१७ हजारको ‘ए प्लस’,एसईईको नतिजा त्रुटि

0
884

झापा।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले विहीवार सार्वजनिक गरेको २०७५ सालको माध्यमिक शिक्षा परीक्षाको नतिजामा नियमिततर्फ १६ हजार ८८२ विद्यार्थीले जिपिए ३.६० देखि ४ (ए प्लस) ल्याएका छन् ।

संघीय संरचनाअनुसार गत चैत १० गतेदेखि २१ गतेसम्म साधारण तथा प्राविधिक धारतर्फ सञ्चालन भएको सो परीक्षामा नियमित समूहको साधारणतर्फ चार लाख ४९ हजार ६४२ र प्राविधिक धारतर्फको नौ हजार ६३३ जना गरी कूल चार लाख ५९ हजार २७५ परीक्षार्थी सहभागी थिए । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार ४८ हजार ९६० विद्यार्थीले जिपिए ३.२० देखि ३.६० (ए), ६० हजार ७०६ विद्यार्थीले जिपिए २.८० देखि ३.२० (बी प्लस), ९४ हजार ११० विद्यार्थीले जिपिए २.४० देखि २.८० (बी), ९७ हजार २९९ विद्यार्थीले जिपिए २.०० देखि २.४० (सी प्लस) र ९५ हजार २०९ विद्यार्थीले १.६० देखि २.०० (सी) ल्याउन सफल भएका छन् । यस्तै ४३ हजार ८४० विद्यार्थीले १.२० देखि १.६० (डी प्लस), चार हजार ४२९ विद्यार्थीले ०.८० देखि १.२० (डी) प्राप्त गरेका छन् । आठ हजार २०७ विद्यार्थीको भने विभिन्न कारणले नतिजा सार्वजनिक भएको छैन ।

प्राविधिक धारतर्फ ६९८ विद्यार्थीले ‘ए प्लस’, दुई हजार १७७ विद्यार्थीले ‘ए’, तीन हजार ३५ विद्यार्थीले ‘बी प्लस’, दुई हजार ४५४ विद्यार्थीले ‘बी’, ९०८ विद्यार्थीले ‘सी प्लस’, ९८ विद्यार्थीले ‘सी’ तथा एक विद्यार्थीले ‘डी प्लस’ ल्याएका छन् । प्राविधिक धारतर्फ २६२ परीक्षार्थीको नतिजा सार्वजनिक हुन बाँकी छ । नियन्त्रक अधिकारीका अनुसार साधारण र प्राविधिकतर्फ चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएका थिए । नियमित र प्राविधिकतर्फ गरी कूल आठ हजार ४६९ परीक्षार्थीको नतिजा सार्वजनिक नगरिएको उनले जानकारी दिए ।

परीक्षाको मर्यादाविपरीत कार्य गर्ने र गलत विवरण भरी आवेदन दिने दुई परीक्षार्थीको सबै विषय तथा ४८ परीक्षार्थीको विभिन्न विषयसहित कूल ५० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । नेपाल टप गरेको न्यूटन्स्को दावी
बिर्तामोडमा रहेको न्यूटन्स एजुकेशन एकाडेमीकी एक छात्राले ४ जीपीए सहित उत्कृष्ट नतिजा ल्याएसँंगै विद्यालयले आफ्नो छात्रा नेपाल टप भएको दावी गरेको छ ।

विद्यालयकी छात्रा हर्षिता जाजोडियाले सवै विषयमा ४ जीपीए ल्याएपछि विद्यालयले नेपाल टपको दावी गरेको हो । बिर्तामोड निवासी राजु र शुभम् जाजोडियाकी छोरी हर्षिताले २०७० सालबाट सो विद्यालयमा अध्ययन शुरु गरेकी थिइन् । कक्षा ५ मा भर्ना भइ निरन्तर आपूmलाई अब्बल विद्यार्थीको रुपमा स्थापित उनी पढाइका अतिरिक्त विभिन्न क्रियाकलापहरुमा सहभागी भई जिल्लामा प्रथम, दोस्रो हुँदै पुरस्कृत हुँदै आएको विद्यालयका अध्यक्ष गौतमशर्मा शिवाकोटीले बताए ।

उनीसंँगै परीक्षामा सहभागी भएका २३ जनाले ए प्लस, ४० जनाले ए, ३८ जनाले वी प्लस, १७ जनाले वी र १ जनाले सी प्लस नतिजा हासिल गरेको विद्यालयका ओभरल इञ्चार्ज देवेन्द्र हुँमागाईले जानकारी दिए ।

