भिलेज प्रोफायलले बाह्रदशीको समग्रता बोल्छ

0
976

झापा ।

प्रविधिको विकास भएसंगै झापामा स्थानिय तह डिजिटल प्रविधिमा जोडिन थालेका छन् ।

गाउँपालिका वा नगरपालिकाको सम्पूर्ण वस्तुगत विवरण (तथ्याङ्क)हरुको समष्टिगत रुप नै प्रोफायल हो । विद्युतीय उपकरण प्रयोग गर्दै संकलन गरिएको तथ्याङ्कहरुको समष्टिगत रुप नै डिजिटल भिलेज प्रोफायल भनिएको एन.एन फाउण्डेसनका सञ्चालक निरज निरौलाले बताए ।

विद्युतीय माध्यमबाट आफूलाई चाहिएको विषय एक–एक गरेर हेर्न सकिने तथा कागजी प्रक्रिया हटाएर विद्युतीय उपकरणमार्फत तयार पारिएको विवरण वेवसाइटमा राखेपछि सवैठाउँबाट हेर्न मिल्ने भएकाले यो प्रविधि निक्कै उपयोगी देखिने सरोकारवालाको बुझाइ छ ।

डिजिटल प्रविधिबाट पाश्र्व चित्र (भिलेज प्रोफायल) तयार भएसंगै अब झापाको बाह्रदशी गाँउपालिकाको सबै विवरण एकै स्थानबाट थाहा हुने भएको छ । सम्पूर्ण जानकारी वेवसाइडबाटै हेर्न मिल्ने गरी पाश्र्व चित्र तयार गरेको बताइएको छ । गाउँपालिकाले तयार गरेको डिजिटल भिलेज प्रोफायलमा शिक्षा, स्वास्थ्य, विद्युत, कृषि, सडक, जमिन, लगायत विकासका सम्पूर्ण पूर्वाधारको अवस्था र आर्थिक रुपमा सवल जनसंख्याको विवरण समेत समेटिएको छ ।


डिजिटल भिलेज प्रोफायल तयार भएसंगै अव हरेक नागरिकले बाह्रदशी गाउँपालिकाको सबै विवरण वेवसाइटमार्फत नै थाहा पाउने भएका छन् । डिजिटल प्रोफायल तयार गरेको भए विश्वका जुनसुकै कुनाबाट पनि गाउँ वा नगरको सम्पूर्ण जानकारी लिन सकिने फाउण्डेसनका सञ्चालक निरौलाको भनाई छ ।

त्यहाँको बसोबास, भौगोलिक स्थिति, जनसंख्या, शिक्षा, धर्म संस्कृति, कृषि र पर्यटन लगायत सवै विषयको विवरण सहजै लिन सक्ने फाउण्डेशनका सञ्चालक निरौलाले जानकारी दिए । वाढी, पहिरो तथा भूकम्पका कारण कागजी फायलहरु हराउन र नासिन सक्छन् तर डिजिटल प्रविधिबाट तयार पारिएका विवरण वर्षौसम्म सुरक्षित रहने बताइएको छ । त्यस्तै डिजिटल प्रोफायल अध्यावधिक गर्न पनि सकिने भएकाले कुनै कुराको हेरफेर गर्न सहज हुने र काम समेत छिटोछरितो हुने निरौलाले बताए ।

पाश्र्व चित्र तयार गर्ने क्रममै तथ्याङ्क संकलकले स्थानीय विकास मन्त्रालयले तयार गरेको कार्यविधिको परिधिमा रहेर एक सय ४९ वटा प्रश्न सोधिने गरिएको बताइएको छ । यसैबीच मंगलबार गाँउपालिकामा एक कार्यक्रमको आयोजना गरेर फाउण्डेसनका सञ्चालक निरौलाले अध्यक्ष खड्गप्रसाद राजवंशी, उपाध्यक्ष रत्नाकुमारी राजवंशी र कार्यकारी अधिकृत सुवास श्रेष्ठलाई पाश्र्व चित्र हस्तान्तरण गरेका छन् ।

पाश्र्व चित्रले समग्र गाँउपालिकाको अवस्थाको बारेमा एकै साथ जानकारी लिन सहज हुने भन्दै यसले बजेट विनियोजनमा समेत सहजता मिल्ने अध्यक्ष राजवंशीले बताए । उनले पाश्र्व चित्र निर्माणसंगै अब बाह्रदशी डिजिटल प्रविधिमा गएको उल्लेख गरे ।

त्यस्तै कार्यकारी अधिकृत श्रेष्ठले यसले गाँउपालिकाको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी लगायत सबै क्षेत्रको अवस्थाको बारेमा जानकारी र प्रगतिको अवस्थाको विषयमा निगरानी गर्न सहज हुने भन्दै पाश्र्व चित्र गाँउपालिकाका लागि अत्यन्तै राम्रो भएको धारणा ब्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here