहाँ धेरै लाहा खपत हुन्छ, गुणस्तरीय लाहा उत्पादन गर्न सकिए विदेश निर्यात गरेर पनि मनग्ये आम्दानी गर्न सकिन्छ ।

निर्वाचनको समयमा सरकारले भारत लगायत तेस्रो देशबाट करोडौं रुपैयाँको लाहा आयात गरेको थियो । निर्वाचन कार्यालयको तथ्याङ्कलाई आधार मान्ने हो भने मत पेटिकामा लाहा छापका लागि मात्रै सरकारले करोडौंको लाहा आयात गरेको थियो ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले ६७ प्रकारका निर्वाचन सामग्री किन्न करिब चार अर्ब रूपैयाँ खर्च गरेको थियो । जसमध्ये लाहा भारतबाट मात्र आयात गरेको थियो । स्वदेशमा प्रशस्त कच्चा पदार्थ भए पनि सरकारले लाहा उत्पादनमा चासो नदेखाएका कारण लाहा आयातका लागि भारत लगायत तेस्रो देशको भर पर्नु परेको विकको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here