त्यसैगरी बिर्तामोडकै प्रतिष्ठित विद्यालय बाल्मिकी एजुकेशन फाउण्डेशनको शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रिन्सिपल विष्णु सिंघलका अनुसार सो विद्यालयबाट ए प्लसमा १३, ए ३९, वी प्लस ५७, वी ५० र सी प्लसमा २ जनासहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । त्यस्तै बुद्ध स्मृति फाउण्डेशन बिर्तामोडमा ५१ विद्यार्थीमध्ये ए प्लस र ए गरी ११, वी प्लस र वी गरी २६, र सी प्लसमा १४ जना विद्यार्थी उत्तीर्ण भएको सो विद्यालयले जनाएको छ ।

यसैबीच प्रदेश १ बाट ८३ हजार ८ सय १८ परीक्षार्थी सहभागी भएकोमा ८१ हजार ७६ जना विद्यार्थीले माथिल्लो कक्षा अध्ययन गर्ने अनुमति पाएका छन् । २०७५ साल जेठ १० गते शुरु भएको परीक्षामा चार लाख ७५ हजार ३ जना परीक्षार्थी देशभरबाट सहभागी भएका थिए । संघीय संरचना अनुसार प्रदेश–प्रदेशमा छुट्टाछुट्टै प्रश्न पत्रको व्यवस्था थियो ।

शान्ताको ‘बी’ र करिष्माको ‘बी प्लस’

बिहीबार सार्वजनिक भएको एसईईको नतिजाअनुसार सांसद शान्ता चौधरीले बी ग्रेड ल्याइएकी छिन् भने नायिका करिष्मा मानन्धरले वी प्लस ल्याएकी छिन् । नतिजाअनुसार सांसद चौधरीले २.६५ जीपीए ल्याएकी छन् । उनीसंँगै परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् । आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् ।

 

गत चैतमा सञ्चालन भएको एसईई परीक्षा अभिनेत्री करिष्मा मानन्धरले ‘बी प्लस’ ल्याएर पास गरेकी छन् । एसईई नतिजापछि आफूलाई बधाई दिनेको भीड लागेको उनले सुनाइन् ।
लामो अभिनय यात्रापछि तीन वर्षअघि काठमाडौंको मैतीदेवीमा रहेको त्रिवेणी पब्लिक विद्यालयमा भर्ना भएकी करिष्माले गत चैतमा एसईई लेखेकी थिइन् । उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालयमा परेको थियो ।
करिष्मासँगै यो वर्ष चार लाख ५९ हजार २७५ ले परीक्षामा सहभगिता जनाएका थिए । १६ हजार बढीले ए प्लस ल्याएका छन् ।

एसईईको नतिजा त्रुटि

(एसर्ईई) को नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयले त्रुटि गरेको छ । विहीबार सार्वजनिक परीक्षाफलमा प्रयोगात्मकको व्यवस्थै नभएको गणितमा विद्यार्थीले प्रयोगात्मक ग्रेड प्राप्त गरेको कार्यालयले मार्कसिट सार्वजनिक गरेको छ ।

अनिवार्य गणित र ऐच्छिक गणित बाहेकको विषयमा मात्रै प्रयोगात्मकको ग्रेड हुने भए पनि कार्यालयले वेभसाइट मार्फत् सार्वजनिक गरेको मार्कसिटमा अनिवार्य गणितको प्रयोगात्मकको ग्रेड उल्लेख गरिएको थियो । परीक्षाफलमा त्रुटि भएको भन्दै गुनासो आएपछि कार्यालयले उक्त त्रुटि सच्याएर अहिले दुबै विषयमा प्रयोगात्मकको ग्रेड उल्लेख नभएको मार्कसिट सार्वजनिक गरेको छ ।

यसलाई सर्भरमा राख्दा भएको गल्तीका रुपमा बुझ्नु पर्ने भन्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सामान्य गल्ती भएको प्रतिकृया दिएका छन् । हामीले थाहा पाए पछि सच्याइसकेका छौं– उनले भने –यो सामान्य ईरर हो ।

गत बर्ष पनि कक्षा १० को नतिजा सार्वजनिक गर्दा त्रुटि भएको थियो । उक्त त्रुटिलाई पनि बोर्डले सामान्य भन्दै पन्छिएको थियो । परीक्षाफल प्रकाशन जस्तो संवेदनशील कुरामा हरेक वर्ष त्रुटि हुनुले कार्यालयको कार्यसम्पादनमा प्रश्न उठ्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here